म्याग्दीमा मखमली फूल र डाइगन फुडको व्यावसायिक खेती

हिमाली जिल्ला म्याग्दीमा पहिलो पटक मखमली फूल र डाइगन फुड (सिउडी फल)को व्यावसायिक खेती शुरु भएको छ ।
जिल्लाको बेनी नगरपालिका वडा नं ४ सिंगा र आगेबगरमा रु ६ करोडको लगानीमा शुरु भएको हरियाली गु्रपले संचालन गरेको नयाँ मोडलको आधुनिक कृषि फार्ममा मखमली फूल र डाइगन फुडको व्यावसायिक खेती शुरु भएको हो ।

६ करोड रुपैयाँको लागतमा हरियाली गु्रपले शुरु गरेको नयाँ मोडलको आधुनिक कृषि फार्ममा तरकारी खेती,माछा पालनका साथै मौरी पालन,फूल र डाइगन फुडको व्यावसायिक खेती शुरु गरेको हरियाली गु्रप संचालक समितिका सदस्य दुर्गाबहादुर थापाले बताए । नजिकिदै गरेको तिहारलाई लक्षित गरेर पहिलो पटक ३ हजार ५ सयओटा सयपत्री फूलका विरुवा लगाइएको उनले बताए । फूल लगाएको ठाउँको माथिल्लो पट्टि शेरना जातका १ सय घार मौरी रहेका छन् ।

त्यसैगरी म्याग्दीमा कतै नगरिएको डाइगन फुडका १ सय विरुवा पनि लगाइको तरकारी फिल्डका इन्चार्ज बुद्धि सुनारले जानकारी दिए ।कृषिको आधुनिकिकरण, ब्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो फार्मलाई ‘हरियाली ग्रुप’ र अवधारणलाई ‘हरियाली मोडल’ नाम दिइएको छ । यो म्याग्दी जिल्लामा हालसम्मकै ठूलो कृषि परियोजना हो ।

‘विश्वमा सफल मानिएका दक्षिण अफ्रिकाको सामुहिक खेती ‘टिम्बाली’ र भारतका दूध उत्पादक कृषकहरुको ‘आमुल’मोडललाई पछ्याउँदै सोही मोडललाई समावेश गरी फार्म संचालन गरिएको फार्मका संचालक समितिका सदस्य दुर्गाबहादुर थापाले बताए । थापाका अनुसार यो फार्म म्याग्दीका लागि पाइलट प्रोजेक्ट हो ।

‘कृषिमा देखिएको लगानी, बजार र श्रमिक अभावको समस्या हट्ने, उत्पादन बढ्ने र आयात घटाउन देशका अन्य ठाउँमा पनि यो मोडल विस्तार गर्न लागिएको छ ’ थापाले भन्नुभयो‘यसबाट स्थानीयलाई रोजगारी तथा तरकारी र मासुमा जिल्लालाई आत्मनिर्भर बनाइ बाहिरी जिल्लामा निर्यात गर्ने उद्धेश्य रहेको छ ।’

३६ जना कृषकहरुको १६० रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर चक्लाबन्दी गरिएको छ । कृषकहरुलाई अधिकतम उत्पादन हुँदा प्राप्त हुने बराबरको भाडा ६ ÷६ महिनामा अग्रिम भुक्तानी दिने गरिएको कम्पनीका प्रबन्ध निर्देशक शेरबहादुर केसीले बताए ।

फार्ममा तरकारी खेती,डाइगन फुड (सिउडी फल) माछा पालन,मौरी पालन,फूल खेती गरिएको छ भने निकट भविष्यमा नै बोयर जातका बाख्रा र वनजन्य पंक्षि कालीज पालन गर्ने तयारी गरेको कम्पनीका कम्पनिका प्रवन्ध निर्देशक केसीले बताए ।
कम्पनीले सञ्चालन गरेको कृषि फार्ममा कार्यरत ४३ जना कर्मचारी तथा मजदुर मध्य अधिकांश जग्गाधनी छन् । जग्गाको भाडा संगै रोजगारी पाउनुका साथै खडेरी, मल–बिउ, कृषि मजदुर, लगानी अभावको समस्याबाट कृषकले मुक्ति पाएको जग्गाधनी भगवान खड्काले बताए ।

File photo ‘बजार नजिक, सडक सुबिधा, अनुकुल हावापानी र ठूलो फाँट भएपनि खण्डीकृत जमिन, थोरै परिणाममा हुने उत्पादन र उचित मूल्य नपाउने, सिचाईको अभावले कृषि जिविकोपार्जनमा सिमित थियो,’ खड्काले भने ‘समुहकृत खेती सुरुवात भएपछि अवस्था फेरिएको छ ।’

म्याग्दी खोलाबाट विद्युतीय उपकरणको प्रयोग गरि लिफ्ट प्रबिधिबाट पानी तानेर सिचाइको व्यवस्था मिलाइएको छ । बाह्ै महिना नियमित खेती गर्न सकिने भएको छ । सात वटा पोखरीमा २७ हजार रघु, नैनि, ग्रास र कमन कार्प जातका माछा पालिएको छ ।

मासु र अण्डाका लागि छुट्टा÷छुट्टै ठाउँमा २२ हजार ब्रोइलर र लेयर्स जातका कुखुरा पालिएको कम्पनीका सञ्चालक धनलाल जैसीले बताउनुभयो । १०० घारमा माहुरी पालिएको र १०० रोपनी खुल्ला जमिन र सामान्य टनेलका अतिरिक्त आधुनिक हाइटेक प्रबिधिको पलास्टिक घर भित्र तरकारी लगाइएको छ । चालीस लाख रुपैयाँ बराबरको मासु, तरकारी, माछा, मह र माहुरी बिक्री भइसकेको प्रबन्ध निर्देशक केसीले बताए । कम्पनीमा आवद्ध बाहेक अन्य साना कृषकहरुले पनि कम्पनीको मापदण्ड र गुणस्तर अनुसारको उत्पादन गरेमा बजार व्यवस्थापनमा सघाउने जनाएको छ ।