माउण्ट कप ! छात्रातर्फ महेन्द्ररत्न मावि फाइनलमा प्रवेश

युवा रेडक्रस सर्कल माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको आयोजनामा भइरहेको जिल्लास्तरीय अन्तरमावि छात्रछात्रा नवौं माउण्ट कप भलिबल  प्रतियोगिताको एक खेल बाहेक सेमिफाइनलका खेल सकिएका छन् । प्रतियोगिताको शनिबार भएको खेलमा छात्रतर्फ प्रकाश माविले म्याग्दी एकेडेमी र आयोजक माउण्ट एभरेष्टले महेन्द्ररत्न माविलाई पराजित गदै फाइनलमा प्रवेश गरेको छ । प्रकाश माविले सोझो सेटमै म्याग्दी एकेडेमीलाई पराजित गरेपनि माउण्ट र महेन्द्ररत्न विच कडा प्रतिस्पर्धा भएको थियो ।

वेष्ट अफ ५ मा महेन्द्ररत्नलाई उछिन्दै माउण्टले फाइनलको यात्रा तय गरेको थियो । उता छात्रातर्फ महेन्द्ररत्न मावि फाइनलमा प्रवेश गरेको छ । सेमिफाईनलमा न्यू वेष्ट पोइन्ट आवासिय माविलाई पराजित गदैं फाइनलमा पुगेको आयोजकले जनाएको छ ।

छात्रातर्फको सेमिफाइनलको एक खेल समय अभावका साझँ परेपछि एक–एक सेट जितेपनि स्थगित भएको थियो । स्थगित खेल माउण्ट र सरस्वती मावि तातोपानीको आइतबार विहान हुने विद्यालयका सञ्चालक तथा निर्देशक राजु केसीको जानकारी दिए ।

प्रतियोगितामा छात्रतर्फ १२ र छात्रातर्फ विभिन्न ७ ओटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगिताबाट छात्रतर्फ प्रथम र द्वितीय हुनेले क्रमशः ३५ हजार, २० हजार र रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी छात्रातर्फ प्रथमले २० हजार नगदसहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र एवं द्वितीयले १० हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।