लाहुरबाट रित्तो हात : गाउँनै भयो फलिफाप

गाउँमा आर्थिक उपार्जनका लागि कुनै सम्भावना नै छैन भन्ने बहाना बनाइ विदेश जान मरिहत्ते गर्ने युवाहरुका लागि म्याग्दीका एक व्यक्तिको संघर्ष र त्यसपछि उनले प्राप्त गरेको सफलता उदाहरणीय बन्न सक्छ। पाँच वर्ष साउदीको चर्को घाममा पसिना बगाउँदा पनि रित्तो हात गाउँ फर्किएका  म्याग्दीको बेनी नगरपालिका–४ वास्कुनाका तिलक गुरुङ अहिले गाउँमा नै मासिक २ लाख ५० हजार रुपैयाँ कमाउन सफल भएका छन्। १५ वर्ष अघि दुई लाख ऋण खोजेर साउदी गएका गुरुङ ५ वर्षसम्म काम गर्दा पनि गएको ऋण समेत तिर्न नसक्ने अबस्था आए पछि उल्टो ऋणको भारी बोकेर गाउँमा फर्किए।

कमाउन गएको व्यक्ति रित्तो हात गाउँमा फर्केपछि धेरैले उनको कुरा काट्न थाले। सरसापट र ऋण समेत गाउँमा पाउन नसक्ने अवस्था भयो। कसैले पत्याउन छोडे। तर आँटिला र हिम्मतिला गुरुङले हिम्मत हारेनन्। आफ्नै घरजग्गा धितो राखेर सदरमुकाम बेनीको एउटा वित्तिय संस्थाबाट ७०  हजार ऋण लिए। भैसी किनेर दूध बेच्न थाले। १० वर्ष अघि एउटा भैसीपालेर दूध बेच्न थालेका गुरुङ अहिले कृषि र पशुपालनबाट मालामाल बनेका छन्।

सवै खर्च कटाएर उनको मासिक कमाइ २ लाख ५० हजार भन्दा बढी छ। २०६७ सालमा केञ्जल बहुउद्धेश्यीय कृषि फार्म दर्ता गरेर व्यावसायिक रुपमा पशु पालन, कुखुरा पालन, र सुन्तला खेती गरेका गुरुङ दश वर्षको यो अवधिमा जिल्लाकै अगुवा र कृषिबाट बढी आम्दानी गर्ने कृषकमा चिनिएका छन्। गुरुङको गोठमा अहिले ९ ओटा दुहुना भैसी र ४ ओटा गाई छन्। उनले  दैनिक ६० लिटर दुध विक्री गर्दै आएको बताए।

‘दैनिक ६० लिटर दुध बिक्री गरेर मासिक १ लाख ४४ हजार कमाइ हुन्छु’ गुरुङले भने। बेनीमा प्रतिलिटिर रु ८० मा दूध बिक्री हुन्छ। त्यसैगरी गुरुङले भैंसीको अलवा आधुनिक तरिकाले कुखुरा पालन समेत गरेका छन्। अहिले  कुखुराको र्फाममा ३० हजार कुखुरा छन्। गुरुङले भने ‘कुखुराबाट मासिक ३ लाख भन्दा बढि कमाइ हुन्छ।’ कुखुराको दाना लगायत अन्न पारिश्रमिक खर्च कटाउँदा मासिक १ लाख भन्दा बढि वचत हुने उनले जानकारी दिए।

त्यसैगरी गुरुङले घरवरिपरिको जग्गामा झपक्कै सुन्ताला लगाएका छन्। गुरुङको बारीमा रहेका ५ सय बढि सुन्तालाका बोटहरुमध्ये ४ सयले फल दिन्छन भने १ सय विरुवा २ वर्ष अघि लगाएका हुन्। सुन्तला बेचेर सिजनमा ७ लाख कमाउने गरेको गुरुङले बताए। गुरुङका अनुसार बार्षिक ४५ लाख कमाइ हुने गरेपनी खर्च कटाउदा ३० लाख रुपैयाँ बचत हुने गरेको छ। उनले कृषिबाट आम्दानी मात्र गरेका छैनन्, छोराछोरीलाई इन्जिनियरिङ समेत पढाएका छन्।

एउटा छोरालाई बायो मेडिकल इन्जिनीयरीङ पढाएको छु, उनले भने ‘एउटा छोरीलाई अष्ट्रेलिया पठाएँ, बाकीले काठमाडौँमा उच्च शिक्षा अध्ययन गरिरहेका छन्’ मैले अब छोराछोरीको विवाह गरिदिए भने बाबाआमाको कर्तव्यबाट मुक्त हुन्छु। ‘७० हजार रुपैयाँको लगानीबाट मैले आज यति कमाउन सक्ने भएको छु यसमा परिवारको ठूलो सहयोग रहेको छ’ गुरुङले भने। अर्काको देशमा बसेर दुख गर्नु भन्दा आफ्नै देशमा केहि गर्छु भनेर आएँ, सन्तुष्ट छु उनले भने।

कृषी पेशाबाट आफू उत्साहित रहेको बताउने गुरुङले आगामी दिनमा अझै फर्मलाई व्यवस्थित गर्दै लैजाने योजना सुनाए। लोकल दुध दहिको बजार माग धेरै भए पनि आफुले भने जती उत्पादन गर्न नसकेको उनको भनाइ छ। नेपालका अधिकांश मानिसहरुको जीविकोपार्जनको लागि मुख्य पेशा कृषि र पशुपालन रहंदै आएको छ।