लाखेलाई भगवान् श्रीकृष्णले वध गरेर बर्खे नाच सकियो

म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आएको एकमहिने ‘बर्खेनाच’ सोमबार सकिएको छ । हिन्दू नेपाली महिलाको महान्पर्व तिजको दिन साँझमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णरुपी शक्तिले वध गरेर नाच सकिएको नेपाल भाषामंकाःखल अन्तर्गतको ल्याम पुचःका अध्यक्ष सुवीन श्रेष्ठले बताए । राक्षसको रुपमा रहेको लाखेलाई भगवान श्रीकृष्णले बध गर्नुहुन्छ,‘असत्यमाथि सत्यको विजयी हुने सन्देश छोडेर नाच सकिन्छ’ श्रेष्ठले भने ।

उनले का अनुसार राक्षसको रुपमा रहेको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि गरेको प्रचलन छ। बेनीबजार परिक्रमण गरी गणेश मन्दिरमा लाखेसँग भएको भीषण लडाइँमा भगवान् श्रीकृष्णले हत्या गरेपछि हरेक वर्ष बर्खेनाच सकिने गरेको छ।लडाइँमा दानवको वध भएपछि समाजलाई त्रसित बनाउने राक्षसको टाउको प्रदर्शन गरिएको थियो ।

बर्खेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खेनाचमा देखाउने गरिएको छ । समाजमा दुःख दिने पात्रको रुपमा चित्रित घण्टाकर्णको आकृति बनाएर बजार परिक्रमापश्चात म्याग्दी र कालीगण्डकी नदीको दोबानमा लगेर बिसर्जन गरिन्छ।

बर्खेनाच अन्तर्गत लाखेनाच, नागानागिनी नाच, श्रीकृष्ण र रथ यात्रासहित विविध नाच देखाइएको नेपाल भाषामंकाःखलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।‘सभ्य, भब्य रुपमा सम्पन्न भएको छ,‘आगामी बर्ष धेरै नाचलाई नियमित बनाउँछौ’ उनले भने । उनका अनुसार बर्खेनाचको समापनसँगै चाडपर्वको रौनकता छाउने भएकाले पनि बेनीबजारमा यसको महत्व धेरै रहेको बताए ।बेनीमा देखाइने बर्खे नाच नेवारी समुदायको परम्परागत संस्कृति हो।

बर्खेनाचमा नेवार समुदायका साथै बेनीबजारमा बसावास गर्ने क्षेत्री, बाह्मण र जनजाति युवाहरुले पनि साथ दिने गरेका छन्। बर्खेनाचको अन्त्य भएको दिनदेखि नेपालीहरूका प्रमुख चाडको चहलपहल सुरु हुन्छ। सदरमुकाम बेनीबजारमा तीनसय बर्ष पहिले मानवबस्तीको विस्तार भएदेखी नै बर्खे नाँच सुरू गरिएको देखिन्छ । संस्कृतीनै लोप हुने अवस्था आउन नदिन युवाहरुले पनि बर्खे नाचका विभिन्न नृत्य सिकेर निरन्तरता दिएको हो ।