समृद्ध म्याग्दीका अमूल्य सम्पदा ‘सेतो पहाड’ र ‘सुन छहरा’

प्राकृतिक सुन्दरता र भौगोलिक विविधताले सम्पन्न हिमाली जिल्ला म्याग्दीमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई मोहनी लगाउने प्रशस्त सम्पदाहरु हुँदाहुँदै पनि समुचित प्रयोग,प्रचारप्रसार र व्यवस्थापनको अभावमा त्यस्ता सम्पदाहरु अझै पनि ओझेलमा परेका छन् ।

सन् १९४७ पूर्व भारतमा अंग्रेजहरुले शासन गर्दा भारतको उत्तरप्रदेशमा पर्ने गोरखपुरबाट उत्तरतर्फ हेर्दा देखिएको ‘सेतो पहाड’ (जसले उनीहरुलाई लोभ्याएको थियो र पछि खोजी गरेर पत्ता लगाएका थिए) धवलागिरि देखि सुनको खानी रहेको अनुमान गरिएको ‘सुन छहरा’म्याग्दीमा रहेका छन् ।पर्यटकलाई मख्ख पारेर धेरै दिनसम्म एकै ठाउँमा बसिरहुँ जस्तो वातावरण बनाउन आवश्यक पर्ने मनोरम प्राकृतिक दृश्यहरु म्याग्दीमा विद्यमान छन् ।म्याग्दीका इतिहाँसविद् एवम् भूगोलका ज्ञाता कर्णवहादुर बानियाँका अनुसार म्याग्दीमा मनमोहक वा अनौठा मानिने प्राकृतिक दृश्य वा संस्कृति उपलब्ध छन् ।

ती ठाउँहरुको समुचित प्रयोग र व्यवस्थापन गर्न सक्ने हो भने म्याग्दी पर्यटकीय आकर्षण र अनुसन्धान केन्द्रको प्रमुख स्थल हुनसक्ने बानियाँको भनाइरहेको छ । म्याग्दी जिल्लाको उत्तरी क्षेत्रमा संसारको सबैभन्दा गहिरो गल्छी रहेको छ जसलाई अन्धगल्छी भनिन्छ । यो जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने दाना गाउँमा काली गण्डकीले सर्वाधिक गहिरो गल्छी बनाएको छ जसको पश्चिममा धवलागिरी हिमाल (८,१६७ मी.) र पूर्वमा अन्नपूर्ण हिमाल (८,०९१ मी.) छन् ।

यी दुई हिमश्रृङ्खला बीचको दूरी करीब ३५ मिटर मात्र छ । दाना करीब १,२०० मीटरको उचाइमा अवस्थित छ । धवलागिरीको टाकुरादेखि दानासम्मको उचाइमा करीब ६,९६७ मिटरको अन्तर छ । धवलागिरीको चुचुरादेखि दानासम्मको त्यही उचाइको फरकलाई जमिनदेखि जमिनसम्मको उचाइको अन्तर मानिएको छ जसका कारण यो गल्छीलाई संसारकै सर्वाधिक गहिरो गल्छी मानिएको इतिहाँसकार बानियाँको भनाइरहेको छ ।

जिल्लाको उत्तरी भू–भागमा धवलागिरी हिम श्रृङ्खला रहेको छ । यो हिम श्रृङ्खला सेतो भएको हुनाले यसलाई धवलागिरी भनिएको हो भन्ने भनाइ छ । धवलको अर्थ ‘सेतो’ र गिरीको अर्थ ‘पहाड’ भन्ने हुन्छ । यो हिम श्रृङ्खला बिहानीको झुल्के घाममा चाँदी झैं टल्कने भएकोले यसलाई ‘सेतो पहाड’ अर्थात् ‘धवलागिरी’ भनिएको इतिहाँसविद् बानियाँको भनाइ छ । बानियाँका अनुसार अङ्ग्रेजहरूले भारतको गोरखपुरबाट उत्तरमा रहेको ‘सेतो पहाड’ देखेपछि यसको खोजी गरेका थिए । त्यसपछि सन् १८०० मईमा ब्रिटिस इण्डियन सर्वेयर टोलीले यो हिम श्रृङ्खलाको बारेमा केही कुरा सार्वजनिक गरेको थियो।

बानियाँका अनुसार काली गण्डकी र ठूली भेरीको बीचमा बसेको यो हिम श्रृङ्खलामा एउटा ८,००० मीटर भन्दा अग्लो चुचुरो छ भने तेह«वटा ७,००० मीटर भन्दा अग्ला र ४९ वटा ६,००० मीटर भन्दा अग्ला चुचुरा छन् । यसमा मुकुट, डोल्पा र गुर्जा नामका तीन उपश्रृङ्खला छन् । यसको पूर्वमा काली गण्डकी, पश्चिममा भेरी नदी, उत्तरमा वारबुङ खोला र दक्षिणमा जिरवाङ खोला छन् । सन् १८५८ मा विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा (माउण्ट एभरेष्ट) हो भन्ने कुरा पत्ता नलागुञ्जेल धवलागिरी हिमाललाई नै संसारको सर्वोच्च टाकुरा मानिन्थ्यो ।

तर अहिले धवलागिरी पहिलो विश्वको सातौं अग्लो चुचुरोको रूपमा रहेको छ जुन ८,१६७ मिटर अग्लो छ । धवलागिरी दोस्रो ७,७५१, धवलागिरी तेस्रो ७,७१५, धवलागिरी चौथो ७,६६१, धवलागिरी पाँचौं ७,६१८ र धवलागिरी छैटौं ७,२६८ मिटर अग्ला छन् । यस जिल्लाको उत्तर–पश्चिमी क्षेत्रमा रहेको अर्को हिमश्रृङखला गुर्जा हिमाल हो । यो हिमश्रृङखलाको सबैभन्दा अग्लो चुचुरो ७,१९३ मिटर अग्लो छ जसलाई गुर्जा हिमाल भनिन्छ ।

यस जिल्लाको उत्तर–पश्चिमी क्षेत्रमा रहेका अन्य हिम चुचुराहरूमा चुरेन (मुख्य) ७,३८५, चुरेन (पूर्व) ७,३७१, चुरेन (पश्चिम) ७,३७१, पुथा ७,२४६, फाल्स जंसन ७,१५०, जंसन ७,१०८, हवेली ६,१८२ र हिमचुली ५,९११ मिटर अग्ला छन् । धवलागिरीे हिमाल आरोहणको प्रयास सन् १९५० देखि नै शुरु भएको भएतापनि सर्वप्रथम सन् १९६० मा स्वीस, अष्ट्रियन र नेपाली पर्वतारोहण दलको संयुक्त टोलीले यो हिमाल आरोहण गरेको थियो । यस जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा रहेको अर्को हिमश्रृङखला अन्नपूर्ण हो ।

यो हिमश्रृङखलाको सबैभन्दा अग्लो चुचुरो अन्नपूर्ण पहिलो (८०९१ मि.) हो । नारच्याङमा निलगिरी नामक अर्को हिमाल पनि पर्दछ । म्याग्दीमा रहेका हिम श्रृङ्खलाका विभिन्न चुचुराहरू आरोहण गर्ने क्रम निरन्तर चलिरहेको छ । धवलागिरी हिम श्रृङ्खलाका पाँचवटा चुचुराको दक्षिण–पश्चिमतिर मोहडा रहेको छ । यी हिमालहरूले यो जिल्लाको पर्यटन विकासमा राम्रो टेवा पुगेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।

छहरा र तालहरू
म्याग्दी जिल्लाका विभिन्न ठाउँमा अनेकौं प्रकारका छहराहरू छन् । यो क्षेत्रको पर्यटन विकासमा छहराहरूको धेरै महत्व छ। किनकि ती छहराहरूले पर्यटकहरूको मन प्रफुल्ल पारिदिन्छन् ।
अर्जे छहरा ः म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारदेखि पश्चिममा रहेको अर्मन र बराङ्जा गाउँको धुरीबाट एउटा झरना तलतिर झरेको छ । यो छहरा बराङजा गाउँमा पुगेपछि अर्जे खोलाको नामबाट चिनिन्छ । यो नदी सिङतातोपानीनेर पुगेर म्याग्दी नदीमा मिसिन्छ ।

उडाइन छहरा ः बेनीबजारबाट करीब दुई कि.मि.पश्चिममा रहेको तोराखेत गाउँबाट बग्दै आएर म्याग्दी नदीमा मिसिने उडाइन छहरा निकै आकर्षक छ । यो छहरा गाउँको पुछारबाट तल पहरामा ठोक्किन्छ अनि पुनः तल झर्दछ र एकै ठाउँमा दुईवटा छहरा देखिन्छ । यसरी एकै ठाउँमा दुइवटा छहरा निस्कँदा पानी उडेजस्तो देखिन्छ । त्यसैले यसलाई उड्ने छहरा भनिन्छ । यो झरनाको स्थायी मूल नभएको हुनाले वर्षा याममा मात्र देख्न सकिन्छ ।


कोटगाउँ छहरा ः कोटगाउँबाट बग्ने घोप्टे खोलामा अत्यन्त मनमोहक झरना छ जसलाई कोटगाउँ छहरा भनिन्छ । यो झरनाको पानी रघुगङ्गामा मिसिन्छ ।
नारच्याङ छहरा ः नारच्याङ गाउँको शिरमा अन्नपूर्ण हिमाल पर्दछ । यो हिमालको दक्षिणतिर रहेको चुचुराबाट निस्कने मृस्तीखोला नारच्याङ गाउँभन्दा माथिबाट करीब ७,५०० फीटको उचाइबाट तल खसेर सुन्दर छहरा बनेको छ । यो छहरा हिमालबाट आएको पानीबाट बनेको हुनाले बाह्रैमास देख्न सकिन्छ । दानाबाट हेर्दा नारच्याङ छहरा अन्नपूर्ण हिमाल, नारच्याङको बुक्यान र ठूला–ठूला पहाडको मुखबाट धरातलसम्म झरेको लठ्ठी जस्तो विचित्रको सीधा सेतो छहरा देखिन्छ ।
महभीर छहरा ः महभीर गाउँबाट बग्ने छहरालाई महभीर छहरा भनिन्छ । यो छहरा समुद्र सतहदेखि करीब ६,००० फीट उचाइको महभीर लेकबाट झरेको छ । यसको दृश्य अन्य छहराभन्दा फरक किसिमको छ । किनभने यो छहरा पहाडको टुप्पाबाट सिधै धरातलमा नखसी पहाडको मुखबाटैे कुलो बनाए जस्तो गरी एक किसिमको गोलाकार मार्ग बनाइ बगेको छ र काली नदीमा मिसिएको छ । यो छहरा वर्षा याममा निकै ठूलो देखिएपनि हिउँदमा सानो हुन्छ । यसको वरपर अग्ला–अग्ला पहाडहरू, घना जङ्गल र कहाली लाग्ने भीर देखिने हुनाले यहाँ पुग्दा जो कोहीको पनि जीउ शिरिङ्ग भएर रोमाञ्चित हुन्छ ।

रूप्से छहरा ः दाना गाउँमा पर्ने अन्धगल्छीको नजिकमा बग्ने रुप्से छहरा विश्व प्रसिद्ध झरना हो । यो छहराको पानी धवलागिरी हिमालबाट उत्पत्ति भएर कालीगण्डकीमा मिसिन्छ । यो झरना करीब १५,११७ फीटको उचाइमा रहेको रूप्से लेकबाट बग्दै आएको छ ।८ पहाडको मुखबाट बग्दै आएको पानी हुत्तिएर तल भुइँमा खस्दा वाफ वा धुवाँ उडेजस्तो देखिन्छ । पानीका ससाना कण बनेर हावामा उडेको जस्तो देखिने यो छहराको दृश्य विचित्रको छ । यसको धारा खस्ने धरातल कडा चट्टानले बनेको छ । पानी चट्टानमा ठोक्किंदा निस्केका ससाना जलकण सूर्यको किरणसँग मिसिंदा सप्तरङ्गी इन्द्र धनुषको आकार अर्थात् इन्द्रेणी परेजस्तो देखिन्छ । यो छहराको दृश्यबाट मुग्ध भएर यात्रीहरू बाटो हिंड्दाहिंड्दै लट्ठ परेर टोलाइरहन्छन् ।

लमसुङ छहरा ः यो जिल्लाको लमसुङ भन्ने ठाउँमा एक सुन्दर झरना छ । मुना र मुदी गाउँबाट नर्जा, लुलाङ र खोरियातिर जाने बाटोमा पर्ने यो छहरा दरखोलामा मिसिन्छ ।

सुन छहरा ः मङ्गले र चिमखोला गाउँको धुरीबाट एक सुन्दर झरना बग्दछ । यो छहरा समुद्री सतहदेखि ६,००० फीटको उचाइ माथिबाट खसेको छ । स्थानीय मानिसले यो छहरा खस्ने ठाउँमा सुनको खानी छ भन्दछन् । त्यसैले यो छहरालाई सुन छहरा भनिएको हो । यो छहरा रघुगङ्गामा मिसिन्छ । काली गण्डकीको बालुवामा सुन पाइन्छ भन्छन् तर गलेश्वरभन्दा माथिको भागमा बोटेहरूले बालुवा केलाएर सुन निकाल्ने काम गरेको पाइँदैन । त्यो ठाउँदेखि तल मात्र बालुवा केलाएर सुन निकाल्ने काम गरिन्छ । त्यसकारण सुन छहरामा सुनको खानी हुन सक्ने कुरामा विश्वास गर्न सकिन्छ ।

तालहरू
यस जिल्लामा थुप्रै रमणीय तालहरू छन् । वानियाँका अनुसार यहाँका तालहरूलाई बराह ताल भन्ने चलन छ ।
(१) गुर्जाको बराह ताल ः यो जिल्लाको उत्तर–पश्चिमी क्षेत्र गुर्जा गाउँमा एउटा ताल छ जसलाई बराह ताल भनिन्छ । यो ताल ७०० वर्ग्मिटरमा फैलिएको छ । गुर्जा बेनीबाट तीन दिनको पैदल यात्रापछि मात्र पुगिन्छ । लुलाङ गाउँबाट उकालो चढेपछि देउराली पुगिन्छ जहाँबाट करिब तीन घण्टा जङ्गलको बाटो ओरालो झरेपछि गुर्जा गाउँमा पुगिन्छ । गाउँमा पुग्नुभन्दा पहिले बराह ताल आइपुग्दछ । यो तालको उत्तरतिरको मूल बाटोबाट पहिलो चोटी आएको नव आगन्तुक हिंड्न र घोडा लैजान हँदैन भन्ने चलन छ ।

नयाँ मान्छे सो बाटोबाट हिंडेमा वा घोडा लगेमा बराह रिसाउँदछन् र अनिष्ठ हुन्छ भनिन्छ । यहाँका जनतामा तालको माथिबाट नवागन्तुक हिंडेमा, घोडा हिंडाएमा वा देवतालाई नचढाइकन मकैको डाँठ चुसेमा बराह रिसाउँदछन् र असोजमा पानी पर्दछ भन्ने अन्धविश्वास छ । आश्विन महिनामा पानी पर्नु गुर्जाबासीका लागि अभिशाप मानिन्छ । किनकि यो महिनामा गाँजा माडेर चरेश बनाउने महिना हो । पान िपरेपछि गाँजाको चोप झर्छ र चरेश बनाउन मिल्दैन ।
(२) नागीको बराह ताल
नागी गाउँको शिरानमा रहेको अन्नपूर्ण हिमालको काखमा रहेको लेकमा एक सुन्दर ताल छ जसलाई नागीबराह भनिन्छ । यो ठाउँमा ऋषितर्पणी अर्थात् जनै पूर्णिमाको दिनमा मेला लाग्दछ ।
(३) निस्कोटको बराह ताल ः म्याग्दीको सदरमुकाम बेनीबजारदेखि पश्चिममा रहेको दरवाङ बजारबाट दक्षिणतिर पर्ने निस्कोट गाउँको सिरानमा यो ताल रहेको छ । करिब ६५० वर्ग मिटरमा फैलिएको यो ताल जङ्गलको बीचमा छ ।
(४) पाउद्वारको खयरबराह ताल ः पाउद्वार गाउँको शिरमा एउटा ताल छ जसलाई खयरबराह ताल भनिन्छ । स्थानीयहरू यो ताललाई ‘खयर भारानी’ भन्दछन् । पाउद्वार गाउँबाट उकालो लागेपछि झण्डै दुई दिनमा पुगिने यो ताल समुद्र सतहबाट ४,४३० मी. को उचाईमा रहेको छ । पाउद्वार गाउँबाट एक दिनको हिंडाइमा खोप्रालेक (३,६६० मी.) पुगिन्छ । त्यहाँबाट पनि एक दिन हिंडेपछि मात्र अन्नपूर्ण हिमालको काखमा रहेको सुन्दर खयरबराह तालमा पुगिन्छ । यो ताल करिब १० हजार वर्ग फिटको क्षेत्रमा गोलाकारमा अवस्थित छ । यो ठाउँमा ऋषितर्पणी अर्थात् जनै पूर्णिमाको दिनमा मेला लाग्दछ ।
(५) मङ्गलेखानीको बराह ताल ः म्याग्दीको उत्तरमा अवस्थित धवलागिरी हिमालको दक्षिणपट्टि रहेको मङ्गले गाउँदेखि माथिको जङ्गलमा विभिन्न किसिमका साना ठूला तालहरू छन् । यो गाउँको पश्चिमपट्टिको शिरमा ऋषार नामक एक रमणीय ताल छ जसलाई ‘रिगात् बराह’ भनिन्छ । यो बराह तालमा ऋषितर्पणी पूर्णिमाका दिन पूजा हुन्छ र यसको नजिकमा रहेको देउराली डाँडामा मेला लाग्दछ । रिगात् बराहकासाथै यो क्षेत्रमा दहखर्क बराह, ठूलीधुरी बराह, रुवाचौर काली बराह, रुवाचौर पाताल्नी बराह र श्रीखर्क बराह नामका छ वटा तालहरू छन् ।

पर्यटन विकासका लागि पर्यटकलाई लाभयाउने मनोरम प्राकृतिक दृश्य हुन आवश्यक छ जुन कुरा म्याग्दीमा उपलब्ध छ । यो जिल्लाको अन्धगल्छी, धवलागिरी र अन्नपूर्ण हिमाल जस्ता प्राकृतिक दृशयहरू विश्व प्रसिद्ध छन् । त्यसका साथै यहाँ अनेकौं झरना र तालहरू पनि छन् जसले यो जिल्लाको प्राकृतिक सौंदर्यको श्रीबृद्धिमा महत्वपूर्ण भूमिका खेलेका छन् । प्रकृतिको यो अनुपम उपहारलाई सही सदुपयोग गर्न सकेमा म्याग्दीको समृद्धिमा टेवा पुग्ने छ र म्याग्दीबासीको भविष्य उज्ज्वल हुने वानियाँले दावि गरेका छन् ।

गुर्जाको गौरब ः जहाँ हिराजस्तै टल्कन्छ कार्ज ढुङ्गाको पहाड

प्रकृतिले पनि कहीकहीँ यस्ता बहुमूल्य सम्पदाहरु छरपष्ट पारिदिन्छ । जुन सम्पदाहरुलाई स्याहार्न, पहिचान गर्न र उपभोग गर्न मानिसलाई हम्मेहम्मे पर्छ ।प्रविधि र पहुँच नपुग्ने अनकण्टार र दुर्गम ठाउँमा बहुमूल्य सम्पदाहरु लुकाएर राख्ने प्रकृतिको स्वभाव नै हुँदोरहेछ । यस्तै भएको छ म्याग्दीको अत्यन्त दुर्गम ठाउँ गुर्जामा पनि । जहाँ प्रकृतिले बहुमूल्य कार्ज नामक ढुङ्गाको खानी सुरक्षित राखेको छ ।

कार्ज ढुङ्का कारण रातको समयमा हिराजस्तै टल्कन गुर्जा हिमालको फेदमा रहेको घुर्मखोलाको पहाड गुर्जाको गौरब बनेको छ । सबैको ध्यानाकर्षण गरेको छ र राज्यलाई अर्बौ रुपैयाँ आम्दानी गराउनका लागि उत्खनन् गर्न आह्वान गरिरहेको छ ।
म्याग्दीमा एउटा उखान निकै प्रचलित छ । ‘टुप्पीभन्दा माथि ठाउँ छैन,गुर्जाभन्दा माथि गाउँ छैन’ । यो उखानबाट नै स्पष्ट हुन्छ गुर्जाको अवस्था, विवशता र बाध्यता । यातायात र सूचना प्रविधिबाट निकै टाढा रहेको यो गाउँमा प्रकृतिले अनुपम सुन्दरता र सम्पदा खन्याईदिएको छ । गुर्जा हिमालको फेदमा अवस्थित एउटामात्र गाउँ गुर्जाको विशेषता हो । यस्तो दुर्गम गाउँमा छ हिराजस्तै टल्किन कार्ज ढुङ्गाको खानी ।

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा रहेको हिराजस्तै टल्किने बहुमूल्य कार्ज ढुङ्गाखानी उत्खनन् ह्न नसक्दा राज्यले अर्बौ रुपयाँ गुमाएको छ ।हिरा,मोतीजस्ता बहुमूल्य विलासी धातुमा प्रयोग हुने ‘कार्ज’ नामक उक्त ढुङ्गाको खानी गुर्जाको पहाडमा रहेको प्रमाणित भैसक्दा पनि उत्खनन्का लागि राज्यले कुनै पहल नगर्दा अलपत्र अवस्थामा रहेको छ।
खानी तथा पुरातत्व विभागले एक दशक अगाडी उक्त ढुङ्गा खानीको पहिचान गरेपनि उत्खनन्का लागि सम्बन्धित निकायले चासो नदेखाउदा अलपत्र परेको धौलागिरि गाउँपालिका वडा नं १ का वडाअध्यक्ष झकप्रसाद छन्त्यालले बताए । ‘बहुमुल्य हिराको खानी हुनसक्छ, खानीको वास्तविकता अवलोकन गर्नुपर्छ’ म्याग्दी उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष राजेश शाक्यले भने । गुर्जा गाउँबाट करिव एकदिनको दुरीमा रहेको खानी आसपासका पहाडहरू रातको समयमा बत्ती बलेजस्तै टल्किने गरेको प्रत्यक्ष अवलोकन गरेर फर्किएका शाक्यले बताए ।

‘खानी आसपासका क्षेत्र रातको समयमा समेत टल्कन्छन् । प्रचुर सम्भावना भएपनि राज्यले नै चासो देखाएको छैन’ शाक्यले भने । कार्ज नामक ढुङ्गाभएको पुष्टी भएपछि २०६५ र अहिलेको महोत्सवमा प्रर्दशन गरिएको छ । खानी भएको क्षेत्रमा रातको समयमा पहाड नै बत्ती बालेजस्तै उज्यालो हुने भएकाले पनि स्थानीयले अनुसन्धानमा सघाउन अनुरोध गरेका छन् । पत्थरलाई उचित प्रशोधन गरे बहुमुल्य धातु तथा औठी तथा मानिसले प्रयोग गर्ने धातुहरूमा प्रयोग गर्न सकिन्छ ।
नीजि क्षेत्रबाट सहयोगको अपेक्षा

दशकौंदेखि राज्यको सेवा सुविधा र पहँुचबाट टाढा रहेको गुर्जाका वासिन्दाले नीजि क्षेत्रबाट सहयोगको अपेक्षा गरेका छन्। गुर्जामा ग्रामिण पर्यटनको प्रचुर सम्भावना, बहुमूल्य खानी, जडिबुटी र जैविक विविधताले युक्त भएको कारणले पनि नीजि क्षेत्रको ध्यानाकर्षण हुने कुरामा स्थानीय आशावादी छन् ।

यहाँका सम्भावनामा लगानीको आवश्यकता छ, गाउँपालिकामा सुरूङ मार्गको प्रस्ताव समेत पारित भएको छ’ वडा अध्यक्ष झकप्रसाद छन्त्यालले भने । उनले ्रामिण पर्यटन अन्र्तरगत रुकुम र बागलुङ जोड्ने बस्तीहरुलाई समेटेर पदमार्ग सहितको योजना बनाइ पदैलमार्ग र हवाई मार्ग हुदै गुर्जामा आउन सकिने बताए ।

हवाइ तथा पैदलमार्गको गन्तव्य बनाउनुहोस्

विकट गुर्जालाई हवाई तथा पदैलमार्गको गन्तब्य बनाउन स्थानीयबासीले माग गरेका छन् । कृषि, पर्यटन र खानीमा अति सम्भावना भएको गुर्जाको विकासमा नीजि क्षेत्रबाट आवश्यक सहयोगको अपेक्षा गर्दै स्थानीयले गुर्जालाई वेवास्ता नगर्न आग्रह गरेका म्याग्दी उवासंघका द्धितीय उपाध्यक्ष शाक्ले बताए ।