कलेजो दिने र लिनेको जम्काभेट

मानिसहरु धर्मका लागि मन्दिरमा जान्छन्,देवतालाई पुज्छन्,दान गर्छन र आत्मसन्तुटि लिने गर्दछन् । तर, अरुलाई सहयोग गर्ने र आफ्नै शरिरको अङ्ग, झन त्यसमा पनि आफ्नो कलेजो काटेर दिई ९ महिने बालिकालाई बचाएर नयाँ जीवन दिने व्यक्ति भने यो संसारमा विरलै पाइन्छन् । यिनै विरलै पाइने मानिसहरु मध्येका एक हुन् म्याग्दीका चन्द्रकुमार केसी । नेपालमा नै चर्चित म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष एवम् विभिन्न परोपकारी संघ संस्थामा आवद्ध चन्द्र केसीले गत माघमा एक ९ वर्षिया बालिकालाई बचाउनका लागि आफ्नो कलेजो समेत दान दिएका थिए ।

तिनै चन्द्र केसीलाई परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सम्मान गरेको हो । ओमकुमारी शान्ति कोषको शुक्रवार सम्मपन्न पाँचौं साधारण सभा तथा तेस्रो वार्षिकोत्सवको अवसरमा कलेजोदाता केसीलाई जिल्ला समवन्यय समितिका संयोजक देवेन्द्रबहादुर कटुवालले कदर पत्रले सम्मान गरे । जन्मेको चार महिनादेखि थलिएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तान औलकी सियाना रन्तिजाको बेनी,पोखरा हुँदै काठमाण्डौ पुराउँदा पनि रोग पत्ता नलागे पछि भारतको राजधानी दिल्ली लगियो ।

त्यहाँ पुगेपछि थाहा लाग्यो, रन्तिजाको कलेजोमा समस्या रहेछ । तामाको मुनाजस्ती छोरीलाई उपचार गरेर निको पार्न सियानाकी आमा रेश्मा रन्तिजा र बुबा प्रदीप रन्तिजाले निकै दौडधूप गरे। कैयौलाई गुहारे । देवीदेउता पुकारे । अह,ँ छोरीलाई २० को १९ पनि भएन । औषधीले निको नभएपछि सियानाको उपचारमा खटिएका सर गंगाराम अस्पतालका चिकित्सकद्धय डा.निमेष र डा. विशालले ‘छोरीको कलेजो फेर्नुपर्छ, कसैले दान गर्नुपर्यो ।’ भने।मिल्ने भए आफ्नो मुटु पनि दिन तयार आमाबाबु दुवैसँग छोरीको कलेजै म्याच भएन । आमा बुबाको कलेजो म्याच नभएको र शियानाको उपचारका लागि आर्थिक अभाव हुनुका साथै कलेजोदाता पनि चाहिएको खबर म्याग्दीमा फैलियो ।

आखिर चन्द्र केसी सियानाका लागि बाबुआमाजस्तै प्यारो बनेर झुल्किए । ती बालिकालाई कलेजोको टुक्रा काटेर दिन केसी राजी भए । म्याग्दीमा असहाय र विपन्नलाई सहयोग पुर्याउँदै आएको संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष केसीले पहिलापहिला खल्तीको पैसा सहयोग गर्थे। अरुसँग सहयोग जुटाएर गाउँ पुर्याउथे । कहिले मिर्गाैला रोगीको उपचार हुन्थ्यो, कहिले मुटु रोगीको ।

कहिले कलिला हातहरुमा कापी कलम थमाउथे भने, कहिले थरथर कापिरहेको जिउमा न्यायो लुगा । यसपालिचाहिँ केसीले आफ्नै कलेजोको टुक्रा ती बालिकालाई दिएर शियानालाई मात्र बचाएनन्,समाजका लागि गतिलो उदाहरण समेत बने । केसीलाई अहिले‘म्याग्दीका दधिचि’ (अरुका लागि आफ्नो शरिरको अङ्ग समेत काटेर दिनसक्ने दानि व्यक्ति ) भन्न थालिएको छ ।

भारतको सर गंगाराम अस्पतालमा रञ्तिजालाई केसीले दान गरेकोे कलेजो प्रत्यारोपण गरेपछि शियाना रन्तिजाको जीवन रक्षा भएको म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले बताए ।शाक्यले भने ‘ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष केसीले मानवीय सेवा र दानवीरहरुको अभिलेखमा दुर्लभ साहसको एउटा अभिलेख राख्नु भएको छ,।’ शाक्यले भने ‘कोषलाई स्थापनादेखि अहिलेसम्मको स्थितिमा ल्याउन उहाँले खेल्नुभएको भूमिका प्रशंसनीय थियो, त्यसैले उहाँ सम्मानको हकदार बन्नुभयो ।’ केसीको करिब ३० प्रतिशत कलेजो निकालेर पत्यारोपण गरिएको शाक्यले बताए ।

को हुन् चन्द्र केसी ?
चन्द्र केसी मानवतावादी व्यक्ति हुन् । दुःखी,गरिबको पीडा देख्नै नसक्न,े अत्यन्त भावुक र कम बोल्ने धेरै गर्ने व्यक्ति मध्येका एक हुन् चन्द्र केसी । म्याग्दीको बेनी नगरपालिका वडा नं ८ शिक्षा मार्गका केसी म्याग्दीको शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएका व्यक्ति पनि हुन् । म्याग्दीको प्रशिद्ध शैक्षिक संस्था माउण्ट एभरेष्ट आवासीय माविका संस्थापक समेत रहेका केसी विभिन्न लायन्स क्लवमा समेत आवद्ध छन् ।

चन्द्र केसी बहुआयामिक व्यक्तित्वका धनी र चारित्रिक गुणहरुले भरिपूर्ण एक सच्चा समाजसेवी हुन् । उनलाई नजिकबाट चिन्नेहरुले केसीलाई म्याग्दीका दधिचिको उपनाम दिएका छन् । पौराणिक कथन अनुसार दानवीर दधिचिले आफ्नो शरिरको अंग समेत काटेर दिई अरुलाई सन्तुष्ट पार्ने गर्दथे । केसीले पनि यस्तै गरेका छन् । कतिपयले उनलाई ‘जय पृथ्वीवहादुर सिंह संग तुलना गर्ने गरेका छन् । तत्कालिन बझाङका राजा जय पृथ्वीबहादुर सिंहले मानवता,शिक्षा र स्वास्थ्यमा दिएको अतुलनीय योगदान जस्तै म्याग्दीमा पनि केसीले योगदान दिएका उनलाई नजिकबाट चिन्नेहरुले बताउदै आएका छन् ।

सियानालाई बल्दो दीप सहितको पानस र पुष्पगुच्छा दिएर स्वागत

चन्द्र केसीको कलेजोबाट नयाँ जीवन पाएकी सियाना अहिले १६ महिनाकी भइन् । आमा रेश्मा रन्तिजाको काखमा फूल झैं मुस्कुराइरहेकी सियाना पहिलो पटक कार्यक्रममा देखिदा धेरैले भाव विभोर भएर उनलाई नियाली रहे । मुस्कुराइ रहने चञ्चले सियानाको उज्यालो अनुहार देखेर धेरैले ७ महिना अघि उनले झेल्नु परेको दुःख र कष्टको स्मरण गरे ।
यिनै सियाना ९ महिनाकी हुँदा कलेजो ड्यामेज भएर फेर्नु पर्ने अवस्था आएको थियो ।

त्यतिबेला चन्द्र केसीले न्यू दिल्लीमा नै पुगेर आफ्नो कलेजो काटेर सियानालाई बचाएका थिए । अन्नपूर्ण गाउँपालिका, ७ हिस्तान औलकी ९ महिने सियाना रन्तिजाको जीवन बचाउने कलेजोदाता केसी सहित सियाना र उनकी आमा रेश्मालाई पहिलो पटक म्याग्देलीले एउटै मञ्चमा देख्न पाएका थिए ।कार्यक्रममा कलेजो प्रत्यारोपणपछि नयाँ जीवन पाएकी सियानालाई फुलगुच्छाले स्वागत गरियो ।

वल्दो दीप सहितको पानस उपहार दिएर उज्जल भविस्यको कामना समेत गरियो । पित्तथैली र कलेजोको समस्याबाट ग्रस्त ९ महिने बालिका सियाना रन्तिजालाई मानवताबादी अभियन्ता चन्द्रकुमार केसीले भारतको नयाा दिल्ली स्थित गंगाराम अस्पतालमा पुगेर कलेजो प्रत्यारोपण गराएका थिए । केसीको ३० प्रतिशत कलेजो झिकेर सियानालाई प्रत्यारोपण गरिएको थियो ।आफन्तको कलेजो नमिलेपछि जीवनमरणको अवस्थामा एक बालिका रहेको जानकारी आएपछि चन्द्र केसीले भारतको गंगाराम अस्पतालमा पुगी आफ्नो कलेजो दिन मिल्नेरनमिल्ने परिक्षणपछि डाक्टरको सुझाव अनुसार प्रत्यारोपण गरिएको हो ।