गरिमा विकास बैंकः सेयर मूल्य वाणिज्य बैंक सरह

१८ कात्तिक २०६४ बाट गरिमा विकास बैंक औपचारिक रुपमा सञ्चालन भएको हो । १ देखि ३ जिल्ले कार्यक्षेत्र बनाएर सञ्चालनमा आएको गरिमाले स्तरोन्नन्ति गरेर १० जिल्ले विकास बैंक बनेको थियो । त्यसपछि निलगिरी विकास बैंकसँग मर्जर गरेर राष्ट्रियस्तरको विकास बैंक बनेको गरिमाले चुक्ता पुँजी वृद्धिको क्रममा त्यसयता थप एक मर्जर गरेको थियो । बैंकले सुवेच्छा विकास बैंकसँग समेत मर्जर गरेको हो ।

राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पुँजीभन्दा पनि केही रकम वृद्धि गरेको गरिमाले यही क्रममा ५ वर्षयता बोनस सेयरमा बढि जोड दिदै आएको देखिन्छ । ५ वर्षयता बार्षिक औसत १७.९६ प्रतिशत लाभांश दिएको गरिमाले चालु आवमा भएको नाफापछि पनि १८.६७ प्रतिशत लाभांश दिन सक्ने क्षमता छ ।गत आर्थिक वर्षको चौथो त्रैमाशमा गरिमाको नाफा २६ प्रतिशतले बढेर ५९ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

३ अर्ब ६७ करोड व्याज आम्दानी गरेको गरिमाको व्याज खर्च २ अर्ब २७ करोड रुपैयाँ छ । शुल्क, कमिशनबाट ३० करोड कमाएको गरिमाले थप २३ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ । प्रावधानको रुपमा पहिले राखेको ९ करोड ३५ लाख राइट ब्याक गरेको छ ।बैंकको पुँजी कोष पर्याप्तता अनुपात १४.४ प्रतिशत छ । बैंकको सञ्चित कोषमा ४९ करोड रुपैयाँ छ । बैंकको कोष लागत गत वर्षभन्दा घटेको भए पनि अझै यो दर उच्च नै छ । कोष लागत ८.९८ प्रतिशत रहेकोमा घटेर ८.६९ भएको छ ।

खराब कर्जाको दर ०.२० प्रतिशतमा सिमित पार्न सफल गरिमाले खराब कर्जाको आधारमा सो कर्जाको ५ सय ६७ प्रतिशत रकम राखेको छ । निक्षेप प्राथमिक पुँजीको आधारमा कर्जा लगानी अनुपात ७७.९१ छ । बैंकसँग थप लगानीको लागि पुँजी कम पर्न थालेको छ ।बैंकको प्रतिसेयर आम्दानी २१.२४ प्रतिशत, मूल्य आम्दानी अनुपात १०.५५ प्रतिशत र प्रतिसेयर नेटवर्थ १ सय ३५ प्रतिशत छ ।

बैंकको अध्यक्षमा चन्द्रकान्त बराल र प्रमुख कार्यकारी अधिकृतमा गोविन्द प्रसाद ढकाल छन् । बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व प्रदिपकुमार रुगंटा र चन्द्रकान्त बरालको छ ।

बढ्ने प्रयास

करीब तीन महिनाअघि बर्षकै उच्च विन्दु २ सय ३८ मा पुगेर फर्केको गरिमाको सेयर मूल्य त्यसयता घट्ने क्रममा छ । सो विन्दुबाट बैंकले हालसम्म १० प्रतिशत मूल्य गुमाएको छ । हाल मूल्य २ सय १४ छ । २ सय १२ आसपासमा मूल्यले टेवा खोजिरहेको छ । सेयर कारोबार सन्तुलित क्षेत्रमा वृद्धि भइरहेको छ । १४ दिने आरएसआई सुचकको स्केल ४० मा आएको छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमार ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ ।

केही समय अघि सिम्पल मुभिङ एभरेज रेखा क्रमओभर भएको छ । २१ दिने रेखाले ७ दिने रेखालाई काटेर माथि लागेको छ । मूल्य वियरिश प्रवृत्ति मै रहेको यसले संकेत गर्छ । पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा नै रहे एक महिनामा २ सय २० मा पहिलो प्रतिरोध र घट्ने क्रममा रहे २ सय १५ मा पहिलो टेवा पाउने देखाउँछ ।

बैंकको सेयर मूल्य गत साता पहिलो तीन दिन वृद्धि भइरहेको थियो । बजार बढ्ने क्रममा शूरु दिन (आइतबार) मूल्य जहाँ थियो चौथो दिन बजार घट्दा त्यही आइपुग्यो । कालो लामो मैनवत्ति आकृति बन्नु अघिको बुलिश प्रवृत्ति दरिलो थियो भने मूल्य थप बढ्ने अपेक्षा गरिन्छ । बैंकले चौथो दिन कालो मैनवत्ति बनाउनु अघि बुलिश प्रवृत्ति दरिलो देखिदैन । ती दिनहरुमा सेता आकारका मैनवत्तिको शरिर सानो छ ।

यद्यपि साताको अन्तिम दिन बनेको ह्यामर आकृतिमा मूल्य २ सय ११ को न्युन विन्दुसम्म पुगेपनि बजार बन्द हुने समयमा पुन २ सय १४ मा पुग्यो । अघिल्लो दिन २ सय १५ मा कारोबार शुरु भएको थियो । लगानीकर्ताहरु बीचको मोलमोलाईमा हाल बजार मूल्य २ सय १५ र २ सय ११ बीचमा रहेको छ । यी दुवै तहभन्दा बढ्दा न माथि जान सकेको छ ,घट्दा न तहभन्दा मुनि गएको छ । यसले लगानीकर्ताहरु निर्णय गर्न नसकिरहेको संकेत गर्छ । अन्ति दुई दिनको प्रवृत्तिले बुलिश प्रवृत्ति शुरु हुने संकेत नै गरिरहेको छ । Source/Copyright: shilapatra.com