विश्वकै उत्कृष्ट गन्तब्य घोरेपानीमा सवारीसाधनमै जान सकिने

म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोरेपानी सडक सञ्जालमा जोडिएको छ । गाउँपालिका र प्रदेश सरकारको सहयोगमा चित्रेदेखि घान्दु्रक गेटसम्म सडक सञ्जाल पुगेपछि पदैलमार्ग हुदै पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । प्रदेशको ३२ लाख ७० हजार र अन्नपूर्ण गाउँपालिकाको १५ लाख रुपैयाँको लागतमा ५ किलोमिटर सडक निर्माण गरिएको वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताए ।

‘पदैल र सडकमार्गको प्रयोग गरी पुग्न सकिन्छ,‘सडक सञ्जालले चहलपहल ह्वात्तै बढ्ने अनुमान गरिएको छ’ बरूवालले भने। उनका अनुसार प्रदेश पूर्वाधार विकास कार्यालयको अनुमानित बजेट ५३ लाख ४० हजार रुपैयाँ भएपनि स्थानीयबासीको जनश्रमदान सहित ३६ लाख ३८ हजार रुपैयाँमा सम्पन्न भएको बताए । सात मिटर फराकिलो सडकमा नियमित सवारीसाधन चल्न थालेको उपभोक्ता समितिका अध्यक्ष बिरेन पुनले बताए ।

‘सडक सञ्जालले पदमार्गलाई विस्थापित हुन दिन्नौ,‘पदमार्गलाई पनि सुरक्षित राख्नेछौ’ पुनले भने । घोरेपानीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई लक्षित गरी घान्दुक सहित विभिन्न रुटबाट आउने पदमार्गलाई समेत ब्यवस्थित बनाउन पहल गरिएको घोरेपानी टोल सुधार समितिले जनाएको छ। कास्कीको पोखरा–नयाँपुल,घान्दु्रक हुदै घोरेपानी र यता म्याग्दी सदरमुकाम वेनी–तातोपानी, घारा, शिख हुदै घोरेपानी र नागी–महरेडाँडा हुदै पुनहिलमा जान्छन् ।

गाउँपालिकाको केन्द्र पोखरेबगर–घार–शिख हुदै घोरेपानी सडक सञ्जालको प्रयोग गरी जाने पर्यटक पदैलमार्ग हुदै घान्दुक तथा पुनहिलबाट देउराली हुदै राम्चे हुदै बेनीतर्फ आउन सकिने भएकाले पनि पदमार्ग र यातायातका साधनमा आवतजावत गर्नेलाई सहज हुने गरी पर्यटकीय मार्ग बनाइएको जनाइएको छ । हाल पारिवारिका उपचारको क्रममा अमेरिकामा रहेका गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले सडक सञ्जालको विस्तारले पदमार्गलाई ध्वस्त पार्न नदिने प्रतिबद्धता जनाएका थिए। उनले सडकको मर्मतजस्तै पदमार्गको समेत आवश्यकता अनुसार मर्मत तथा नयाँ बनाउन सकिने बताए ।

घोरेपानी जोडिने सडक सञ्जाललाई कास्कीको नयाँपुलसम्म पु¥याउने योजना रहेको छ । विश्वकै उत्कृष्ट घुम्ने स्थानमा कास्कीको घान्दुक परेपछि त्यसको प्रत्यक्ष फाईदा घोरेपानीले समेत लिन सक्ने अवस्थामा सडक सञ्जालको प्रयोग गरी सयौं पर्यटक आवतजावत गर्न सक्ने अनुमान गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर पाँच सय मिटर सडक कालोपत्रे गर्ने लक्ष्यसहित आयोजना निर्माणधिन अवस्थामा रहेको छ ।

समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलमा मनोरम हिमश्रृखला, मगर जातीको संस्कृती र रहनसहन, विविध प्रजातीका पशुपंक्षी,वनस्पतीको साथै सुर्योदयको अवलोकन,स्थानिय कला तथा मगर नृत्य लगायत प्रस्तुत गरी पर्यटकलाई आर्कषित गर्ने गरिएको छ ।  पाँच दशकअघि अन्नपुर्ण पदयात्रा मार्ग सुरु भएपछि बाटो हिड्ने पर्यटकका लागि चिया, नास्ता खुवाउन खुलेका साना होटल तथा भट्टीले पर्यटकको बाक्लो आगमनसँगै सुविधासम्पन्न होटलहरू बनेका थिए । विश्वको उत्कृष्ट १० गन्तब्य भित्र पर्ने अन्नपुर्ण परिक्रमा पदयात्रामार्ग अन्तर्गत घोरेपानी एक सुन्दर गन्तब्य हो । घोरेपानीमा आगामी असोज महिनामा प्रवासी म्याग्देलीको सम्मेलन हुदैछ ।