वीरेठाँटी–मुक्तिनाथ केबलकारको डीपीआर बन्दै

मुस्ताङको मुक्तिनाथदेखि कास्कीको वीरेठाँटीसम्मको केबलकार सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न लागिएको छ । अस्ट्रेलियाको जहाज ल्याएर ‘लाइडर’ प्रविधिबाट सर्भे गरिसकिएको र अब डीपीआर तयार गर्न लागिएको निर्माण कम्पनी मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले जानकारी दिए ।

चार महीनाभित्र डीपीआर तयार गरिसक्ने गरी काम अघि बढेको उनको भनाइ छ । उक्त कम्पनीले स्थानीयको समेत लगानीलाई समेटेर केबलकार निर्माण गर्न लागेको हो । ‘यो परियोजना मुलुकको समृद्धिसँग जोडिनेमा हामी ढुक्क छौं, सर्भेदेखि नै अधिकतम प्रविधिको प्रयोग थालेका छौं,’ उनले भने । केबलकार निर्माणका लागि लगानी बोर्ड र उक्त कम्पनीबीच एक वर्षअघि समझदारी भएको थियो । करीब ८४ किलोमिटर लामो, कास्की, म्याग्दी र मुस्ताङ जिल्लाका ५ गाउँपालिकालाई समेट्ने उक्त केबलकार आगामी ५ वर्षभित्र निर्माण सक्ने लक्ष्य लिइएको छ ।

कहाँकहाँ रहन्छन् स्टेशन ?
८३ दशमलव ८७ किलोमिटर लम्बाइ रहने उक्त केबलकारमा १९ ओटा स्टेशन रहनेछन् । शुरुआतको स्टेशन वीरेठाँटी, तिखेढुङ्गा, म्याग्दीको घोडेपानी, शिख, घार, चारच्याङ, घासा, लेते, कोवाङ, मार्फा, जोमसोम र कागबेनी हुँदै अन्तिम स्टेशन मुक्तिनाथमा रहने अध्यक्ष सुवेदीले बताए ।

‘केबलकारले कास्की र मुक्तिनाथको बीचका अन्य क्षेत्रहरू ओझेलमा पर्ने चासो आएको छ, तर व्यवहारतः यो परियोजनाले समग्र मुलुकसँगै खासगरी गण्डकी र धवलागिरी क्षेत्रको पर्यटन विकासमा ठूलो योगदान दिन्छ,’ उनले भने । सूर्योदय र सूर्यास्तसम्म मात्रै केबलकार सञ्चालन हुने र तल्लो स्टेशनदेखि अन्तिम स्टेशनसम्मको दूरी करीब ४ घण्टाको उनले बताए । सूर्यास्तसँगै हरेक स्टेशनमा बक्स अनिवार्य रोकिने र स्टेशन रहने सबै क्षेत्रमा हरेक दिन पर्यटकहरूको बसाइ र चहलपहल हुने निश्चित रहेको उनको भनाइ छ ।

यो केवलकार रेखामा रहने स्टेशनहरूमध्ये घोडेपानी, नारच्याङ, लेते, कोबाङ, जोमसोम र कागबेनीमा अनिवार्य रूपमा मानिस ओर्लिएर अर्को केबलकारको बक्समा चढ्नेछन् भने अन्य स्टेशनहरूमा व्यक्तिको आवश्यकताको आधारमा ओर्लने र चढ्ने सुविधा रहनेछ । शुरू र अन्त्यसहित आठओटा स्टेशनमा यात्रुहरू अनिवार्य रूपमा झर्नुपर्ने र बक्स परिवर्तन गर्नुपर्नेछ भने १० ओटामा यात्रुहरूले चाहेको खण्डमा चढ्न र झर्ने गर्न पाउनेछन् ।

५० अर्ब लागत, लगानीको अवसर
कुल लागत करीब रू. ५० अर्ब हुने यस आयोजनामा २० प्रतिशतसम्म स्वदेशी लगानी र ८० प्रतिशत वैदेशिक ऋण लगानी हुने प्रक्षेपण गरिएको छ । आयोजनामा प्रभावित क्षेत्रका स्थानीयसँगै स्वदेशी लगानीकर्तालाई समेत लगानीका लागि आह्वान गरिनेछ । थोरै–थोरै पूँजी भएका लगातीकर्तालाई समेत सामूहिक लगानीको रूपमा आह्वान गरिएको कम्पनीका अध्यक्ष सुवेदीले बताए ।

केबलकार परियोजनाका लगानीकर्ताले आयोजना प्रभावित क्षेत्रका स्थानीयसँग छलफल गर्न थालेका छन् । कम्पनीका प्रतिनिधिहरूको एक टोलीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ नम्बर वडा घारामा स्थानीयवासी र सरोकारवालासँग छलफल गरेका छन् ।

अध्यक्ष सुवेदीको नेतृत्वमा आएको टोलीले दुईओटा वडाका जनप्रतिनिधि र स्थानीयलाई आयोजनाले यस क्षेत्रको पर्यटन विकासमा पार्ने सकारात्मक प्रभाव र पर्यटन विकासको सम्भावनाबारे जानकारी गराएका थिए । स्थानीयले स्टेशनसँगै आयोजनामा रोजगारीको अवसर र प्रभावित हुने जग्गाको मुआब्जा दिनुपर्ने माग गरेको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए ।