सन नेपालले मृत्यु दावी रकम भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी रकम भुक्तानी गरेको छ । कम्पनीले बेनी नगरपालिका–८ की मृतक बीमित शिक्षा केसीको परिवारलाई १० लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको हो । शुक्रबार बेनी उपशाखामा आयोजित कार्यक्रममा बेनी नगरपालिका वडा नं ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, वडा नं ८ का अध्यक्ष रामकृष्ण बराईली, सन नेपाल लाईफ उपशाखाकी प्रमुख नविना थापा रावल र सहजकर्ता सन्तोष रावलले मृतक केसीका आमा जमुना केसीलाई चेक हस्तान्तरण गर्नुभयो ।

न्युमोथेराक्स रोगबाट ग्रसित केसीको २०७५ चैत्र २७ गते भारतको सर गंगाराम अस्पतालमा निधन भएको थियो ।उपशाखा प्रमुख नविना थापा रावलले धनलक्ष्मी जीवन बीमा, सामूहिक म्यादी जीवन बीमा, बाल समृद्ध जीवन बीमा, नविकरण म्यादी जीवन बीमा,सनलाईफ इन्डोमेन्ट एन्स्योरेन्स प्लान, सार्थक आजीवन जीवन बीमा, दैनिक ५ रुपैयाँ बीमा शुल्क तिरेर बीमा गर्न मिल्ने पोलिसीमा आर्कषण रहेको बताउनुभयो । बिमितले १८ घातक रोगहरुमा ५ लाख रुपैयाँ उपचार खर्च पाउने उहाँको भनाई थियो । कार्यक्रमको सञ्चालन शाखाका कर्मचारी सन्दिप रिजालले गर्नुभएको थियो ।