दोभानको माविस्तरीय खुल्ला छात्रा फुटबल बिहिबारबाट

स्वर्गीय अध्यक्ष अनन्त गिरीको स्मृतिमा न्यू दोभान यूथ क्लवले आयोजना गरेको प्रथम अन्तर माविस्तरीय खुल्ला छात्रा फुटबल प्रतियोगितामा १३ विद्यालयले सहभागिता जनाएका छन् । हिन्दु नेपाली महिलाको महानपर्व तिजको अवसरमा भोली बिहिबारदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी विद्यालयको खेल सूची सार्वजनिकको अवसरमा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले छात्रा फुटबलमा म्याग्दीको सम्भावना रहेको बताए ।

उनले विद्यालयस्तरबाटै खेल प्रतिभाको पहिचान गरी प्रदेश तथा राष्ट्रियस्तरसम्म खेल्ने अवसर रहेको बताए। प्रतियोगितामा म्याग्दीका ११ र बागलुङ र पर्वतका २ गरी १३ विद्यालयले सहभागिता जनाएका छन् । क्लवका अध्यक्षको स्वर्गारोहणपछिको अवस्थामा सुस्ताएपनि प्रतियोगिता सहित रचनात्मक कार्यहरुलाई समेत तिब्रता दिने कार्यवाहक अध्यक्ष सविन श्रेष्ठले बताए ।

प्रतियोगिताको तयारीका बारेमा जानकारी दिन खुल्लामञ्चमा आयोजित पत्रकार सम्मेलनमाप्रथम हुनेलाई ३० हजार नगद, उपविजेतालाई २० हजार, मेडल, ट्रफी र प्रमाणपत्र सहित विभिन्न पुरस्कारको ब्यवस्था गरिएको खेलकुद संयोजक उपेन्द्र गिरीले बताए । पत्रकार सम्मेलनमा म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पशुपति ढकाल, स्ववियू कार्यबाहक सभापति इश्वर सुबेदी, विद्यालयका खेल शिक्षक, खेलाडी लगाएतको उपस्थिती रहेको थियो ।

प्रतियोगिताको बिहिबार विहान बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। स्वर्गीय गिरी बेनीका सक्रिय यूवा थिए । उनले इपिएसमार्फत कोरिया पुगेर फर्किएका गिरीको २०७४ मंगिर १० गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा भोट हालेर घर फर्किएपछि निधन भएको थियो ।