जंगल तथा रुखबिरुवाका झ्याङमा पाइने कालो खुट्टा भएको कीरा (किर्ना प्रजाति) ले टोक्दा छालामा बोरोलिया भन्ने कीटाणु सर्छ। त्यसपछि यसले छालामा र पछि गएर शरीरका विभिन्न भित्री अगंमा असर पु-याउँछ।

एक वर्षअघि पोखराका एक युवालाई लाइम रोगको शंका लाग्यो। उनी आफैं सचेत भएकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादु्र पुनलाई भेटे। डाक्टर पुनले लाइम रोगको पहिचान गरे। तर नेपालमा प्रयोगशाला परीक्षणको सुविधा नभएकाले उनी यो रोगको उपचारका लागि भारत गए।

भारतीय अस्पतालले पनि विदेशमा रगत परीक्षण गर्न पठाएर मात्र उनको रोग यकिन ग¥यो। लाइम रोग लाग्नेहरू नेपालमा धेरै छन्। तर यो रोगबारे धेरैलाई थाहा नभएकाले उनीहरूले रोग पालेर बस्नुपरेको चिकित्सकको दाबी छ।

वीर अस्पतालको चर्मरोग विभागका अनुसार सो अस्पतालमा वार्षिक पाँचदेखि सातजना लाइम रोगका बिरामी आइपुग्छन्। उनीहरू दाद भन्दै उपचारका लागि आउने गरेका छन्। चिकित्सकले पनि सुरुमा दादकै उपचार गर्छन्। दादको औषधिले काम नगरेपछि लाइम रोग ठम्याएर थप उपचार गरिन्छ। रोगबारे थाहा नभएकै कारण बिरामी कि सामान्य रोग सम्झिएर उपचारमा नपुग्ने कि त चर्मरोग विशेषज्ञकोमा जाने गरेको सो अस्पतालका डा. पुनको अनुभव छ।

‘गत वर्ष एकजना हामीकहाँ आइपुगे, कतिपय बिरामी सामान्य उपचारमा जान्छन् या उपचारमै जाँदैनन्,’ उनले भने। यो रोगको अवस्थाबारे नेपालमा अहिलेसम्म अध्ययन हुन नसकेको चिकित्सक बताउँछन्।

के हो लाइम रोग ?
चिकित्सकका अनुसार नेपालमा पनि यो रोगबारे चिकित्सक र बिरामी धेरैलाई थाहा छैन। जंगल तथा रुखबिरुवाका झ्याङमा पाइने कालो खुट्टा भएको कीरा (किर्ना प्रजाति) ले टोक्दा छालामा बोरोलिया भन्ने कीटाणु सर्छ। त्यसपछि यसले छालामा र पछि गएर शरीरका विभिन्न भित्री अगंमा असर पु¥याउँछ। विशेषगरी नसाहरूमा असर पुग्छ र मानिस पूरै अपांग हुन्छ।  नसामा असर गर्ने भएकाले मुखको एकातिरको भाग लत्रिने, खुट्टा सुन्निने, फोक्सोेमा निमोनियाँ हुने र मुटुको धड्कन अनियमित हुने, शरीरमा घोचेजस्तो, निदाए जस्तो हुने, नसालाई तथा मुटुलाई छुनेजस्ता समस्या उत्पन्न हुन्छन्। मेनिन्जाइटिस हुँदाजस्तो घाँटी अररो हुने समस्या पनि लाइममा हुन्छ। ‘डा. पुन भन्छन्, ‘यो रोगको उपचार नसर्ने रोगमा पुगेर हुन्छ।’

जोखिममा को को ?
खेतबारीमा काम गर्ने तथा वनजंगलमा घाँसदाउराका लागि जाने किसान, हाइकिङ गर्ने र पर्यटक बढी यस रोगको जोखिममा रहेको चिकित्सक बताउँछन्। उपचारमा आउनेहरू घाँसदाउरा गर्ने महिला र हाइकिङ गर्न जानेहरू नै बढी हुने गरेको चिकित्सकको अनुभव छ। यस रोगबाट महिला र पुरुष दुवै संक्रमित रहेको वीर अस्पतालका छालारोग विशेषज्ञ डा. भाष्करमोहन कायस्थ बताउँछन्। अमेरिकनहरू बढी मात्रामा बनजंगलमा घुम्न जाने चलनले यो रोगको संक्रमण उनीहरूमा बढी हुने गरेको पाइन्छ। नेपालमा घाँसदाउरा गर्न जंगल जाने र पछिल्लो समय पर्यटक तथा अन्य मानिस पनि हाइकिङ जाने चलन बढ्दै गएकाले यो समूह बढी जोखिममा रहेको चिकित्सक बताउँछन्।

लक्षणहरू
– रुघाखोकी लागेजस्तो हुने
– आँखा गोरुको जस्तो हुने
– कीराले टोकेको ठाउँमा वरिपरि रातो हुने र बीचमा खाली हुने
– रातो गोलो बढ्दै जाने
– कसैमा यस्तो घाउ नदेखिन पनि सक्छ
– लाइम संक्रमण भएका ८० प्रतिशतमा यस्तो लक्षण देखिन्ने
– पछिपछि हातखुट्टा झमझमाउने
–जोर्नीहरू दुख्ने
– मुुटु दुख्ने

उपचार
लाइम रोगको सुरुमै उपचार भएमा निको हुन्छ। सुरुमा छालामा समस्या देखिने भएकाले यसको उपचार चर्मरोग विशेषज्ञले गर्छन्। यस रोगमा एन्टिवायोटिक दिएर उपचार गरिन्छ। तर एन्टिवायोटिक तीनदेखि चार हप्तासम्म खानुपर्छ। यस रोगमा दुईथरीका ब्याक्टेरिया भएमा पछि गएर नसर्ने रोग लाग्छ। यदि कीटाणु एकथरीको मात्र रहेको अवस्थामा सुरुकै उपचारले निको हुन्छ। तर यो रोगको परीक्षण गर्ने कीटाणु परीक्षण गर्ने व्यवस्था अहिलेसम्म नेपालमा छैन। धेरजसो उपचार सामान्य मेडिकल अफिसर, चर्मरोग विशेषज्ञ र नसारोग विशेषज्ञले गर्दै आएका छन्। खास रोगको पहिचान गरेर उपचार हुन सकेको छैन। Copyright: Nagariknews.com