अरिङ्गालको ‘फ्राई’ बेच्न भ्याईनभ्याई

गतबर्ष अरिङ्गालको ‘फ्राई’ बेचेर करिव ४ लाख आम्दानी गरेकी बेनी नगरपालिका–७ विरेन्द्रचोककी सृजना भट्टचनले यसबर्षपनि सिजनको सुरुवातमै अरिङ्गालका पारखी खोज्दै आउन थालेपछि ब्यस्त छन् । तीनदशक देखि होटल रोजिनाको नामबाट होटल ब्यवसायमा सक्रिय रहेकी भट्टचनले सिजनको सुरुसँगै अरिङ्गालले गोलो खरिद गरी ग्राहकलाई बेच्न थालेकी छन्।

गतबर्षदेखि सुरू भएको अरिङ्गालको ब्यापारबाट मनग्य आम्दानीसँगै स्वदेश तथा विदेशमा समेत चर्चा कमाएपछि परिकार चाख्नका लागि आउने ग्राहकलाई लक्षित गरी ब्यवसायलाई निरन्तरता दिएको उनको भनाई छ । ‘काठमाण्डौबाट समेत फोन आउन थालेको छ,‘सिजनको सुरुवात भएकाले माग अनुसार पाउन मुस्किल छ ।अरिङ्गालको परिकार निकै स्वादिलो हुने भएकाले पनि खोजीखोजी आउने गरेको भट्टचनको भनाई छ । दैनिक १० लेखि १५ पिलेटसम्म विक्री हुने गरेको छ ।

होटलमा अरिङ्गालका लागि पोखरा, काठमाण्डौबाट समेत माग हुन थालेपछि ग्रामिण क्षेत्रबाट सम्पर्क गरी ल्याउने गरेको उनले बताईन् । एक प्लेट अरिङ्गालको परिकारलाई रु ५०० मा बिक्री गर्ने गरेको उनको भनाई छ । अरिङ्गालको गोलोलाई निकै जोखिम मोलेर पोल्नुपर्ने भएकाले पनि यूवाहरुले आधुनिक औजार सहित विभिन्न घरेलु उपकरणको प्रयोग गरी अग्ला रुखमा चढेर अरिङगालले गोलो पोल्न गर्दछन् । गतबर्ष काँचो अरिङ्गाल बिक्री गरेकी भट्टचनले यसपटक फ्राई गरेर मात्रै बेच्ने बताईन् ।

गतबर्षदेखि सुरू भएको ब्यवसाय यसपटक सुरुवातमै अत्याधिक माग आएपछि भट्टचनले बेनी नगरपालिका सहित जिल्लाका सबै स्थानीयतहमा अरिङ्गाल पोल्ने टोलीलाई सम्पर्क गरी अर्डर गर्ने प्रयास गरेको बताईन्। माग अनुसार बिक्री गर्न पाएमा मासिक ५ लाखसम्म कमाई हुने उनको भनाई छ । सिजनमा अरिङ्गल पोलेरै ग्रामिण क्षेत्रका यूवाहरुले मनग्य आम्दानी गर्ने गरेका छन् । एउटा घारबाट न्यूनतम ७ हजारदेखि ३० हजारसम्म कमाउने गरेका छन् । घना जंगलमा बास बसेर समेत पोल्ने गरिन्छ ।