(खिमानन्द कँडेल)बागलुङ जिल्ला र म्याग्दी जिल्लाको सिमाना क्षेत्रमा पर्ने संसारकोट क्षेत्र जैविक विविधताले भरिपूर्ण, ऐतिहासिक महत्वको क्षेत्र एवं प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको क्षेत्र हो । बागलुङ नगरपालिका र काँठेखोला गाउँपालिका बागलुङ र बेनी नगरपालिका म्याग्दीको बीचमा पर्ने यस क्षेत्र व्यापक पर्यटकीय संभावना बोकेको क्षेत्र हो ।

नेपाल सरकारले नेपालका उत्कृष्ठ गन्तव्यहरुको सूचीमा समावेश गरेको पञ्चकोट, यस क्षेत्रको प्रमुख आकर्षणको केन्द्र हो । नेपालका प्रशस्त स्थानहरुमा धार्मिक पूर्वाधारहरुको विकासमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका गुरु स्वामी कमल नयन आचार्य ज्यूको विशेष योगदानमा निर्माण भएको हिन्दु धर्माबलम्बीहरुको आस्थाको केन्द्रको रुपमा पञ्चकोटले परिचय बनाउँदै गएको छ ।पाँचवटा कोटहरु ताराजालकोट, कारिकोट, रायरायकोट, माझकोट र संसारकोटको नामबाट यस स्थानको नाम पञ्चकोट रहन गएको हो । यस पैदल यात्राको क्रममा माथि उल्लेखित स्थानहरु पनि भ्रमणका आकर्षणको रुपमा रहेका छन् ।

यस पैदल यात्रा क्षेत्रको सबैभन्दा अग्लो धुरी संसारकोट हो र यसको उचाई झण्डै २६७५ मिटर रहेको छ । यस स्थानमा अहिले पनि पुराना दरबारका अबशेषहरु देख्न सकिन्छ । बनभित्र शंख, घण्ट, ओखल र दाउगरा भन्ने परेड खेल्ने ठाउँ समेत रहको छ । घना जंगलको बीचमा रहेको यस स्थलमा दुर्लभ सल्लो, जुन स्थानीय रुपमा मालिका सल्लो भनेर समेत चिनिन्छ, ले घेरिएको छ । यस नजिकै रहेको मालिका मन्दिरमा हरेक तीजमा मेला लाग्ने गर्दछ । यस स्थानबाट प्रशस्त हिमालहरु, म्याग्दी, पर्वत, बागलुङ, गुल्मी आदि जिल्लाका स्थानहरु समेत देख्न सकिन्छ ।

संसारकोटबाट थप दुई घण्टाको यात्रामा थाप्लेको धुरी, कान्छो धौलागिरी, डोयरी हुँदै बागलुुङ र म्याग्दी जिल्लाको सिमाना क्षेत्रमा रहेको प्रसिद्ध बेलढुंगा क्षेत्रमा पुग्न सकिन्छ । समुद्र सतहबाट झण्डै २६१८ मिटरको उचाईमा बेल जस्तै ढुंगा प्राकृतिक भ्यू टावरको रुपमा व्यापक परिचित छ । यस क्षेत्रमा बागलुङ र म्याग्दी जिल्लाबाट समेत पर्यटकहरु घुम्न आउने गर्दछन् । बेलढुंगाबाट उत्तरतर्फ नजिकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम (जसलाई मुसुङको धुरी समेत नामले चिनिन्छ) रहेको छ । बेलढुंगाको दक्षिणी भागमा विशेष गरी श्रीसहरुको बाहुल्यता रहेको धम्जाको ओखले गाउँ रहेको छ ।

यस पैदल यात्रा बागलुङ नगरपालिका वडा नं ६ अन्तर्गत रहेको पञ्चकोटबाट यही भदौ १४ गते बिहान १०ः३० बजेबाट शुरुवात भई माथि उल्लेखित महत्वपूर्ण पर्यटकीय स्थलहरुको प्रत्यक्ष अवलोकन गर्दै बेलढुंगा धम्जा ओखलेमा गई सम्पन्न हुनेछ ।

यस कार्यक्रमको आयोजना धौलागिरी पर्यटन प्रवद्र्धन समिति (धौलागिरी समाज नेपाल), बागलुङ पर्यटन विकास समिति, होम स्टे बागलुङ जिल्ला समिति, बागलुङ उद्योग बाणिज्य संघ, काँठेखोला गाउँपालिका, बेनी नगरपालिका, पञ्चकोट व्यवस्थापन समिति, पत्रकार महासंघ बागलुङ, लायन्स क्लब अफ बागलुङ कालीगण्डकी एवं अन्य लायन्स क्लबहरु, बेलढुंगा सामुदायिक होम स्टे लगायत संसारकोट क्षेत्र आसपासमा रहेका विभिन्न संघ संस्थाहरुको संयुक्त प्रयासमा हुन लागेको छ ।
यस कार्यक्रमको उद्धेश्य निम्नानुसार रहेको छ ।

(१) व्यापक पर्यटकीय संभावना बोकेको पञ्चकोट, संसारकोट, थाप्लेको धुरी, कान्छो धौलागिरी, बेलढुंगा क्षेत्रको व्यापक प्रचार प्रसार गर्ने ।

(२) यस क्षेत्रमा पर्यटनमैत्री पूर्वाधारहरुको विकासको लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गर्ने ।

(३) संसारकोट क्षेत्रको आसपासका जिल्लाहरुमा पर्यटन प्रवद्र्धनको क्षेत्रमा काम गरिरहेका संघ संस्थाहरुको बीचको सहकार्यमा पर्यटन क्षेत्रको विकासमा सहयोग पुर्याउने ।

(४) यस क्षेत्रमा रहेका होम स्टेहरुको एकीकृत विकासको लागि पहल गर्ने ।

(५) कालिका भगवती मन्दिर, शालिग्राम संग्रहालय (कुँडुले), पञ्चकोट, संसारकोट, बेलढुंगा (स्वर्गाश्रम), झुलेनी, शिवधुरी, रामकोट मन्दिर विहुँ, बागलुङ बजार क्षेत्रलाई धार्मिक पर्यटकीय चक्रपथको रुपमा विकास गर्ने ।

(६) धम्जाको बेलढुंगा देखि ताराखोला दुरलेक, सोलेको धुरी, अंकुटे देउराली हुँदै ढोरपाटनसम्मको व्यापक संभावना बोकेको पैदलमार्गको व्यापक प्रचार प्रसार गर्ने ।

(७) धम्जाको बेलढुंगादेखि झुलेनी, शिवधुरी, भुजुंगे, हरिचौर, घुम्टेको धुरी क्षेत्रलाई पैदल मार्गको रुपमा परिचित गराउने ।

(८) बागलुङ बजार पञ्चकोट, संसारकोट, धम्जा, झुलेनी, बिहुँ, गाजाको दह, रेशको धुरी, भकुण्डे, भैरवस्थान बलेवा देखि कुस्माको क्षेत्रलाई पर्यटकीय पैदलमार्गको रुपमा व्यापक प्रचार प्रसार गर्ने ।

(९) पञ्चकोट, बेलढुंगा धम्जा, झुलेनी, रिजालचोक, थामनेटा, गाजाको दह, बरेङ, शान्तिपुर क्षेत्रलाई समेत संभावित पैदल मार्गको रुपमा विकास गरी बाग्लुङ र गुल्मीलाई पर्यटकीय सञ्जालबाट जोड्न प्रयास गर्ने ।

(१०) ब्यापक संभावना बोकेको ताराखोलालाई पञ्चकोट, बेलढुंगा हुँदै पर्यटकीय पैदलमार्गको सञ्जालबाट जोड्ने ।

(११) कालिका भगवती मन्दिर, शालिग्राम संग्रहालय (कुँडुले), पञ्चकोट, संसारकोट, बेलढुंगा, स्वर्गाश्रम, सिंगा तातोपानी, बेनी गलेश्वर लाई समेत पर्यटकीय पैदल मार्गको रुपमा प्रचार गर्ने ।

(१२) बागलुङ बजार, पञ्चकोट, ज्यामरुकोट, भकुण्डे बेनी पैदल मार्गको व्यापक प्रचार प्रसार गर्ने ।

(१३) देश तथा विदेशमा रहेका संभावित लगानीकर्ताहरुलाई बागलुङ एवं आसपासको क्षेत्रमा पर्यटन क्षेत्रमा लगानीको लागि आव्हान गर्ने ।

(१४) नेपालको पर्यटकीय राजधानीको रुपमा रहेको कास्की पोखराका पर्यटन व्यवसायीहरु, संघ संस्थाहरु एवं गण्डकी प्रदेश सरकारको यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा निरन्तर जोड्नको लागि पहल गर्ने ।

(१५) समग्रमा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष सन् २०२० लाई सफल बनाउन भूमिका निर्वाह गर्ने ।

यही भदौ १४ गते बिहान १०ः३० बजे देखि नेपालकै प्रसिद्ध पर्यटकीय स्थल पञ्चकोटबाट शुरु गर्न लागिएको एकदिने बृहत पैदलयात्रामा हामी सम्पूर्ण पर्यटनप्रेमी संघ संस्थाहरु एवं महानुभावहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।आयोजकको तर्फबाट पञ्चकोटमा बिहानको खाना, यात्राको क्रममा दिउसो खाजा एवं बेलुका काँठेखोला गाउँपालिका ३ धम्जामा बस्ने र खाना खाने व्यवस्था समेत मिलाईएको जानकारी गराउन चाहन्छौं ।

Leave a Reply