विपन्नको उपचारमा मोना बेल्जियमको सहयोग

म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई बेल्जियममा बसोबास गर्ने म्याग्देलीले विभिन्न समयमा गरेको १३ लाख २२ हजार २०९ रुपैयाँसहयोग सार्वजनिक गरिएको छ । जिल्लामा आर्थिक विपन्नताका कारण उपचारमा आर्थिक समस्या झेलेका सर्वसाधारणको उपचारमा आर्थिक सहयोग गदैं आइरहेको कोषको सरक्षक सदस्यता हस्तान्तरण कार्यक्रममा मोना बेल्जियमका महासचिव प्रदिप थापा ‘सुमन’लाई सम्मान समेत गरिएको थियो ।

मोना बेल्जिमयमार्फत ओमकुमारी पुनको उपचारमा १ लाख ७१ हजार ४९१, भुकम्पमा क्षती पुगेका विद्यालयलाई२ लाख २५ हजार, सन्तु पोख्रेल बचाउ अभियानमा ६० हजार ७ १८ र नविन बचाउ अभियानमा १ लाख ६५ हजार सहयोग प्राप्त भएको थियो । त्यस्तै कोषको अक्षय कोषका लागि मोना बेल्जियमबाट ३ लाख, महासचिव थापाले २ लाख र मोना बेल्जियमका पूर्व अध्यक्ष घनबहादुर शाहीले २ लाख सहयोग गदैं ब्यक्तिगत संरक्षक सदस्यता लिएको जानकारी गराइएको थियो ।

एक कार्यक्रम बीच हस्तान्तरण गरिएको छ । ‘गरिबीकै कारण उपचारमा आर्थिक समस्या भएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सकिन्छ भन्ने सन्देश प्रवाह भएको छ,‘विपन्नको उपचारमा थप सहज भएको छ’ प्रमुख अतिथि थापाले भने । उनले कोषमार्फत संस्थाले हालसम्म गरेको सहयोगको जानकारी सहित डमी हस्तान्तरणले पनि थप जिम्मेबारी थपिएको बताए । उनले बेल्जियमबाट कोषले भविस्यमा सञ्चालन गर्ने अभियानमा समेत सहभागी हुने बताए ।

१ करोड ५० लाखको अक्षय कोष स्थापना गरी त्यसबाट नियमित सहयोगले उपचारमा सहज भएको कोषका अध्यक्ष राजेश शाक्यले बताए । उनका अनुसार कोषबाटै ब्याजले विरामीको उपचरामा सहयोग गर्ने बताए । सोही कार्यक्रम अवसरमा बेनी नगरपालिका– ५ भिरमुनीका दुवै मृगौला फेल भएका पीडित डेकनाथ शर्मा र बेनी नगरपालिका– ५ पुलाचौरकी निसा सुवेदीको उपचारका लागि कोषले २५ हजारको दरले उपचारका लागि विरामीका आफन्तलाई सहयोग हस्तान्तरण गरेको थियो ।

बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ । प्रतिब्यक्ति १० हजार देखी ३० लाखसम्म कोषमार्फत उपचारमा सहयोग जुटेको छ । कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ । जिल्लाको एकमात्रै परोपकारी संस्थाको रुपमा समेत आफ्नो पहिचान बनाउन सफल भएको छ ।

गरिव तथा विपन्नबर्गको उपचारका साथै भुकम्प, बाढीपहिरो पिडितलाई समेत आर्थिक जुटाउने गरेको छ ।कोषका अभियानमा जन्मदिन, विवाह, बर्तबन्ध, आफन्तको सम्झना लगाएत विभिन्न कार्यहरूमा समेत सहयोग उपलब्ध हुने गरेको छ । संस्थाको विधानमा आजिवन सदस्यता ५ हजार ५५५, ब्यक्तिगत २ लाख र संस्थागत ३ लाख सहयोग गर्नेलाई संरक्षक घोषणा गर्ने प्रावधान रहेको छ ।