लाम्पाटा–दरबाङ सडक कालोपत्रे योजना सुरू

म्याग्दीको सदरमुकाम बेनीदेखि पश्चिम जोड्ने बेनी–दरवाङ सडकखण्ड अन्तरगत मालिका गाउँपालिकामा पर्ने लाम्पाटा –दरबाङ सडक स्तरोन्नति एवं कालोपत्रे योजना निर्माण सुरू भएको छ । योजनाको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमायाँ विटालुले बिहिबार उद्घाटन गरेका थिए । मध्यपहाडी लोकमार्गको विकल्पको रुपमा हेरिएको सडकखण्डलाई गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक नमुना सडक अन्तर्गत मंगला गाउँपालिका र मालिका गाउँपालिकाको सिमाना दुुखुखोला (लाम्पाटा) देखी दरबाङ्ग सम्म सडक कालोपत्रे योजना निर्माण कार्य सुरु भएको हो ।

विरूवा क्याराभान निर्माण कम्पनीले निर्माण गर्न लागेको योजनाकोे शिलान्यासको अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष रोकाले पश्चिम म्याग्दीसँगै छिमेकी बागलुङ र रूकुम जिल्लाका जनतालाई समेत सहज हुने भएकाले समयमै योजना सम्पन्न गर्न गाउँपालिकाले समेत रचनात्मक सहयोग गर्ने बताए । गाउँपलिका उपाध्यक्ष खरमाँया विटालुले सडक योजना पश्चिम म्याग्दीको लागि कोशेढुंगा सावित हुने बताईन् ।

‘सडककै कारण यहाँका सम्भावनालाई उजागर गर्न पाइएको छैन्,‘कालोपत्रे सडकले यात्रा सहजसँगै लगानी भित्राउन समेत सहज हुन्छ’ उनले भनिन् । मालढुङ्गादेखि बागलुङ हुँदै बुर्तिबाङसम्मको सडकको दूरीभन्दा बेनी–दरबाङ–मुना–ढोरपाटन हुँदै बुर्तिबाङ जोडिने दूरी झन्डै २० किलोमिटरले कम हुने भएकाले मध्यपहाडी लोकमार्गका सवारीसाधन म्याग्दी हुँदै ओहोरदोहोर गर्ने वातावरण सिर्जना गर्न सडकखण्ड अन्तरगत धवलागिरी गाउँपालिका हुदै रुकुम जिल्लाको सिमानासम्म कालोपत्रे सडक बनाउनुपर्नेमा जोड दिइएको थियो ।

कुल २२ करोडको लागत अनुमान गरिएको योजनाको काम सुरु भएको पुर्वाधार विकास कार्यालय म्याग्दीका सिनियर डिभिजन ईन्जीनियर ओमराज ढुङगानाले जानकारी दिए । ६ दशमलव ८ किमी रहेको योजना २४ महिनामा सक्ने सम्झौता भएको छ । बेनीदेखी बाबियाचौर सम्म १६ दशमलव २ किमी सडक समेत कालोपत्रे योजना निर्माण सुरु भएको उनले बताए । एक निर्वाचन क्षेत्र एक नमुना सडक अन्तर्गत निर्वाचन क्षेत्र (क) मा ८ किमि गलेश्वर– पिप्ले –भगवती सडक समेत कालोपत्रे योजना निर्माण सुरु भएको ईन्जीनियर ढुङ्गनाले भनाई छ ।