भकिम्लीको विद्यालयलाई कोरियाबाट सहयोग

बेनी नगरपालिका‐३ भकिम्ली राखुको चन्द्रोदय आधारभुत विद्यालयलाई करिव ५० हजार बराबरको सहयोग गरिएको छ । बेनपा‐४ सिंगा घरभई हाल दक्षिण कोरियामा रहेका डा.बोजिन्द्र प्रसाद तुलाचनले विद्यालयमा अध्ययरत विद्यार्थीको शैक्षिक सुधारमा सहयोग पु¥याउने उदेश्यले पोशाक, शैक्षिक तथा खेलकुद साम्रागी सहित अति गरिब तथा विपन्न ५ विद्यार्थीलाई बर्षभरी आवश्यक पर्ने स्टेशनरी साम्रागी सहयोग गरेका हुन् ।

बिहिबार विद्यालयमा आयोजित कार्यक्रममा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने गरी बालविकास देखि कक्षा ५ सम्म अध्ययरत २१ जना विद्यार्थीलाई सहयोग गरेको विद्यालयका प्रधानध्यापक शान्ता रानाले बताए ।

‘सहयोगले विद्यार्थीलाई सहज भएको छ,‘विपन्नताकै कारण आवश्यक साम्रागी जुटाउन नसक्ने अवस्थाकालाई निरन्तर सहयोगको प्रतिबद्धता प्राप्त भएको छ’ रानाले भनिन् । उनका अनुसार कार्यक्रममा सहयोगदाताको परिचय सहित सहयोग गर्नुको उदेश्यका बारेमा समेत जानकारी गराइएको थियो । स्थानीयको उपस्थितीमा आयोजित कार्यक्रममा वडा सदस्य एवम् शिक्षक अभिभावक संघकी अध्यक्ष मनकुमारी पुनले सहयोगले शैक्षिक गतिविधिलाई सहज भएको बताएका थिए ।

स्वास्थ्य चौकीकी अनमी तारा बुढाथोकीको स्वागत, प्रअ रानाको सञ्चालन र ब्यवस्थापन समितिका अध्यक्ष पवित्रा बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो । सोही अवसरमा विद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै ५ लाखको अक्षय कोष स्थापनाको योजना रहेको जानकारी गराइएको थियो । सहयोगदातालाई धन्यवाद सहित सम्मानपत्रले सम्मान गर्ने विद्यालयले जनाएको छ।