गण्डकीका ८२ प्रतिशत हिन्दुले जनैपूर्णिमाको छुट्टी पाएनन

धर्मको आधारमा हेर्दा गण्डकीमा ८२ प्रतिशत जनसंख्या हिन्दु धर्मावलम्वी छन् । २०६८ को जनगणनाले त्यही भन्छ । त्यसपछि बौद्ध र क्रिश्चियन छन् । २०६८ को जनगणना अनुसार गण्डकी प्रदेशमा हिन्दु धर्म मान्ने जनसंख्या कुल जनसंख्याको ८२.९० प्रतिशत रहेका छन् । अर्थात कुल २४ लाख जनसंख्यामा गण्डकीका १९ लाख ९२ हजार जनाले हिन्दु धर्म मान्ने गरेका छन् । यस्तै, प्रदेशमा १३.६८ प्रतिशत बौद्ध धर्मावलम्वी छन भने तेश्रोमा क्रिश्चियन धर्म मान्नेको संख्या १.५६ प्रतिशत रहेको छ ।

तर, गतसाल तमु ल्होसारबाट बिदाको सुरुवात गरेको गण्डकी सरकारले यसपटक पनि जनैपूर्णिमामा बिदा दिएन । गण्डकी सरकारले पहिलोपटक गतसाल तमु ल्होसारमा बिदा दिएको थियो । मन्त्रिपरिषदले निर्णय नगर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गृहजिल्ला लमजुङको एक कार्यक्रममा पुगेर बिदा दिने उद्घोष गरेका थिए । तर, जनैपूर्णिमामा भने गतसाल पनि बिदा दिईएको थिएन ।

प्रदेशले बिदा नदिएतापनि गण्डकीमा स्थानीय तहहरु आफैले बिदाको घोषणा गरेका छन् । स्थानीय तहले बिदा दिन पाउँदैनन् । संघको हकमा गृहमन्त्रालयले वार्षिक बिदा तय गर्दछ भने प्रदेश सरकारलाई भने संघका कार्यालय समेत बन्द रहने गरि ६ दिनसम्म बिदा दिन पाउने अधिकार दिईएको छ । यसअघि प्रदेशको बिदा संघले नमान्ने अवस्था रहँदा अब भने स्थानीय तहको बिदा संघ र प्रदेशले नमान्ने भएका छन् ।

पर्वतका सातैवटा स्थानीय तहले बिहिबार जनैपूर्णिमाको लागि बिदा दिने घोषणा गरेका छन् । बाग्लुङमा पनि जैमिनि नगरपालिका र बाग्लुङ नगरपालिकाले बिदा दिएको छ ।तर, स्थानीय तहले बिदा दिएतापनि प्रदेश तथा संघ मातहतका कार्यालय भने खुलै रहने जनाईएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका प्रवक्ता झलकराम सुवेदीका अनुसार प्रदेश सरकारले बिदा नदिएको हुँदा प्रदेश कार्यालय खुलै रहनेछन् । प्रदेश सरकारका खानेपानी, सिँचाई, सडक, कृषि लगायतका कार्यालयहरु विभिन्न जिल्लामा छन् । ती कार्यालय भने बिदा हुने छैनन् ।

यस्तै, संघ मातहतका जिल्ला प्रशासन, मालपोत लगायतका कार्यालयमा पनि बिदा नहुने भएको छ । पर्वतका सातैवटा स्थानीय तहमा बिदा भएतापनि जिल्ला प्रशासन कार्यालय भने बन्द नहुने प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिईन् ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ गण्डकी प्रदेशले बनाएको स्थानीय तहको सभा सञ्चालन सम्बन्धि ऐनमा स्थानीय तहको बिदाको बारेमा कुनै व्यवस्था छैन् । स्थानीय तहले बिदा दिन पाउने कहिँकतै उल्लेख पनि छैन् ।

तर, स्थानीय सरकार आफैले आफ्नो क्षेत्रमा बिदा दिन पाउने विहादी गाउँपालिकाका कार्यकारी अधिकृत ऋषिराम पन्थीले जानकारी दिए ।“स्थानीय सरकारले आफ्नो क्षेत्रमा बिदा दिन पाउँछ भन्ने लजिक लगाएका हौँ” उनले भने ।यस्तै, प्रदेश राजधानी भित्रको पोखरा महानगरले पनि सार्वजनिक बिदा दिएको छैन् ।

यसअघि प्रदेश सरकारको बिदाको बारेमा पनि अन्योल भएपछि प्रधानमन्त्रीको अध्यक्षतामा सञ्चालन हुने अन्तर प्रदेश परिषदको बैठकले प्रदेश सरकारलाई ६ दिनसम्म बिदा दिन पाउने अधिकार र उक्त बिदा संघका कार्यालयले समेत मान्ने सहमति भएको थियो ।प्रदेश सरकारलाई आफ्नो प्रदेशका महत्वपूर्ण धार्मिक, जातीय र सांस्कृतिक उत्सव र पर्वमा आवश्यकता हेरि बढिमा ६ दिनसम्म बिदा दिन पाउने अधिकार छ ।

तर, गण्डकी प्रदेश सरकारले भने हिन्दुबाहुल्य गण्डकी प्रदेशमा भने जनैपूर्णिमामा बिदा दिएको छैन् । बिदा नदिएकोप्रति सामाजिक सञ्जालमा गण्डकी सरकारप्रति तीव्र असन्तुष्टि पोखिएका छन् । गण्डकी सरकारले जनगुनासो सुन्न सञ्चालन गरेको कार्यक्रम हेलो सिएममा फोनमार्फत बिदा माग गरिएको छ ।मुख्मयन्त्री पृथ्वीसुब्बा गुरुङले शुभकामना जारी गर्दै “जातजाति तथा समुदाय बिच आपसी सद्भाव प्रगाढ बनाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपले समृद्ध प्रदेश निर्माण गर्ने प्रेरणा प्रदान गर्ने विश्वास” लिएको जनाएका छन् । www.dhorpatannews.com