थाईवाङका योगेन्द्र भट्टचनलाई फापेको बाख्रापालन (भिडियो)

दैनिकजसो थाईवाङको जंगलमा भेटिन्छन् योगेन्द्र भट्टचन । हातमा एउटा लौरो अनि अगाडी–पछाडी बाख्रा । मंगला गाउँपालिका–१ कुहुँ थाईवाङमा केहीबर्ष यता ब्यवसायीक रुपमा सुरू गरेको बाख्रापालनमा उनी रमाइरहेका छन् । गाउँघर नजिकै रहेको सामुदायिक बनमा दिनभरी बाख्रा चराउन जाने गरेका भट्टचनले मनग्य कमाइ हुन्छ भन्ने सपना बोकेर यूएई, मलेसिया र साउदी अरवमा समेत पुगे ।

तीनवटै देशमा काम अनुसारको दाम नपाएपछि गाउँ फर्किए । तीनवटा देश फन्को लगाउँदा भट्टचन सन्तुष्ट नभएपछि बुबा रनप्रसादको सामान्य बाख्रापालनलाई ब्यवसायीक बनाउने योजना बुने । विदेशबाट फर्किएको छोराको प्रस्तावले रनप्रसाद फुरुङ भएर समर्थन जनाए । २५ वटा बाख्राबाट सुरू गरेका भट्टचनले १ सय २५ वटासम्म बाख्रा बनाएर विक्री गर्न थालेका छन्।‘विदेशमा मैले दुख मात्रै पाए,‘बाख्रापालनबाट सन्तुष्ट छु’ भट्टचनले भने । गतबर्ष करिव २ लाखको विक्री गरेका उनले यसबर्ष बाख्रापालनलाई विस्तार गरेको बताए ।

उनले विदेशमा अर्काको दवावमा काम गर्दा मासिक कमाउने तलबलाई दुईवटा बोका विक्री गरे गाउँमै कमाई हुने बताए।‘घरआगनमै हुने कमाई थोरै भएपनि आनन्द हुन्छ,‘मैले थप ब्यवस्थित बनाउने प्रयासमा छु’ भट्टचनले भने । विदेशबाट फर्किएपछि पासर्पोटलाई थन्काएर बाख्रापालन सुरू गरेपछि पासर्पोेटमा नजर नै नपरेको उनको भनाई छ । ‘बाख्रापालनलाई ब्यवस्थित बनाउन सकेमा गाउँमै कमाई हुन्छ,‘केहीबर्षभित्र मैले दोब्बर बनाउने योजना छ’ उनले भने । विदेश यात्राको क्रममा साउदी अरबमा भेडापालनमा काम गरेको बताउँदै भट्टचनले त्यहाँको चरन क्षेत्रमा घाँसको अभाव हुने गरेको बताए ।

उनले थाईवाङ आसपासका क्षेत्रबाट मरभुमी सम्झिदाँ सपना जस्तै लाग्ने गरेको बताए । गाउँघरमा सम्भावना भएका ठाउँहरुलाई समेत यूवाहरुले नदेखेर विदेशिएका यूवाहरुलाई गाउँमै रोक्न सकिने बताए । उनले अनुदानभन्दा आफ्नै परिश्रममा विश्वास गर्ने बताए । उनले स्थानीय जातका बाख्राको मुल्य कम भएपनि चरन क्षेत्रमा लैजान मिल्ने भएकाले उन्नतजातका बाख्रालाई खोर ब्यवस्थापन गरी पालन गर्ने बताए ।

विदेशमा बसेर काम गर्नुभन्दा आफ्नै देशमा सजिलो र परिवारसँगै सुखदुःख साटासाट गररे काम गर्दा मन पनि निकै आनन्द भएको भट्टचनको भनाई छ । उनले आफुँलाई विदेशको कमाई भन्दा बाख्रापालन फापेको बताए । यता स्थानीय यूवा बलिभद्र गौतमले भट्टचनले निरन्तर गरिरहेको बाख्रापालनबाट गाउँका यूवाहरु समेत आर्कषित भएको बताए । उनले बाख्रापालनका लागि धेरै सिक्न सकिने बताए । मंगला गाउँपालिकाले कृषि र पशुपालनलाई प्राथमिकता दिएको छ । गाउँपालिकाले कृषि र पशुपालनलाई सहज हुने गरी विभिन्न कार्यक्रम समेत ल्याएको छ ।