टेलिकम म्याग्दीद्वारा एक वर्षमा डेढ करोड राजश्व सङ्कलन

नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दीले गएको एक वर्षको अवधिमा झण्डै डेढ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ। गत आर्थिक वर्षमा टेलिकम म्याग्दीले एक करोड ३९ लाख ६३ हजार दुईसय ६४ रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।
कार्यालयले दिएको तथ्याङ्क अनुसार सबैभन्दा धेरै ल्याण्डलाइन (पिएसटिएन)तर्फ पोस्टपेड ६२ ओटा नयाँ जडान गरी त्यसबाट मात्रै ६४ लाख ८३ हजार एकसय ७१ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

यसैगरी ९५ ओटा नयाँ एडिएसएलबाट २५ लाख ४८ हजार १६ रुपैयाँ राजश्व सङ्कलन भएको छ भने जिएसएम पोस्टपेडतर्फ १ सय ९६ जना ग्राहक थप गरेर २४ लाख ४७ हजार ९३ रुपैयाँ राजश्व सङ्कलन गरिएको छ ।

त्यस्तै प्रिपेड लिजलाइनतर्फ ५ वटा नयाँ जडान गरिएको र त्यसबाट १३ लाख ६२ हजार तीनसय ७३ रुपैयाँ राजश्व सङ्कलन भएको टेलिकम म्याग्दीका सूचना अधिकारी वसन्त पुरीले बताउनुभयो । पोस्टपेड लिजलाइनतर्फ १३ ओटा नयाँ जडान गरिएकोमा १३ लाख ५५ हजार एकसय २३ रुपैयाँ राजश्व सङ्कलन गरिएको छ भने गत वर्षमा नै वाईम्याक्स सेवातर्फ ८ ओटा नयाँ जडान गरिएकोमा छ लाख ४९ हजार आठसय ४८ रुपैयाँ राजश्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

जिएसएम प्रिपेडतर्फ १ हजार ६५ ओटा नयाँ सिम वितरण गरी त्यसबाट दुईलाख २९ हजार तीनसय, सिडिएमए पोस्टपेडबाट एकलाख ५५ हजार तीनसय १६ रुपैयाँ राजश्व सङ्कलन भएको टेलिकमका सूचना अधिकारी पुरीले बताउनुभयो। उहाँले दिएको जानकारी अनुसार पिएसटिएन प्रिपेडबाट ८२ हजार तीनसय ९६ र सिडिएमए प्रिपेडबाट पाँचहजार ५० रुपैयाँ आम्दानी प्राप्त भएको छ । यसैबीच टेलिकम म्याग्दीले गएको वर्ष फागुनदेखि असार मसान्तसम्ममा २४ जना ग्राहकहरुबाट कुल एकलाख १७ हजार आठसय ९६ रुपैयाँ बाँकी बक्यौता असु्लउपर गरेको सूचना अधिकारी पुरीको भनाइ छ ।

पुरानो बक्यौता उठाउनका लागि टेलिकमले पटकपटक सूचना प्रकाशित गरेर जोड दिएको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले बताउनुभयो । बक्यौता नतिर्ने ग्राहकहरुको सूचना निकालेर तीनपुस्ते विवरणसहित सार्वजनिक गरिने उहाँले जानकारी दिनुभएको छ । सबै नागरिकहरुलाई सञ्चार सञ्जालसँग जोड्ने उद्देश्यसहित टेलिकम म्याग्दीले जिल्लाका विभिन्न ठाउँमा मोबाइलको बिटिएस टावर स्थापना गरी सेवा दिइरहेको छ ।

बेनी नगरपालिकाको क्याम्पसचोक, टेलिकमको आफ्नै कार्यालय, गलेश्वर, पुलाचौर, ज्यामरुककोट, मंगला गाउँपालिकाको अर्मन, बराङ्जाको झाँक्रीपानी, आल्डाँडा, बाबियाचौर र टोड्केमा टावर राखिएको छ ।मालिकाको विम, दरबाङ, ओखरबोट र रुम, रघुगंगाको बेगखोला, पाखापानी तथा राखुभगवतीमा टावर रहेको कार्यालय प्रमुख शाहले बताउनुभयो।

अन्नपूर्ण गाउँपालिकाको दाना, पर्यटकीय क्षेत्र घोरेपानी, हिस्तानको टिकोट, नांगी, खिबाङ, पोखरेबगर र दोवा, धौलागिरीको गूर्जा, मुदी तथा ताकममा टावर जडान गरिएको छ । यी टावरहरुमध्ये दाना, खिबाङ, पुलाचौर, विम र रुममा सिडिएमए तथा पुलाचौर, रुम, खिबाङमा इन्टरनेट सेवा उपलब्ध गराउनका लागि वाईम्याक्स जडान गरिएको छ । विद्युतीकरण भएको ठाउँमा थ्रीजी र नभएकोमा टुजीको इन्टरनेट सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।