नेपाली वैज्ञानिक कुँवरले अर्को चमत्कार ! भौतिक विज्ञानको अर्को जटिल समस्या सुल्झाए

दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरणको प्रयोगबाट पिन्डको चालमा हुने सबै खाले उतारचढावको सही मापन गर्न सकिने भएको छ । काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्समा गरिएको पछिल्लो परीक्षणबाट ती भौतिक शास्त्रीय परिमाणले सूक्ष्मदेखि स्थूल तहका सबै समयखन्डहरुमा एक्युरेट रिजल्ट दिन सक्ने थाह हुन गएको हो । यसबाट भौतिकीमा वर्षौँदेखि समाधान हुन नसकेर रहेको जटिल समस्या समाधान भएको छ ।

भौतिक विज्ञानमा समयको सबैभन्दा सानो मानिने प्लाङ्क समय एकाइदेखि योट्टा सेकेन्ड वा सोभन्दा ठूला तहमा हुने परिवर्तनलाई समेत पहिल्याउन सुव्रत समीकरणहरु सक्षम भएको देखिएको हो । हालसम्मका वैज्ञानिक अध्ययनले बढ्दो गतिमा भएका त्यति साना परिवर्तनहरुको वास्तविक मापन गर्न सकेको थिएन । आजसम्मका कुनै पनि वैज्ञानिक अनुसन्धानबाट भौतिकीले यति धेरै मसिना परिवर्तनहरुको वास्तविक मापन गर्ने बलियो आधार प्राप्त गर्न भ्याएको थिएन, विगत दुई दशकदेखि निरन्तर अनुसन्धान गरिरहेका वैज्ञानिक भविन्द्र कुँवरले भने ।

कुँवरका अनुसार दुर्यान्तर र प्रदुर्यान्तरको अन्तर्निहित भूमिकाका कारण सबै तहमा हुने परिवर्तनको मापन गर्न सुव्रत समीकरणहरु सक्षम भएका हुन् । ती समीकरणहरुले पिन्डका अत्यन्तै साना खन्डका गतिविधि र परिवर्तनलाई सही रुपमा मापन सक्छन् कि सक्दैनन् भन्ने कुराको खोजी गर्दै जाँदा सो तथ्यबारे थाह हुन गएको हो, कुँवरले पछिल्लो अनुसन्धानको पृष्ठभूमिबारे स्पष्ट पार्दै भने गरे ।

एकनासले बढ्दो गतिमा रहेको वस्तुले पार गरेको वास्तविक दुरीलाई सोही वस्तुकै गति वा वेगका आधारमा सही मापन गर्न सक्ने सूत्रहरु यसअघि नबनको खोजकर्ता कुँवरले बताए । बढ्दो वा घट्दो गतिमा रहेको पिन्डले पार गरेको दुरीका आधारमा सूक्ष्म परिवर्तन थाह पाउने वास्तविक उपाय फेला पार्न सकिएको थिएन, कुँवरले भने, योट्टा सेकेन्डमा र सबैभन्दा सानो मानिने प्लाङ्क समय एकाइमात्र नभई तीभन्दा ठूला वा साना खन्डमा हुने परिवर्तनको अध्ययन गर्न पहिलेका सूत्रहरु सक्षम थिएनन् ।

भौतिक विज्ञानमा सानोदेखि ठूलो समयान्तरालका चालसम्बन्धी समस्याका लागि सुवात समीकरणहरुको प्रयोग गरिँदै आएको देखिन्छ भने डिफ्रेन्सियल क्याल्कुलस र इन्टिग्रल क्याल्कुलसको प्रयोगबाट समेत त्यस्ता प्रयासहरु गरिएको देखिन्छ । तर सही समाधान निकाल्न नसकेका कारण ती सबै प्रयासहरु पाठ्यक्रममा रहे पनि अन्ततः प्रयासकै रुपमा प्रचलनमा आएको कुँवर बताउँछन् । कुँवरका पछिल्ला कार्यहरुले यस्ता अपूर्णताहरुलाई पूर्णता प्रदान गरेको देखिन्छ । यस तथ्यलाई परीक्षण समेटिएको चित्र १ देखाइएको छ ।

कुँवरका भेट्टाइ (डिस्कभरी) हरु केके हुन् ?
विगत दुई दशकदेखि सक्रिय रुपले अनुसन्धान कार्यमा लागेका कुँवरले भौतिकीका क्षेत्रमा खोज गर्दै आएका छन् । कुँवरले ०५५ सालमा पिन्डको बढ्दो गतिसँग सम्बन्धित यन्त्रसम्बन्धी वैचारिक परीक्षण गरेपछि ०६० तिर यन्त्र निर्माणमा र ६५ देखि यता पुस्तक र अनुसन्धानपत्र प्रकाशन तथा विभिन्न प्रवचन कार्यक्रमहरुमा समय लगाएको देखिन्छ । भौतिक शास्त्र पुनर्निर्माण अभियानका केन्द्रीय अध्यक्षसमेत कुँवरका हालसम्म ७ वटा पुस्तक र २ दर्जनबढी अनुसन्धानपत्र प्रकाशित छन् । यस क्रममा उनले आर्किमिडिज, ग्यालिलियो, न्युटन, आइन्सटाइन आदि वैज्ञानिकका कार्यहरुसँग सम्बन्धित महत्त्वपूर्ण अनुसन्धानहरु सम्पन्न गरिसकेका छन् ।

कुँवरका महत्त्वपूर्ण खोजहरुमध्ये दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरणहरु पनि पर्दछन् । कुँवर हाल त्रि.वि.को पाठ्यक्रमसहितको विद्यावारिधि तह तेस्रो सेमेष्टरमा अध्ययनरत छन् ।कुँवरको पछिल्लो खोज दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरणहरुले पिन्डका सानाभन्दा साना समयान्तरादेखि ठूला समयान्तरालमा देखिने गतिविधिहरुलाई सही ढङ्गले मापन गर्ने विषयसँग सम्बन्धित छ । पछिल्लो खोजबाट दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरणहरु सबै समयान्तरालमा सानो इरर पनि नआउने गरी परिणाम निकाल्न सक्षम भएको पुष्टि भएको हो ।

एकनासले बढ्दो गतिको कुनै यान कुनै दिशातिर गइरहेको छ भने उक्त यानले कति समयमा कति दुरी पार गर्छ भन्ने समस्याको समाधान निकाल्न कुनै पनि भौतिक शास्त्रीय सूत्रहरु सक्षम थिएनन् । यही समस्यामा केन्द्रित हुँदै कुँवरको खोज अघि बढेको हो । उक्त खोजबारे सजिलोसँग बुझाउन भौतिक शास्त्र पुनर्निर्माण अभियानले युटुब भिडियोसमेत अपलोड गरेको छ । उक्त भिडियो नेपाली र अङ्ग्रेजी भाषामा छ ।

अपलोड गरेको भिडियोमा एउटा वस्तु एक मिनेटमा १८३० मिटर पर पुगिसक्दा परम्परित सूत्रहरुका आधारमा जम्मा १८०० मिटर पर पुगेको हिसाब निक्लिएको देखिन्छ । त्यस्तै अर्को वस्तु १० मिटर पर पुग्दा परम्परित सुवात समीकरणहरुले जम्मा ८ मिटर पर पुगेको नतिजा दिने देखिन्छ । मापन गरेर हेर्दा भने वस्तु १० मिटर नै पर पुगेको पाउन सकिने तर सुवात समीकरण र तीसँग सम्बन्धित नियमहरुले ८ मिटर पर पुगेको नतिजा दिने गरेको तथ्य भिडियोमा छ ।

यसबारे थप स्पष्ट बुझ्न चित्र १ मा हेर्न सकिन्छ । उक्त चित्रमा भने अलिक ठूलो अन्तरलाई उदाहरण बनाइएको छ । चित्र १ मा स्थिर अवस्थामा रहेको कुनै साधन पहिलो १ घन्टामा १० किलोमिटर प्रतिघन्टा, दोस्रो १ घन्टामा २० किलोमिटर प्रतिघन्टा, तेस्रो १ घन्टामा ३० किलोमिटर प्रतिघन्टा र चौँथो १ घन्टामा ४० किलोमिटर प्रतिघन्टाका दरले हिँडेको छ । यसरी जम्मा ४ घन्टामा उक्त साधनले कदेखि ङसम्मको दुरी पार गरेको हुन्छ, जुन १०० किलोमिटर रहेको छ ।

तर परम्परित सुवात समीकरणहरुका आधारमा हिसाब गरी हेर्दा उक्त साधनले जम्मा ८० किलोमिटर दुरी पार गरेको नतिजा फेला पर्दछ । भौतिक विज्ञानको यही समस्यामा कुँवरको खोजले समाधान निकालेको हो । चित्र १ मा कुँवरले पत्ता लगाएका सुव्रत समीकरणहरुले भने मापन गर्दा पाउन सकिने नतिजा नै दिएका छन् । नेपालमा मात्र होइन विश्वका अन्य विश्वविद्यालयहरुमा पनि तिनै गलत सूत्रहरुको पठनपाठन गराइन्छ ।

विश्वप्रसिद्ध जर्नलहरुले पनि यस्तै निष्कर्ष दिने अनुसन्धानपत्रहरु स्वीकृत र प्रकाशन गर्दै आएका छन्, कुँवरले चिन्ता व्यक्त गर्दै भने ।विश्वभरिका विद्यार्थीहरु यही पढ्नका लागि आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण समय लगाइरहेका छन् भने राज्य र अभिभावकहरुका लगानीहरु पनि यस्तै कुरामा खर्च भएका छन् । यस्तो समस्यामा सरोकारवाला निकायहरुले समयमै ध्यान दिनुपर्ने कुँवर बताउँछन् ।

खोजकर्ता कुँवरले भने, पढ्ने र पढाउनेहरुलेमात्र होइन अनुसन्धान गर्ने र गराउने संस्थाहरुले पनि यसैलाई आधार मानिरहेको देखिन्छ । आधार नै गलत छ भने त्यसमा आधारित अनुसन्धानपत्रहरुले दिने निष्कर्ष कस्तो होला ? कुँवरले गम्भिर सवाल उठाए । भौतिक शास्त्र पुनर्निर्माण अभियानले अपलोड गरेको उक्त भिडियोबाट भौतिकीको विकराल र चिन्ताजनक स्थितिलाई खुलासा गरिएको छ ।

सानाभन्दा साना एक्युरेसी खोज्ने समयमा यसरी पूर्णतः गलत नतिजा दिने समीकरणहरुको अध्ययनअध्यापन केका लागि गराइएको हो, कुँवरले प्रश्न गर्दै भने । नेपाल सरकारले तत्काल पाठ्यक्रम सच्चाउनुको विकल्प छैन, उनले थपे ।कुँवरको भनाइअनुसार गल्ती यतिमात्र होइन, सोहीअनुसार अन्तिम गति, सुरुको गति र समयका सम्बन्धहरु व्यक्त गर्ने समीकरणको समेत अध्ययनअध्यापन गराइँदै आइएको छ । अझ प्रवेगजस्तो अस्तित्वविहीन परिमाणको अध्ययनमा ठूलो धनराशि खर्च हुँदै आएको देखिन्छ ।

पछिल्लो समयमा कुँवरले काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्समा सूक्ष्मदेखि स्थूल समयान्तरालका सबै सन्दर्भमा परीक्षण गरेका हुन् । उनले एक सेकन्डको ५.३९÷१०४४ खन्डमा हुन जाने प्लाङ्क सयम एकाइजस्तो अति सूक्ष्म समयखन्डमा हुन जाने परिवर्तनको समेत अध्ययन गरेका छन् । आजसम्मको भौतिक विज्ञानले प्रदुर्यान्तरित वस्तुले प्लाङ्क सयम एकाइमा हुने परिवर्तनको मान पहिल्याउन सकेको थिएन ।कुँवरले पत्ता लगाएको दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरणको प्रयोगबाट भने प्लाङ्क समय एकाइभन्दा पनि कैयौँ गुणना साना खन्डमा हुने परिवर्तन र गतिको अध्ययन गर्न सकिने देखिएको हो ।

यसबाट गतिका सन्दर्भमा भौतिक विज्ञान निकै सूक्ष्म समयान्तराल देखि स्थूल समयान्तराल सम्मको अध्ययन गर्न सक्षम भएको हो । अब नेपाल सरकारले पहल गरेमा विदेशी अनुसन्धानकर्ताहरुलाई भौतिक विज्ञानबारे नयाँ कुरा सिकाउन सकिन्छ । हामीहरुले सधैँ उताका खोजहरु आँखा चिम्लेर अनुसरण गर्नुपर्छ भन्ने मानसिकता राख्नुहुँदैन, हामीहरुले पनि नयाँ खोजबारे जानकारी दिन दिन सकिन्छ, वैज्ञानिक कुँवरले सरकारको ध्यानाकर्षण गराउँदै भने ।

परीक्षणका क्रममा केकस्ता चरणहरु पार गरिएको थियो ?
वि.सं. ६० तिर कुँवरले बागलुङ् जिल्लाको ग्यालेक्सी इन्जिनियरिङ् वर्कसपमा एउटा मेशिन निर्माण गर्न लाग्दा लगानी बलका कारण पार हुन जाने दुरी मापन गर्नुपर्ने भयो । उनले कक्षा ९ को विज्ञानमा पढेका सुवात समीकरणमा भएको दुरीसम्बन्धी सूत्रका आधारमा उक्त लम्बाइ निकाल्न खोजे तर प्रशस्त अन्योलताहरु देखा परे । तर त्यतिबेला ती सूत्रमाथि प्रश्न उठाउने क्षमता भएन र आफूले उक्त सूत्रको प्रयोग गर्न नजानेको निष्कर्षमा कुँवर पुगे ।

स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि कुँवरले आर्किमिडिजको सिद्धान्तभन्दा भिन्न प्रकारको सामथ्र्यको सिद्धान्त विभिन्न कलेजका प्रयोगशालामा प्रमाणित गरी पुस्तकका रुपमा प्रकाशन गरे । यस सफलताले कुँवरको मनमा कतै सुवात समीकरणहरुमा पनि समस्या त छैन भन्ने प्रश्न उब्जाउन भूमिका खेल्यो । यसपछि उनले भौतिक विज्ञानसँग सम्बन्धित थप ४ वटा पुस्तकहरु प्रकाशन गरे ।

ती पुस्तकहरुमा सुवात समीकरणहरुमा समस्या भएको भनी उल्लेख गरिएको थियो । ती पुस्तकहरुको प्रकाशनपछि उनले विभिन्न कलेज र विश्वविद्यालयहरुमा परीक्षण प्रदर्शन गर्ने र प्रवचन दिने कार्य गर्दै गए । ती सबै परीक्षणबाट सुवात समीकरणहरुमा समस्या भएको स्पष्ट भयो । यसले नयाँ परिमाणहरुको अस्तित्व हुनुपर्छ भन्नेमा थप बल प्रदान गर्यो । यही विषयलाई समाधान गर्दा दुर्यान्तर, प्रदुर्यान्तर र सुव्रत समीकरणहरु पत्ता लाग्न गए, र परीक्षणबाट समेत पुष्टि हुँदै गए ।

कुँवरले विज्ञानका नयाँ खोजहरु कसरी प्रमाणित गर्ने गर्छन् ?

कुनै पनि साध्य वा सिद्धान्त प्रमाणित गर्न विद्यालयमा सानैदेखि सिकाइएको हुन्छ । यस क्रममा तथ्य र कारणहरु दिएर समस्या समाधान गर्ने अथवा साध्य र भनाइहरु प्रमाणित गर्ने अभ्यास गराइन्छ । कुँवरले पनि अनुसन्धानका लागि यिनै गणितीय स्वयंसिद्ध तथ्य, स्वीकृति र विधिलाई आधार बनाएको देखिन्छ । तथ्य पहिलिन सकेमा परीक्षण प्रक्रिया त्यति धेरै समस्याको विषय हुँदैन, कुँवर बताउँछन् ।

मलाई लाग्छ, हामीले निम्न माध्यमिक तहको अध्ययन पनि राम्रोसँग गर्न सक्यौँ भने धेरै कुरा सिक्छौँ तर राम्रोसँग भन्ने शर्त पूरा नहुँदा समस्या हुन्छ, कुँवरले आफ्नो अनुभव सुनाउँदै भने । त्यो तहमा हरेकलाई प्रमाणित साध्यहरु फेरि प्रमाणित गर्न सिकाउनुको उद्देश्य भविष्यमा नयाँ समस्याहरुको समाधान निकाल्न र नयाँ भनाइहरु प्रमाणित गर्ने तरिका सिकाउनु पनि हो । हामीले गणितको अध्ययन गर्दा पुस्तकहरुमा दिएका हिसाबहरुभन्दा पनि बढी दिएका हिसाबका माध्यमबाट नदिएका हिसाब गर्ने तरिका सिक्ने हो, कुँवरले थपे ।

खोजकर्ता कुँवरले ‘प्रमाणित गर्नु’ ‘साबित गर्नु’, ‘सिद्ध गर्नु’, ‘पुष्टि गर्नु’ जस्ता शब्दावलीसँग सम्बन्धित विविध भ्रमहरुलाई चिर्दै कुँवरले भने, सानासाना कक्षामा गणितमा गरेका अभ्यासहरुलाई बिर्सेर हामीहरुले कहिलेकाहिँ प्रमाणित गर्ने काम त कुनै विश्वचर्चित संस्थाको हो भनी प्रमाणित तथ्यलाई विषयान्तर गरिदिन्छौँ । यो सरासर गलत धारणा हो किनकि

अनुसन्धानमा प्रमाणको अधिकारी व्यक्ति वा संस्थाहरु हुँदैनन्, तथ्य र कारणबाट सिद्धान्तहरु प्रमाणित गरिन्छ । हाम्रा भाषा र सुविधा अलग भए पनि सबैले प्रमाणित गर्ने प्रक्रिया र आधारहरु एउटै हुन्छन् । त्यसैले यो देश र त्यो देश वा यो भाषा र त्यो भाषा जस्ता मनाशयलाई हटाउनुपर्छ, कुँवरले भाषा र देशसम्बन्धी भ्रमलाई पनि चिर्दै भने ।

भौतिक शास्त्रमा छुटेको उक्त विषयका पछि केही सम्भाव्य कारणहरु भएको कुँवर बताउँछन् । त्यस समयमा एसएटिएम जस्तो उपकरण बनाएर परीक्षण नगरिनु र पछिल्ला वैज्ञानिकहरुले समेत उही गल्तीलाई सरासर अनुकरण गर्नुले समस्या बढ्दै गएको धारणा कुँवरको रहेको छ । कुनै कोठामा बसेर गोप्य परीक्षण गरेर संस्था प्रभावको आधारमा सूचना प्रवाह गर्ने प्रवृत्तिको विरोध गर्नुपर्ने धारणा कुँवरको छ । यस्ता प्रवृत्तिहरुका विरुद्धमा भौतिक शास्त्र पुनर्निर्माण अभियानले विभिन्न जिल्लाका दर्जनौँ शिक्षण संस्थाहरुमा खुल्ला परीक्षणहरु प्रदर्शन गर्दै आएको कुँवर बताउँछन् ।

कुँवरको यस खोजबाट भएको कार्यको वास्तविक मापन पहिल्याउन सकिने, ऊर्जा उत्पादन, ब्रहमान्डको यथार्थ र क्रियाबारे अध्ययन गर्न सकिने र सूक्ष्म भौतिकीमा समेत उत्तिकै उपयोगी हुने देखिन्छ । कतिपय पाठकहरुले यस खालको अनुमान गर्दै प्रतिक्रिया लेखेका छन् । उनीहरुले नयाँ सिद्धान्तलाई विश्वव्यापीकरण गर्न नेपाली सन्चारमाध्यमहरुले थप सक्रियता देखाउनुपर्ने सुझावसमेत दिएका छन् ।

प्रमाणित विषयलाई स्वीकृति दिने निकाय कुन हो ?
सिद्धान्त स्थापनासम्बन्धी इतिहासलाई हेर्दा गणितीय अङ्क र शून्यसम्बन्धी पहिल्याइहरु पहिले ब्रह्म गुप्ताले पुस्तकमा लेखेको र अरब हुँदै धेरै पछिमात्र युरोप पुगेको देखिन्छ । बौद्धायन, पाइथागोरस, आर्किमिडिज, अलहाजन, ग्यालिलियो, कोपर्निकस, सिमन आदिले गरेका कामहरु उनीहरुकै क्षेत्रमा पहिले स्थापित भएपछि विश्वव्यापी भएको देखिन्छ । त्यस्तै, न्युटनको पुस्तक उनको साथी ‘हली’ले प्रकाशन गरेको देखिन्छ, जुन पुस्तकलाई भौतिक शास्त्रको इतिहासमा सबैभन्दा ठूलो घटना मानिन्छ । सानो क्षेत्रबाट ठूलो क्षेत्रतिर वा वा ठूलो क्षेत्रबाट सानो क्षेत्रतिर, दुवै, तरिकाबाट नियमहरु स्थापित हुँदै गएको देखिन्छ, कुँवरले भौतिक विज्ञानको इतिहासको स्मरण गर्दै भने ।

भौतिक विज्ञानमा जुन सुत्र सही हो त्यो स्वतः प्रयोगयोग्य हुने भएकाले भौतिक विज्ञान विज्ञान हुन पुगेको हो भन्ने धारणा वैज्ञानिक कुँवरको छ । राजनीतिक निर्णयझैँ अल्पमत वा बहुमतका अभ्यासहरु विज्ञानका सन्दर्भमा लागु हुँदैनन् कुँवर भन्छन् । उनको भनाइ छ, जस्तो कि कुनै व्यक्तिलाई चित्र १ को उदाहरणमा जसरी साधनले पार गर्ने दुरी निकाल्नु पर्यो भने त्यही सूत्र प्रयोग गर्न सक्छ ।

स्वीकृतिबारे आफ्नो गाउँको उदाहरण प्रस्तुत गर्दै कुँवरले भने, कुनै राजनीतिक प्रभाव नपरेर ज्यामरुककोट राज्य आजसम्म पनि यथावत हुन्थ्यो भने ज्यामरुककोटमा भए गरेका सबै उपयोगी कामहरुको अग्रसारण र अनुप्रयोग सबैभन्दा पहिले ज्यामरुककोट सरकार र ज्यामरुककोटबासीले नै गर्दथे ।

किनकि सामाजिक विषयलाई समाजले नै पक्रिने हो । राष्ट्र भनेको हानिकारक कामका लागि सजाय दिन बनेको संस्थामात्र होइन, उपयोगी कामको संरक्षण र स्थापना गर्ने संस्था पनि हो, कुँवरले राज्यतर्फ लक्षित गर्दै भने । कुँवरले थपे, अहिले पनि जुनसुकै क्षेत्रमा भएगरेका उपयोगी विषयको स्वीकृति गराउने र अनुप्रयोगमा ल्याउने जिम्मेवारी स्थानीय सरकारको, प्रदेश सरकारको र केन्द्र सरकारको हुन जान्छ ।

फुकोले भनेझैँ सिद्धान्त वा ज्ञानको यात्रा ऊध्र्वन्मुख, अधोन्मुख वा समतलोन्मुख तिनै आयाममा हुन सक्छ, कुँवरले विश्वप्रसिद्ध दार्शनिक फुकोको ज्ञानविस्तारसम्बन्धी धारणा सुनाए । स्थानीय स्तरबाट विद्यार्थीहरुलाई नयाँ डिस्कभरी वा भेट्टाइबारे जानकारी दिँदै खोजहरुलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउन सकिने प्रचलित परम्परालाई प्राथमिकतामा राखेको कुँवरले बताए । कुँवर हाल त्रिभुवन विश्वविद्यालयमा तेस्रो सेमेष्टरका पिएचडी स्कोलार्स हुन् । उनको विद्यावारिधि शोधको विषय पनि शास्त्रीय भौतिकीसँग सम्बन्धित छ ।