म्याग्दीमा खुल्ला कवड्डी प्रतियोगिता हुने

म्याग्दीमा पहिलोपटक खुल्ला पुरुष तथा अन्तरमावि स्तरीय छात्रा कवड्डी प्रतियोगिता हुने भएको छ । हिन्दु महिलाको पर्व तिजको अवसरमा अगागी भदौ ५ देखि ७ गतेसम्म प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता म्याग्दी कवड्डी संघको आयोजनामा हुन लागेको हो । पछिल्लो समय म्याग्दीमा निकै लोकप्रिय हुदै गएको प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने समुहलाई ३५ हजार, द्धितियतर्फ २० हजार नगद रहेको छ ।

त्यसैगरी छात्रातर्फ प्रथम हुने समुहलाई २० हजार, द्धितियलाई १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष राजकुमार परियारले बताए । उनका अनुसार पुरुष तर्फ उत्कृष्ट खेलाडीलाई ३ हजार, छात्रातर्फ १५ सय नगदले सम्मान गरिने छ । प्रतियोगितामा दर्ता शुल्क ३ हजार र १५ सय तोकिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमार्फत म्याग्दीमा सुरु भएको कवड्डी प्रतियोगितालाई पहिलोपटक खुल्ला प्रतियोगिताको रुपमा सञ्चालन गरिएको मुल संयोजक कर्ण प्रधानले बताए । उनका अनुसार प्रतियोगिताबाट खेलाडीको पहिचान सहित प्रदेश र राष्ट्रियस्तरका खेलहरुमा समेत सहभागीतको अवसर मिल्ने बताए । प्रतियोगिताले म्याग्दीको पर्यटन प्रर्वधनमा समेत सघाउने बताए । जिल्ला बाहिरबाट प्रतियोगितामा नाम दर्ता सुरु भएको खेल संयोजक विशाल गोतामेले बताए ।