योजना बारे जानकारी गराउन भेला, सहमतिमै उपभोक्ता समिति

स्थानीयको बाक्लो सहभागिता, भित्तामा योजनाको शिर्षक सहित बजेट विवरण, मञ्चमा जनप्रतिनिधि र स्थानीय राजनीतिक दल, स्थानीय सरोकारवालाका प्रतिनिधिको उपस्थिती । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा सोमबार चालु आर्थिक बर्षमा बिनियोजित विकासे योजनाका बारेमा स्थानीयबासीको सहमतिमा उपभोक्ता समिति गठन गर्न आयोजित आमभेला तथा अनुशिक्षण कार्यक्रम गरिएको छ ।

स्थानीय तहको निर्वाचनपछि जिल्लामा वडा अध्यक्षले आफ्ना अनुकुलका मान्छेलाई राखेर डमी उपभोक्ता समिति गठन,निर्देशिका विपरितका गतिविधि सञ्चालन तथा आफन्तलाई योजना सुम्पिएर बजेट दुरुपयोग गर्ने गरेको गुनासो आइरहेको अवस्थामा पाखापानीमा राजनीतिक दल, यूवा क्लव, आमा समुह सहित सरोकारावाला निकायकै उपस्थितिमा बजेट सार्वजनिक तथा उपभोक्ता समिति गठन गरिएको हो । पाखापानीको सभाहलमा आयोजित कार्यक्रममा वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले असार महिनामा हतार–हतार बजेट सक्ने प्रबृत्तीको अन्त्य गरिएको बताए । ‘समयमै योजना सुरु हुन्छ, समयमै सम्पन्न गरिन्छ’ शेरपुञ्जाले भने ।

उनले वडालाई प्राप्त बजेटलाई समयमै सम्पन्न तथा गुणस्तीय बनाउन चालु आवको पहिलो महिनामै वडा कार्यालयको आयोजनामा छलफल गरिएको बताए । ‘बिकास निर्माणका गतिविधिमा राजनीतिक सहकार्यको प्रयास गरेका छौ,‘योजनाको अनुगमनमा लक्षित समुदायकै उपस्थिती हुन्छ’ उनले भने । आमभेला तथा अनुशिक्षण कार्यक्रममा नेकपाका प्रतिनिधि ओमकुमार पुन, समाजसेवी ड प्रसाद पाईजा, शितलमालिका यूवा क्लवका पूर्व अध्यक्ष नरेश बहादुर छन्त्यालले वडाका योजनामा जनताको सहभागिताको प्रयासले योजना दिगो हुने बताएका थिए ।

वडाभित्रका हरेक बजेटमा जनतालाई प्रत्यक्ष जानकारी सहित अनुगमतले समयै योजना सम्पन्नसँगै गुणस्तरीय समेत हुने बताए । वडालाई चालु आवमा पूँजीगत बजेटतर्फ १ करोड १८ लाख रहेको छ । रघुगंगा गाउँपालिकाले वडाभित्रका योजनालाई समयमै सम्पन्न गर्ने योजना अन्तरगत साउन महिनादेखि नै समिति गठन सहित प्रशिक्षण कार्यक्रम सुरु गरेको गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले बताए । उनका अनुसार चालु आवको योजनालाई चैत्र–बैशाख महिनासम्म सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।