अख्तियार प्रमुख नवीनकुमार घिमिरेकाे नाममा सुसाइड नाेट भेटियाे

आइतबार एक निलम्बित कर्मचारीले आत्महत्या गरेका छन् । उनले आत्महत्या गर्नुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नाम समेत जाेडेर २ पाना सुसाइड नोट लेखेको प्रहरीले फेला पारेको छ ।उदयपुरका स्थायी बासिन्दा रहेका हरि आचार्यले यसरी अख्तियारको नाममा सुसाइड नोट लेखेर आत्महत्या गरेका हुन् । उदरपुर, त्रियुगा नगरपालिका वडा नं १० का आचार्य यसअघि काठमाडौँ कलंकी मालपोत कार्यालयका कर्मचारी थिए । उनीविरुद्ध भ्रष्टाचार मुद्दा परेपछि निलम्बित भएका हुन् ।

आइतबार त्रियुगा नगरपाकिलाकै वडा नं ९, रातामाटेस्थित शिखरकट्टेको जंगलमा उनी झुण्डिएको अवस्थामा फेला परे । ५५ वर्षीय आचार्य शनिबारै घर छोडेर सम्पर्कविहीन भएका थिए । उनले छोडेको सुसाइड नोटमा अख्तियार प्रमुखलाई २०० वर्ष बाँच्नू भनेर लेखेका छन् । सो नोटमा आफूले भ्रष्टाचार नगरेको समेत उनले लेखेका छन् ।

सुसाइड नोटमा लेखिएको छ, ‘सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन् । तर मलाई भ्रष्टचारी भनाउन खोजियो । अख्तियार प्रमुख नवीनकुमार घिमिरेज्यू, २ सय वर्ष बाँच्नुस्, शुभकामना !’ उनले आफूजस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा चलाइएको भन्दै असन्तोष व्यक्त गरेका छन् । उनले श्रीमती छोराछोरीलाई मिलेर बस्न र भाई रमेशलाई सहयोग गर्न समेत उक्त नोटमा खुलाएका छन् ।

उनले थप लेखेका छन्, ‘कान्छो छोराको ब्याचलर सकुँला भनेको थिएँ सकिनँ, पापी भएँ‍… ।’ आफ्नाे सम्पत्ति कहाँ के छ भन्ने समेत साे नाेटमा खुलाउँदै उनले काका, छिमेकी, आमा, भतिजा लगायतलाई सम्बाेधन गरेका छन् । श्रीमतीलाई छाेराे काठमाडाैँ लगेर पढाउनू समेत भनेका छन् ।आचार्य शनिबार बेलुका करिब ६ बजेतिर सुसाइड नोट लेखी घरबाट बाहिरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनीविरुद्ध कलंकी मालपोतमा कार्यरत रहँदा प्रलोभनमा पारी ९२ रोपनी सरकारी जग्गा कीर्ते गरी २ करोड २१ लाख बराबरको भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले मुद्दा चलाएको थियो ।