खडेरीले रुवायो किसानलाई कतै खेत बाँझा,कतै धाँजै धाँजा (फिचर)

म्याग्दी र कालीगण्डकी नदीका साथै ४० भन्दा बढि खोला र त्यत्तिकै मात्रामा झरनाहरु रहेको जलसम्पदाको धनी हिमाली जिल्ला म्याग्दीका खोतीयोग्य जमिन पानीको अभावमा कतै बाँझै पल्टेका छन् भने बल्ल बल्ल रोपेको खेतमा पनि सिँंचाइको अभावमा धाँजा फाटेको छ । विगतका वर्षहरुमा साउनको पहिलो दोस्रो हप्ता सम्म जिल्लाको धान रोप्न योग्य खेतमा शतप्रतिशत रोपाइँ भैसक्थ्यो । तर, यसवर्ष भने साउन सकिनै लाग्दा पनि सिंचाइको व्यवस्था नभएका र भल छोपेर धान रोप्नु पर्ने खेतमा अझै सम्म पनि रोपाइँ हुन सकेको छैन । व्याडमा धानको बीऊ सुकेर मर्न थालेको छ भने किसानको मन रोएको छ । अनिकालको चिन्ताले किसानलाई सताएको छ ।

उता एक दिनमा रोपाइँ हुने खेतलाई पानीको अभावले ४ दिन लगाएर धान रोपेका किसानहरु पनि पानीको अभावमा खेतमा धाँजा फाटेपछि चिन्तित बनेका छन् । बल्लबल्ल रोपेको खेतमा धानका विरुवा मर्न थालेका छन् भने खेतका गह्रामा धाँजा फाटेको छ ।‘साविकको भन्दा तेब्बर बढि खर्च र उत्तिकै दुःख गरेर बल्लबल्ल रोपेको खेतमा धान मरेको छ, खेतका गह्रा धाँजा धाँजा परेका छन्’ बेनी नगरपालिका २ का कृषक रामबहादुर घर्तीले भने ‘खेतमा जानै मन लाग्दैन,त्यसै त्यसै मन भरिएर आउँछ ।’

म्याग्दीको कुल खेतीयोग्य जमिनको ५३ प्रतिशत जमिनमा मात्रै सिंचाइको व्यवस्था रहेको छ । अरु सबै जमिनमा आकाशे पानी र बर्खे भेलबाट रोपाइँ गर्नुपर्ने बाध्यता रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । सिंचाइको व्यवस्था भएका जमिनमा ढिलोचाँडो,पालैपालो गरेर खेत रोपिए पनि भेल छोपेर खेत रोप्नु पर्ने ठाउँमा भने अझैसम्म रोपाइँ हुन सकेको छैन ।

उपल्लो म्याग्दीका प्रायः सबै ठाउमा रोपाइँ भएपनि मध्य र तल्लो म्याग्दीका केही खेत अझै पनि बाँझै रहेका कृषकहरुले बताएका छन् । डढुवा,पुलाचौर,भीरमुनि,तातोपानी,पखेर लगाएतका ठाउँका खेतमा रोपाइँ भएको छैन् । कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार यस वर्ष मुल फुट्ने र भल बग्ने गरी पानी नपरेकोले केही ठाउँका किसानहरुले धान रोप्न नपाएका हुन् । सिंचाइको प्रवन्ध नभएका र आकाशे पानीको भर पर्नुपर्ने त्यस्ता ठाउँका किसानहरुलाई विशेष व्यवस्था गरिनु पर्ने आवाज उठ्न थालेको छ ।

रोपाइँ भएका खेतको अवस्था पनि उस्तै
पानीको अभावले रोपाइँ गर्न नसकेको कृषकहरुको पीरलो भन्दा कम छैन रोपाइँ गरेका तर सिंचाइको व्यवस्था नभएका ठाउँका किसानहरुको पीरलो पनि ।
चार गुणा बढी दुःख र त्यत्तिकै बढि खर्च गरेर रोपेको खेत पानीको अभावमा धानका विरुवा मर्न थालेपछि किसानको मन पनि मर्न थालेको छ । आकाश हेर्दै र मनसुनलाई धिक्कार्दै किसानहरुले दिन विताउँदै आएका छन् ।

‘विगतका वर्षमा तीन दिनमा रोपि सकिने खेत अहिले पानीको समस्याले गर्दा ७ दिन लाग्यो’ पिपलबोटका कृषक खडानन्द जैसीले भने ‘९ हजारमा रोपिने खेतलाई १७ हजार खर्च भयो। तर, चर्को खडेरीका कारण खेतमा धान मर्न थाल्यो,दुःख पनि गयो,खर्च पनि बेकार भयो ।’
जैसीको मात्रै होइन जिल्लाका ६० प्रतिशत किसानको अवस्था अहिले जैसीको जस्तै छ । सिँचाइ हुने खेतमा पनि राम्रोसंग सिँचाइ हुन सकेको छैन। खोला र जरुवाहरुमा मूल फुटेको छैन । ‘खोलामा पानी नै नभएपछि सिंचाइ हुने खेतमा पनि कहाँबाट पानी ल्याएर लगाउने ? मजुवाका कृषक श्याम विकले भने ।

‘अनिकाल लाग्ने भयो’
खडेरीले यस वर्ष केबल धान रोपाइँलाई मात्र प्रभावित गरेन मकै बालीमा पनि असर गर्यो । खडेरीका कारण जिल्लाका कृषकहरुले मकै बाली पनि राम्रो भित्राउन सकेनन् ।खडेरीका साथै यस वर्ष मकै बालीमा विभिन्न रोग र दाना नलाग्ने समस्या पनि देखियो। धान पछिको दोस्रो प्रमसख बाली मकै पनि राम्रोसंग नफलेका कारण खेतीपातीमा आश्रित म्याग्दीका किसानहरु वर्षभरी के खाने भन्ने पिरलोमा परेका छन् । आम्दानीको अन्य कुनै स्रोत नभएका र परम्परागत खेतीमा निर्भर रही बनिबुतो गरी पेट पाल्दै आएका किसानहरु अनिकाल लाग्ने डरले चिन्तित छन् । धान र मकैले वर्षको ६ महिना गुजारा गर्ने र अरु ६ महिना ज्याला मजदुरी गरेर परिवार पाल्ने म्याग्दीका किसानलाई यस वर्ष अनिकाल लाग्ने भयो भन्ने चिन्ता छ । भकिम्ली तोराखेतका विरवहादुर परियार भन्छन् ‘यस वर्ष त अनिकाल लाग्ने भयो,६ महिना काम गरेर वर्ष दिनलाई परिवार पाल्न सकिदैन हजुर ।’

फुटेनन् मूल, बगेनन् खहरे
म्याग्दी लगाएत साविकको धौलागिरि क्षेत्रमा यस वर्ष मनसुन सक्रिय हुनै सकेन । फाट्टफुट्ट बाहेक दिन रात राम्रोसंग पानी नै नपरेपछि असार र साउन महिनाको आज २६ गतेसम्म बर्खे भेलले उर्लने खहरेहरुमा कमिला हिँडेका छन् । म्याग्दी जिल्लाको तल्लो क्षेत्रमा कतै पनि मूल फुटेका छैनन् भने बर्खाको भेलले डाङडाङ र डुङडुङगरी उर्लेर बग्ने खहरे खोलाहरु बगेका छैनन् । मूल नफुटे पछि जरुवा,कुवा र पधेराहरुमा पानीको समस्या हिउँदको जस्तै छ ।

पोहोर साल १४ हजार मेटन, यस साल त ७ हजार नि कुन्नि

म्याग्दीको ३ हजार ८ सय ९२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोइरालाले गत साल म्याग्दीमा १३ हजार ९ सय ७८ मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए ।तर यस वर्ष भने समयमा नै रोपाइँ हुन नसक्नुका साथै केही खेतहरु बाँझै रहनुले धान उत्पादन घट्ने निश्चित छन् । किसानहरुले भन्न थालेका छन् विगतको वर्षको तुलनामा यस वर्ष आधाले धान उत्पादन घट्ने देखिएको छ ।म्याग्दीमा गौरी,जर्नेली,गुडुरा,जेठोबूढो,मार्सि,ताकमारे,भट्टे पहेंले,लगाएतका रैथाने र छमरुङ,माछापुच्छ«े,अन्नपूर्ण ३, खुमल १०,लुम्ले २ लगाएतका उन्नत जातका धान खेती हुने गरेको छ ।

प्रविधिको साथ,प्रकृतिबाट निराश
म्याग्दीका किसानहरुले परम्परागत कृषि औजारको ठाउँमा प्रविधिको प्रयोग गर्न थालेका छन् । खेतीपातीका लागि प्रविधिले किसानलाई सजिलो बनाइदिए पनि प्रकृतिले भने साथ नदिँदा निराश बन्नु परेको उनीहरुको भनाइ रहेको छ । प्रविधिको बढ्दो प्रयोगसंगै हिमाली जिल्ला म्याग्दीमा रोपाइँको रौनक पनि फेरिएको छ । नेपालीहरुको मुख्य बाली धान रोप्न खेत जोत्नका लागि परम्परागतरुमा प्रयोग हुँदै आएका हलगोरुको ठाउँमा अव खेतका गह्रा र फोहोटामा पनि ट्याक्टर र मिनिटिलर प्रयोग हुन थालेका छन् । गाउँमा हलगोरु पाल्ने चलन हराउँदै गएको छ भने हलो,जुवा लगाएतका परम्परागत कृषि सामाग्री निर्माण गर्ने रैथाने सीप पनि विस्थापित भएको छ ।

कृषिमा प्रविधिको प्रयोग बढ्दै जाँदा कृषकलाई सुविधा पुगेको छ । कृषकहरु निर्वाहामुखी कृषि प्रणालीबाट विस्तारै व्यावसायिक कृषितर्फ आकर्षित हुँदै गएका छन् भने परम्परागत तरिकाले खेति लगाउँदा व्यहोर्नु पर्ने धेरै किसिमका झन्झटहरुबाट पनि मुक्ति मिलेको कृषकहरुले बताएका छन् ।
‘पहिला पहिला खेत जोत्नका लागि हलि र गोरु खोज्नु पर्ने, गोरुलाई घाँसको व्यवस्था गर्नु पर्ने,दिनभरी गोरुको पछिपछि हिलोमा ओहोरदोहोर गर्नुपर्ने लगाएतका धेरै झन्झट हुने गर्थे’ मिनिटिलरबाट खेत जोतेर रोपाइँ गर्दै गरेका बेनी नगरपालिका ४ सिंगाका कृषक नारायण पौडेलले भने ‘अहिले पानीको मात्रै जोहो गर्न सक्यो भने हाइसन्चो हुन्छ । मिनिटिलर वा ट्याक्टर लगायो एकै छिनमा मेलो सकिन्छ ।’

कृषकहरुका अनुसार गोरुले जोत्दा ६÷७ दिन लाग्ने मेलो (खेत) मिनिटिलर वा ट्याक्टरबाट एकै दिनमा सकिने,लागत र झन्झट पनि कम लाग्ने हुँदा परम्परागत हलगोरुको साटो यान्त्रिक पद्यतितर्फ आकर्षण बढेको हो । ‘रोपाहार र बाउँसेको व्यवस्था हुने हो भने हलोले ६÷७ दिन लाग्ने खेत मिनिटिलरबाट एक दिनमा नै रोपेर सकिन्छ’ बेनी नगरपालिका वडा नं २ का कृषक भीमवहादुर रिजालले भने।

वैदेशिक रोजगारीका कारण गाउँमा कृषि मजदुर र जनशक्तिको अभाव हुन थालेको बेला मिनिटिलर र ट्याक्टर उपयोगी माध्यम भएका स्थानीय कृषकहरुले बताएका छन् । अहिले म्याग्दीका सवै गाउँहरुमा मिनिटिरले प्रयोग व्यापकरुपमा हुन थालेको छ । हलगोरु नारेर खेती गर्ने चलन हराउँदै गएको छ । कृषिमा आएको यान्त्रिक प्रयोगका कारण गोरु पाल्ने, वाह्रै महिना घाँसपात गर्ने र हेरालु राख्नु पर्ने झन्झट पनि हटेको कृषकहरुको भनाइ रहेको छ ।

प्रविधिको प्रयोग गरेर खेती गर्न थालिएपछि म्याग्दीमा वर्षैदेखि बाँझो रहेको जमिनमा पनि पछिल्लो समय खनजोत गरी खेती गर्न थालिएको छ । आग्र्यानिक कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको मंगला गाउँपालिकाले कृषिमा यान्त्रीकरण र व्यावसायीकरण गर्दै वाँझो जमिनलाई पनि हराभरा बनाउने अभियान थालेको छ । ‘अव कृषि क्षेत्रमा पहिलाको जस्तो झन्झट छैन,प्रविधिको प्रयोग गरेर गाउँमा बाँझो रहेको जग्गाको सदुपयोग गरी आग्र्यानिक खेतीमा जोड दिएका छौं’मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।म्याग्दीका ६ वटै स्थानीय तहले कृषिमा प्रविधिको प्रयोगलाई विशेष महत्व दिँदै मिनिटिलर देखि लिएर विभिन्न किसिमका कृषि उपकरणहरु कृषकलाई निशुल्क वा अनुदानमा वितरण गरेका छन् ।