जन्मिएकै दिनदेखि रोगसँग लड्दै १.८ केजीकी सुजता

श्रीमतिको उपचार ऋण खोजेरै गरिरहेको थिए हर्कबहादुर विक । दुईछोरीको पढाई खर्च जुटाउन उनलाई हम्मेहम्मे भएको थियो । बेलाबेलामा बिरामी हुने श्रीमतिलाई उपचारमा घरमा भएको पैसा सकिएपछि आफन्तलाई समेत सहयोग मागेर उपचारमा सक्रिय थिए ।

बेनी नगरपालिका वडा नं ३ भकिम्ली मुसुङ गाउँमा विपन्न भएपनि आफ्नो कर्ममा रमाउने हर्कबहादुर र तिलकुमारीलाई चिकित्सकले नियमित औषधी सेवन सेवनसँगै जिल्ला बाहिरको अस्पतालमा पुगेर चेकजाँच गर्न अनुरोध गरेका थिए । आर्थिक अवस्थाले थलिएका हर्कबहादुरले श्रीमतिको उपचारलाई स्वदेशमै रोजगारबाट सम्भव नहुने देखेर मलेसिया हानिए। एकपटक होईन् पटकपटकको प्रयासमा हर्कबहादुरले मलेसियामा पाइला टेके।

नियमित काम, मासिक तलबले श्रीमतिको उपचार, जेठी छोरीको उच्च शिक्षाको चाहना पुरासँगै तिलकुमारीको पेटमा हुर्किरहेको बच्चालाई खर्च पठाउने योजना बुनेका थिए । घरबाट पासर्पोट र केही थान कपडा लिएर मलेसिया पुगेका हर्कबहादुरको योजना एककल फोनले चकनाचुर भयो ।अस्पतालमा रहेकी तिलकुमारी र जन्मिएकी छोरीलाई हेपाटाइटिस ‘बि’ को संक्रमण देखिएपछि हर्कबहादुरले बुनेका सपनाहरू हवाजस्तै भए ।

तीन सन्तानको बुबा त भए तर जन्मिएकी छोरीको तौल १.९ केजी देखिएपछि तत्कालै आइसियूमा राखियो । करिव १५ दिनमा आर्थिक खर्च पनि धेरै भयो । उपचारसँगै आमा छोरीलाई संक्रमण देखियो । हर्कबहादुरले बुनेको सपना भने मरेको छैन् । उनले अझैपनि आमाछोरीलाई पुर्ण रुपमा स्वस्थ हुने गरी उपचारका लागि मलेसियामै पसिना बगाउने बताउँछन् ।

‘आमाछोरीको उपचारका लागि मैले पसिनाको खोलो बगाउँछु,‘मेरो कमाईले मात्रै सम्भव छैन’ हर्कबहादुरको सन्देश लिएर बेनीअनलाइनको कार्यालयमा आएकी जेठी छोरी सुस्मिताले भनिन् । उनले आमाले सुत्केरी अवस्थामा खानपिनसँगै बहिनीलाई रेखेदेखमा समेत समस्या भएको बताईन् । ‘सानो बहिनीलाई हेरेर धेरै रात आमाको आँसु बगेको छ,‘बिहान आँसुले ओछ्यान नै भिजेको हुन्छन्’ सुस्मिताले भनिन् ।

उनले आमाको उपचार र पटकपटक बुबाले विदेश जानका लागी लिएको ऋणलाई तिर्न मलेसियामा जानुभएका बुबाको कमाई समेत नभएपछि आमा र बहिनीको उपचारमा सहयोग जुटाइरहेको बताईन् । ‘हाम्रो परिवारलाई खुसी बनाउन अव सबैको सहयोग चाहिन्छ,‘निम्न लागेको बत्ती जस्तै भएको छ’ सुस्मिताले भनिन् । उनले आमाको उपचारमा खोजेको खर्चबाट केही पैसा लिएर उच्च शिक्षाका लागि बेनीमा आएको बताईन् ।

गत साउन १ गते जन्मिएकी सुजतालाई तौल कम भएकाले चिकित्सकले दिएको सुझाव अनुसारको औषधी सहित रेखदेखमा समस्या भइरहेको छ । हेपाटाइटिस डिएनए भाइरसबाट सर्ने रोग हो । संक्रमित सुई वा ब्लडको प्रयोग र असुरक्षित यौनसम्बन्धका कारण लाग्ने रोग संक्रमित आमाको गर्भमा रहेको बच्चामा पनि सर्ने गर्दछ । पीडितको उपचारमा वडा अध्यक्ष पदम पुनले अभियान नै सञ्चालन गरेका छन् । यता बेनी अस्पतालका डा. नवराज बस्ताकोटीले समेत चिकित्सा क्षेत्रमा १.८ तौललाई जोखिमको घेरामा राखिने बताए ।