आयो दमकल खानेपानी बोकेर (फोटोफिचर)

दमकल (बारुणयन्त्र) भन्दाबित्तिकै हामी आगो निभाउने साधन भनेर बुझ्ने गरेका छौं । आगोलागी भएमा दमकलको सहयोगमा पानी छ्यापेर आगो निभाइन्छ । खासगरी सहर, बजारका क्षेत्रमा आगलागी भएको खण्डमा तुरुन्तै दमकललाई खबर गरेर आगो निभाउने प्रयास गरिन्छ । तर, पछिल्लो समय दमकलले म्याग्दीको बेनीमा आगो निभाउने होइन खानेपानीका लागि पानी बोकेर बजारको चोकचोकमा वितरण गरेको छ ।

यस्तै सामान बोक्ने ट्याक्टरबाट पनि ड्रममा पानी राखेर सर्वसाधारणलाई वितरण गरिँदै आइएको छ । बेनी–जोमसोम–कोरला सडकखण्ड विस्तारको क्रममा पाइप फुटेपछि लगातार खानेपानीको अभाव भेल्दै आएका बेनीबजारवासीलाई दमकल र ट्याक्टरमा ड्रम राखेर खानेपानी वितरण गरिएको हो ।म्याग्दीको सदरमुकाम बेनीबजारमा पिउने पानीको हाहाकार भएपछि दमकल र ट्याक्टरबाट पानी ओसारेर उपभोक्तालाई वितरण गरिएको छ ।

बेनी–जोमसोम–कोरला सडक विस्तारको क्रममा बेनीमा ल्याइएको खानेपानीको पाइपमा क्षति पुगेपछि बजारवासीलाई खानेपानीको समस्या भैरहेको छ । सो सडकखण्डको गलेश्वरदेखि राहुपारे खण्ड अन्तर्गत विभिन्न स्थानमा बाढीपहिरो र डोजरले पाइपमा क्षति पु¥याएपछि सदरमुकाम बेनीमा खानेपानी आपूर्ति बन्द भएको छ ।

खानेपानीको पाइपमा क्षति पुग्दा पिउनेपानीको समस्या भएपछि दैनिकजसो बजारवासीलाई दमकल र ट्याक्टरमार्फत खानेपानी वितरण गरी उपलब्ध गराइएको छ । अन्नपूर्ण गाउँपालिका–८, राम्चेस्थित पुम्दीखोलाको मुहानबाट ल्याइएको खानेपानीको पाइप चमेरेमा फुटेपछि १९ गतेदेखि बेनीमा खानेपानी आपूर्ति बन्द भएको हो । यसैगरी बेनी नगरपालिका–३, भकिम्लीको दुधेखोलाबाट ल्याइएको पाइप समेत फुटेपछि थप समस्या भएको छ । नियमित रुपमा आइरहने पानीको पाइपमा क्षति पुगेर खानेपानी आपूर्ति नै बन्द भएपछि बेनी नगरपालिका र वडानम्बर ७ वडाले दमकल र ट्याक्टरमार्फत खानेपानी वितरण गरिरहेका छन् ।

धारामा खानेपानी नआउँदा बेनीमा कोठा भाडा लिएर बस्ने विद्यार्थी, कर्मचारी, शिक्षकलगायत सर्वसाधारणलाई सास्ती भएको छ । पानी नभएपछि खाना पकाउन, हातमुख धुन, शौचालय जान, नुहाउन र कपडा धुन समस्या भैरहेको उपभोक्ता कमला उपाध्यायले गुनासो गर्नुभयो । खानेपानीको अभावका कारणले गर्दा खासगरी शिक्षक, विद्यार्थी र कर्मचारीहरु मर्कामा परेका छन् । कतिपय घरधनीको निजी धारा भए पनि सरकारी पानी उपभोग गर्दै आइरहेका घरधनी र डेरामा बस्नेहरु भने सास्ती भोगिरहेका छन् ।

खानेपानी आपूर्तिका लागि पाइप फुटेको ठाउँमा मर्मतको काम भैरहेको बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले बताउनुभयो । बेनीमा पुम्दीखोलाबाट ६ इन्च र ५ इन्चको दुईवटा पाइप तथा दुधेखोलाको मुहानबाट २ इन्चको पाइमा पानी ल्याइएको छ । पुम्दीखोलाबाट ल्याइएको ६ इन्चको पाइमा प्रतिसेकेण्ड २० लिटर र ५ इन्चको पाइपमा प्रतिसेकेण्ड १० लिटर तथा दुधेखोलाको २ इन्चको पाइपमा प्रतिसेकेण्ड ३ लिटर पानी आउने गर्दछ । बेनीमा १ हजार ३३ घरधुरीमध्ये बेनी खानेपानी उपभोक्ता संस्थाले १ हजार २० उपभोक्ता अर्थात् झण्डै २० हजार जनसङ्ख्यालाई खानेपानी उपलब्ध गराउँदै आएको छ । बेनी नगरपालिका–७ र ८ नम्बर वडा तथा ज्यामरुककोटको हाँडेभिर क्षेत्रमा संस्थाले पानी वितरण गरेको छ ।

खानेपानीको समस्या समाधान गर्न उपसमिति गठन
पटकपटक खानेपानीको समस्या बल्झिदै गएपछि समस्या समाधान गर्न आइतबार बसेको सरोकारवालाहरुको भेलाले खानेपानी आर्पूतीको बैकल्पिक ब्यवस्था गर्नका लागि यजनलाल शाक्यको अध्यक्षतामा उपसमिति गठन गरेको छ । उपसमितिको सदस्यमा व राजेन्द्र श्रेष्ठ, बेलबहादुर कटुवाल, हिमबहादुर भण्डारी, कृष्णबहादुर विश्वकर्मा र विकास कुँवर सदस्य रहेको उपसमिति गठन गरिएको खानेपानी तथा सरसफाई उपभोक्ता समितिका प्रबन्धक कुमार थापाले बताउनुभयो। उहाँका अनुसार उपसमितिले मुख्य लाइनमा अवरुद्ध हुदाँ बैकल्पिक स्रोतकहरुको खोजीका केन्द्रित हुने छ ।