वेष्ट पोइन्ट अन्डर ५ फुटबल प्रतियोगिता शुरु

न्यु वेष्ट पोइन्ट आवासीय माविमा फुटबल प्रतियोगिता शुरु भएको छ । वार्षिक क्यालेन्डर अनुसार कक्षा ५ भन्दा मुनिका विद्यार्थीको अंतर सदनात्मक र अन्तर सदनात्मक खुल्ला छात्रा प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा छात्र तर्फ ८ टिम र छात्रा तर्फ ८ टिम सहभागी भएका छन् । प्रतियोगिताको अतिरिक्त क्रियाकलाप विभाग प्रमुख हरिकृष्ण श्रेष्ठले उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा शिक्षक अभिभाबक संघका अध्यक्ष दिलकुमार श्रेष्ठ, प्रिन्सिपल डीबी दाहाल लगायतले शुभकामना र हौसला प्रदान गर्नु भएको थियो । प्रतियोगिता आइतबार सम्म संचालन हुने खेल शिक्षक दिपेन राइले बताउनु भएको छ । अन्डर ५ फुटबल प्रतियोगितालाई प्राथमिक तहका विद्यार्थीहरुले निकै उत्साहका साथ् लिने गर्दछन् । मिनी वर्ल्ड कप जस्तै हुने नानिबानुको यो प्रतियोगिता अत्यन्तै रोचक र हेर्नलायक हुने गर्दछ ।

विद्यालयमा यसरी हुने प्रतियोगिताले खेलाडी पहिचान गर्न सजिलो हुने खेल शिक्षक दिपेन राइले बताउनु भयो । प्रिन्सिपल डीबी दाहालले विद्यालयले नियमित रुपमा खेलकुद लगायत अन्य सृजनात्मक कार्यक्रम गर्दै बढी भन्दा बढी विद्यार्थीहरुलाई सहभागी गराउने र क्षमताको बिकास गर्न सहयोग पुग्ने बताउनु भयो । खेल आइतबार सम्म संचालन हुने वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।