म्याग्दीका भलिबल खेलाडी परियारले पुलिस क्लवबाट भारतमा खेल्ने

म्याग्दीका एक यूवा भलिबल खेलाडी महेन्द्र पुलिस क्लवको सिनियर टोलीबाट भारतमा हुने खेलमा छनौट भएका छन् । जिल्लाको मालिका गाउँपालिका– ३ रूमका जमानसिंह परियारले विभागीय टोलीमा छनौट भई भारतमा हुने मैत्रीपूर्ण भलिबल खेलमा सहभागी हुने भएका हुन् ।

जिल्लास्तरीय हुदै क्षेत्रीय, राष्ट्रियस्तरका खेलहरुमा समेत उत्कृष्ट खेल प्रर्दशन गरेका परियार बेनीको माउण्ट एभरेष्ट आवासीय माविमा कक्षा ११ मा अध्ययरत छन् । अलराउण्डर र ओपन स्पाइकरमा उत्कृष्ट खेल देखाउने गरेका परियारले खेलभित्र चमत्कार देखाउने गरी सबैजसो भूमिकामा देखिन्छन् ।  कलिलै उमेरमा विभागीय टोली अन्तरगत नेपाल आर्मी, शसस्त्रभन्दा भलिबलमा उत्कृष्ट मानिने नेपाल प्रहरीको टोलीमा छनौट भएर खेल्ने अवसर पाएको विद्यालयका सञ्चालक सुरत केसीले बताए ।

‘कलिलै उमेरमा राम्रो अवसर पाएका छन्,‘भलिबलमा राष्ट्रिय टोलीमै पर्ने सम्भावना छ’ केसीले भने । आधारभुत तहदेखिनै भलिबल खेल्ने गरेका परियारकै उपस्थितमा विद्यालयले भलिबलमा उपाधी जिताउने गरेका थिए । खेलकुदमै केन्द्रित गरेर विद्यालयले परियारलाई शिक्षामा अतिरिक्त समयको ब्यवस्थापन गर्ने गरेको थियो । १७ बर्षकै उमेरमा विभागिय टोलीबाट खेल्ने अवसर पाएका परियारले उत्कृष्ट खेल प्रर्दशन गर्ने अनुमान गरिएको छ ।