पूर्वराजा ज्ञानेन्द्र शाहको पुस्तक ‘सन्देश संग्रह’ बजारमा

पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी ट्रस्टलाई सहयोगस्वरुप आफ्नो भाषण र अन्तर्वार्ता सङ्ग्रह बिक्रीका लागि हस्तान्तरण गरेका छन् । पूर्वराजा शाहले विभिन्न देशमा दिएको भाषण र प्रकाशित अन्तर्वार्ताहरुको सङ्ग्रह हिमानी ट्रस्टलाई प्रदान गरेका हुन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ट्रस्ट अध्यक्ष हिमानी शाहले पूर्वराजा ज्ञानेन्द्रले ट्रस्टलाई ५०० प्रति उक्त सङ्ग्रह प्रदान गरेको जानकारी दिइन् ।

“प्राप्त सङ्ग्रहको बिक्रीबाट ट्रस्टले दैवीप्रकोपका पीडितहरुलाई सहयोग गर्नेछ,” हिमानीले भनिन् । शासनसत्तामा हुँदा पूर्वराजा ज्ञानेन्द्रले नेपालको राजनीतिक अवस्था, कुटनीतिक सम्बन्ध, अन्तर्राष्ट्रिय आर्थिक सहयोगका बारेमा विभिन्न देशमा पुगेर गरेको भाषण समावेश गरिएको ट्रस्टले जानकारी दिएको छ । यस्तै नेपालका मुलधारका विभिन्न सञ्चारमाध्यममा दिएको अन्तरवार्ता पनि सङ्ग्रहमा प्रकाशित भएको बताइएको छ ।

पुस्तकको व्यक्तिगत मूल्य ५ हजार ५ सय ५१ रुपैयाँ रहेको छ । दैवी प्रकोपपीडितको राहत र सहयोगस्वरुप व्यक्ति वा संस्थाले तोकिएभन्दा बढी मूल्य तिरेर पनि किताब किन्न सक्ने अध्यक्ष हिमानीले बताइन् । “सङ्ग्र बिक्रीबाट उठेको रकमले तराई र पहाडका बाढीपीडितलाई राहत सामग्री उपलब्ध गराइने छ,” हिमानीले भनिन्, “देशमा विभिन्न समयमा हुने दैवीप्रकोपले पुर्याएको क्षति र पीडितको राहतका लागि ट्रस्टले ०६७ सालदेखि नै उल्लेखनीय रुपमा सामाजिक सेवा गर्दै आएको छ ।”