सरकार भ्रष्टाचार नियन्त्रणको अभियानमा :मन्त्री थापा

महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले सरकार भ्रष्टाचार नियन्त्रणको अभियानमा रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको चौथो जिल्ला सभाको आइतबार सदरमुकाम बेनीमा उद्घाटन गर्दै भ्रष्टाचार गर्नेहरुलाई कानुनी कठघरामा ल्याउने काम भैरहेको बताउनुभएको हो ।

मन्त्री थापाले प्रधानमन्त्री आफूले पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न’ भन्ने प्रतिबद्धताका साथ भ्रष्टाचार नियन्त्रणका लागि अभूतपूर्व किसिमले काम भएको बताउनुभयो ।

भ्रष्टाचार अन्त्य गर्नका लागि सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताउँदै भ्रष्टाचारीहरु धमाधम समातिएको हुँदा उनीहरुलाई नियन्त्रणमा लिएर मुद्दा लगाइएकाले भ्रष्टाचारीहरु छटपटाउँदै जान थालेको बताउनुभएको छ । अहिलेको सरकारलाई असफल बनाउनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरु लागिरहेको मन्त्री थापाको भनाइ छ । उहाँले सरकारले अगाडि सारको ठोस योजनासहितको कदमलाई अप्ठ्यारो पार्न र असफल बनाउन चारैतिरबाट अनेक ढङ्गले लागिपरेको र संसद समेत विनाकारण अवरुद्ध भैरहेको बताउनुभयो।

प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाले संसारको सातौं अग्लो धौलागिरीसहित दर्जनौं हिमशृङ्खला अवस्थित म्याग्दीलाई सरकारले हिमाली जिल्लामा सूचिकृत भएकाले सेवासुविधा सहित बजेटका लागि सबै क्षेत्रबाट दबाव दिनुपर्ने बताउनुभयो । त्यस्तै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले जिल्लामा प्राप्त बजेटलाई सदुपयोग गर्नुपर्ने जोड दिनुभयो ।

जिल्लासभामा संविधान सभा सदस्य नवराज शर्मा, रेशम बहादुर बानियाँ, गण्डकी प्रदेश सांसद विनोद केसी, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन, प्रमुख जिल्ला अधिकारी ज्ञानराज ढकाल, नेकपाका जिल्ला अध्यक्ष गोविन्द पौडेल, नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष छवि विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कुटवाल, म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्ष बालकृष्ण सुबेदी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य लगाएतले मन्तब्य राखेका थिए ।

जिल्लासभाममा बार्षिक प्रतिवेदन जिल्ला समन्वय अधिकारी ज्ञानराज कोइरालाले प्रस्तुत गर्नुभएको थियो । शाखा अधिकृत अर्जुन शर्माले सञ्चालन र जिसस सदस्य शेरबहादुर केसीले स्वागत गरेको जिल्लासभाको समापन प्रमुख देबेन्द्र बहादुर केसीले गर्नुभएको थियो ।