मेस्सीलाई तीन महिना प्रतिबन्ध, ५५ लाख जरिवाना

अर्जेन्टिनाका कप्तान तथा स्पेनी क्लब बार्सिलोनाका स्टार लियोनेल मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा तीन महिना प्रतिबिन्धित भएका छन् । गत महिना सम्पन्न कोपा अमेरिका कपमा भ्रष्टाचार भएको आरोप लगाएपछि मेस्सीमाथि प्रतिबन्ध लगाएको हो।उनले ब्राजिललाई कप जिताउन फिक्स गरिएको आरोप लगाएका थिए ।

सो प्रतियोगितामा ब्राजिलसँग सेमीफाइनलमा पराजित भएको अर्जेन्टिनाले चिलीलाई जित्दै तेस्रो स्थान प्राप्त गरेको थियो ।दक्षिण अमेरिका फुटबल महासंघले मेस्सीलाई ५० हजार अमेरिकी डलर (५५ लाख ३३ हजार रुपैयाँ) जरिवाना समेत गरेको छ ।

महासंघका निर्णयविरुद्ध मेस्सीले सात दिनभित्र अपिल गर्न सक्ने छन् । यस प्रतिबन्ध कायम रहेमा मेस्सीले सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीविरुद्ध हुने मैत्रीपूर्ण खेल गुमाउने छन् । सन् २०२२ को विश्वकप फुटबलमा छनोट खेल भने सन् २०२० मार्चबाट शुरु हुने छ ।आयोजक ब्राजिलसँग दुई शुन्यले पराजित भएपछि अर्जेन्टिना फुटबल संघले रेफ्रीको गम्भीरको गल्तीहरु गरेको गुनासो गरेको थियो ।