इन्डोनेसियमा अलपत्र परेकी मुना खत्रीलाई उद्धारको प्रयास

इन्डोनेसियामा अलपत्र परेकी बेनी नगरपालिका वडा नं ९ तोरिपानीकी मुना खत्रीलाई उद्धारको प्रयास सुरु भएको छ । सात महिनादेखि अलपत्र परेको समाचार बेनीअनलाइनले सार्वजनिक गरेपछि इन्डोनेसियामा रहेका नेपालीमार्फत उद्धार सहित घर फिर्ती अभियान सुरु गरिएको छ । म्याग्दीका सामाजिक अभियान्ता चन्द्रकुमार केसीको पहलमा खत्रीलाई आवश्यक पर्ने कागजात सहित इन्डोनेसियाको जकातास्थति इमिग्रेसनमा पुग्ने प्रयास भइरहेको केसीले बताए ।

‘आर्थिक सहयोग जुटाएर भएपनि घर फिर्तीको पहल भइरहेको छ,‘सामाजिक सञ्जालमा बेलाबेलामा कुराकानी हुन्छ’ केसीले भने ।सरकारी निकायको नियन्त्रणमा रहेकाले पनि कुनै समस्या नहुने बताए । करिब एकबर्ष अगाडी घर छाडेर हिँडेकी खत्रीलाई दलालले अलपत्र पारेको उनका पिता दिलबहादुरले बताए । ‘छोरीसँग नियमित कुराकानी हुन सकेको छैन्,‘म्याग्दीकै दलालले फसाएर त्यहाँसम्म पुर्याएको छ’ उनले भने। उनका अनुसार करिव ३५ लाखभन्दा बढी खर्च भइसकेको बताउँदै दलाल नेपालमै रहेको बताए ।

खत्रीलाई त्यहाँसम्म लैजाने दलालले समेत प्रहरी समक्ष आत्मसर्मपण गरेको बताइएको छ ।पासर्पोट र नागरिकता सहितका कागजात समेत नियन्त्रणमा लिएको बताउँदै घर फिर्तिका लागि पहल गरिदिन परिवारले याचना गरेका छन् । यता बेनी नगरपालिका वडा नं २ खवरा घरभई बाल्यकाल समेत तोरिपानी आसपासमै विताएका डोलिन्द्र कार्कीले दलालसँगै मिलेर खत्री लगाएत ६ जनालाई इन्डोनेसियामा पठाएको बताइएको छ । खत्री सहित तीनजनाको टोलीले यमुना चौलागाई गौतम सहितको टोलीको समेत करिव १८ लाख नेपाली लिएर अलपत्र पारेको बताइएको छ । दलाल कार्कीले इन्डोनेसियबाट फर्काउने प्रतिबद्धता जनाएको पीडित परिवारले बताएका छन् ।