स्वर्गीय गिरीको स्मृतिमा खुल्ला छात्रा फुटबल हुने

क्लवका स्वर्गीय अध्यक्ष अनन्त गिरीको स्मृतिमा न्यू दोभान यूथ क्लवले प्रथम अन्तर माविस्तरीय खुल्ला छात्रा फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । हिन्दु नेपाली महिलाको महानपर्व तिजको अवसरमा आगामी भदौ १२ देखि १४ सम्म खुल्लामञ्चमा प्रतियोगिताको आयोजना गरिने खेलकुद संयोजक उपेन्द्र गिरीले बताए । उनका अनुसार प्रतियोगिताको तयारी सुरु गरिएको बताए । ‘तयारी सुरु भएको छ,‘सबै क्षेत्रबाट सहयोगको अपेक्षा गर्दछु’ उनले भने । क्लवले आयोजना गर्ने प्रतियोगिताको अवसरमा विभिन्न कार्यक्रम समेत गरिने जनाइएको छ ।

प्रतियोगिताको तयारीसँगै विभिन्न उपसमितिमार्फत तिब्रता दिने क्लवका कार्यवाहक अध्यक्ष सविन श्रेष्ठले बताए । उनका अनुसार क्लवका अध्यक्षको स्वर्गारोहणपछिको अवस्थामा सुस्ताएपनि प्रतियोगिता सहित रचनात्मक कार्यहरुलाई समेत तिब्रता दिने बताए । उनले सदरमुकाम बेनीबजारलाई कार्यक्षेत्र बनाएको क्लवले खेलकुदसँगै सरसफाई सहित अन्य कार्यक्रमहरु समेत सञ्चालन गर्ने बताए ।

क्लवका कोषाध्यक्ष सिद्धार्थ शाक्यका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार नगद , उपविजेतालाई २५ हजार सहित विभिन्न पुरस्कारको ब्यवस्था गरिएको बताए । प्रतियोगितामा स्पोन्सर सहित आर्थिक संकलन भइरहेको क्लवले जनाएको छ । स्वर्गीय गिरी बेनीका सक्रिय यूवा थिए । उनले इपिएसमार्फत कोरिया पुगेर फर्किएका गिरीको २०७४ मंगिर १० गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा भोट हालेर घर फर्किएपछि निधन भएको थियो ।