विप्लव’भूमिगत शैलीमा, यस्तो छ सञ्जाल

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार गरेको छ। अन्य राजनीतिक दलजस्तो विधानका आधारमा निश्चित समयका लागि एकैखाले संरचना बनाउनुभन्दा परिस्थिति ख्याल गर्दै विप्लव समूहले आन्तरिक संरचना बनाउने र भत्काउने गर्दै आएको छ। २८ फागुनमा सरकारले प्रतिबन्ध लगाउनुअघि एउटा संरचनामा चलेको विप्लव समूह अहिले अलग संरचनाका आधारमा चलेको छ।

‘समयानुकूल समूह संरचना हेरफेर गरी अनुकूलताका आधारमा संगठन निर्माण गरी हामी अगाडि बढिरहेका छौं’, विप्लव समूहका एक केन्द्रीय सदस्यले भने, ‘प्रतिबन्धपछि पार्टीले केही संरचना हेरफेर गरेको छ।’ उनका अनुसार देशभित्र ४ वटा कमान्ड, १२ वटा ब्युरोमार्फत समूहको गतिविधि चलेको छ ।

समूहको माथिल्लो निकायमा ५ सदस्यीय स्थायी समिति छ। यो केन्द्रीय समिति रोल्पाको थवाङमा २०७३ फागुनमा सम्पन्न आठौं महाधिवेशनले चयन गरेको हो। ‘केन्द्रीय समितिको संख्या केही घटेको छ। केही नेता कार्यकर्ताले यस बीचमा समूह छोडेपछि जिम्मेवारी हेरफेर भएको हो’, ती नेताले भने। यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।