बेनी–जोमसोम सडक अवरुद्ध

गएरातीको पहिरोले बेनी–जोमसोम–कोरला सडक अवरुद्ध भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाका गुईठेभीरमा सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । केहीदिन अगाडी मात्रै सिधा सञ्चालनमा आएको सडकखण्ड अन्तरगत विभिन्न स्थानमा कालिगण्डकीले कटान र पहिरोले छियाछिया भएको सडक अवरुद्ध भएपछि मर्मतको तयारी गरिएको दानाबाट पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बेनीअनलाइनलाई बताए । उनका अनुसार सडकखण्ड अन्तरगत अन्य ठाउँमा पनि पहिरोको सम्भावना भएकाले स्थलगत रुपमा जाने तयारी भइरहेको छ ।

सडक स्तरउन्नती भइरहेको स्थानमा हिलो जमेर आवतजवात गर्ने समस्या भएको छ भने पुराना पहिरो आसपासमा ढुंगा खस्ने समस्याले साना तथा ठुला सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई सास्ती भएको छ । लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावटका कारण म्याग्दी र मुस्ताङको अवरोध पन्छाउँदै सञ्चालन गर्ने गरिएको छ । अस्तब्यस्त सडकका कारण उत्तरी म्याग्दी, मुस्ताङका स्थानीय, कर्मचारीका साथै पर्यटकले नाकै ठोकिने पहाडबाट डोरीको साहरामा यात्रा गर्नुपर्ने बाध्यता छ ।

सडकमै भ्वाङ परेपछि एकसातासम्म सडक अरुवद्ध भएको थियो । गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरउन्नतीमा डोजर,स्काभेटर, ब्रेकेरको प्रयोगले समेत धेरै ठाउँमा चर्किएको पहाडमा कुनै पनि बेला पहिरो खसेर सडक बन्द हुन सक्ने अवस्था रहेकाले रातीको समयमा यात्रा नगर्न प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले अपिल गरेका छन् । गलेश्वरदेखि मुस्ताङको सिमानसम्म यात्रुले यात्रामा सास्ती खेप्नुपरेको छ ।