पिच गरेलगत्तै उप्कियो कालोपत्रे

आर्थिक बर्षको अन्त्यमा बेनीबजारमा गरिएको कालोपत्रे गुणस्तरहिन देखिएको छ । नगरपालिकाको वडा नं ७ र ८ अन्तरगत विभिन्न चोकमा गरिएको दुईतीन दिनपछि नै पिच उप्किन थालेकोअसारको अन्तिममा बर्षासँगै हतारहतारमा गरिएको कालोपत्रे ठाउँठाउँमा उप्किन थालेको भन्दै तत्काल छानविन गर्न स्थानीयले माग गरेका छन्। बेनी नगरपालिका वडा नं ७ का केही र वडा नं ८ मा पिचमाथि पिच गरिएको चर्को आलोचना भइरहेको अवस्थामा साता दिन नटिक्दै उप्किन थालेको स्थानीयले गुनासो गरेका छन् ।

‘पिच भएकै दिनदेखि उप्किन थालेको हो,’ हतारहतारमा बजेट सक्ने प्रयास गरिएको छ’ गणेशटोलका एक स्थानीयले भने । उनले जनप्रतिनिधिहरु नै स्थलगत अनुगमन तथा सक्रिय भएर काम गरिएपनि गुणस्तरीय नभएको भन्दै तत्काल मापन गर्न अनुरोध गरेका छन् । उपभोक्ता समितिमार्फत गरिएको कालोपत्रेका बारेमा स्थानीयले जनप्रतिनिधिलाई समेत जानकारी गराएका छन् । एकसातासम्म लगातारको बर्षाले पिचमा असर गरेपनि विना अनुगमन नगरपालिकाले आर्थिक बर्षको अन्त्य भन्दै उपभोक्ता समितिले हतारहतारमा गरेको कालोपत्रेको भुक्तानीको तयारी गरेको छ ।

मंगलबार चालु आवको अन्तिम दिन भएपनि केही ठाउँमा सम्झौता अनुसारको काम बाँकी छ । अनुकुल मौसममा गर्नुपर्ने काम अन्तिम समयमा गरिएकाले बर्षाले कालोपत्रेमा प्रयोग गरिने अलकत्रामा असर गर्ने भएकाले पनि असार महिनाका गरिएको पिच दिगो नहुने प्राविधिकको भनाई छ । बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ मा वडा नं ७ र ८ अन्तरगत पर्ने बेनीबजारको संगमचोकदेखि क्याम्पसचोकसम्म, इन्द्रेणी टोल, बैंकरोड आसपासका क्षेत्रमा कालोपत्रे भइरहेको छ ।

पटकपटक पिचमाथि पिच गरिएको बजारभित्र करिव १८ लाख बजेट विनियोजन गरिएको थियो । यता उपभोक्ता समितिले समेत पिचमा देखिएको कमजोरी स्वीकार गरेका छन भने नगरपालिकाका प्राविधिकले स्थलगत अनुगमन नगरी भुक्तानी दिन नहुने अडानमा रहेको बताइन्छ। बेनी नगरपालिकाभित्रका ग्रामिण सडक हिउँदमा आवतजावत गर्न समेत मुस्किल हुने गरेको अवस्थामा बजारभित्र कालोपत्रे माथि कालोपत्रे गरी बजेट सक्ने प्रबृत्तिको सामाजिक सञ्जालमा समते तिब्र असन्तुष्टी प्रकट गरिएको छ ।