विषादी च्याउ खाएर एक बालकको ज्यान गयो

जंगली च्याउ खाएर सिकिस्त बिरामी भएका एक बालकको मृत्यु भएको छ । जिल्लाको मंगला गाउँपालिका–१ पूर्णगाउँमा बस्ने जमुना कुँवरका छोरा ऋषि कुँवरको उपचारको क्रममा पोखराको मणिपालमा मृत्यु भएको हो । खेतबारीबाट ल्याएर च्याउको तरकारी बनाएर खाएपछि परिवारका ६ जनै बिरामी भएका थिए । विषालु च्याउ खाँदा वित्तिकै बान्ता, पखाला र टाउको दुख्न थालेपछि स्वास्थ्य चौकीमा उपचार गरेपनि निको नभएपछि थप उपचारका लागि पोखरा लगिएको अवस्थामा मृत्यु भएको राष्ट्रिय जनजागृति माविका प्रधानाध्यापक टेक राम्जालीले बताए ।

विद्यालयमा कक्षा ५ मा अध्ययरत मृतक कुँवर, उनकी दिदी तारा कुँवर र भाई ओमप्रकाश कुँवरलाई थप उपचारका लागि पोखरा लगेपछि गाउँमा जानकारी भएको थियो । उपचार गरिरहेका अन्य विरामीको अवस्था सुधारउन्मुख रहेको छ ।  थोरै खानेलाई समान्य असर देखिएपनि तीनैजनाले धेरै खाएकाले सिकिस्त भएको चिकित्सको भनाई उद्धित गदैं राम्जालीले बताए ।

उनका अनुसार बनजंगल तथा आसपासका क्षेत्रमा भेटिने च्याउको पहिचान नगरी खाँदा सर्तक हुनुपर्ने भएकाले विद्यालय खुलेपछि जनचेतनामुलक सन्देश प्रवाह गर्ने बताए । मृतक कुँवरका बुवा सम्पर्कमा छैनन् भने मामाको घर तथा खेतबारीको प्रयोग गरी जीवन निर्वाह गर्ने गरेका छन्। बिरामी भएलगत्तै स्वास्थ्य चौकी र

धामीझाँक्रीलाई देखाउँदा समेत निको नभएपछि मात्रै घटना सार्वजनिक भएको थियो ।जंगल, भिर, कान्ला, खोल्सा र बारीमा आफैँ उम्रने च्याउ धेरैजसो विषालु हुने र यसको सेवनबाट मृत्यु हुने सम्भावना बढी हुने भएकाले प्रयोग नर्गन बेनी अस्पतालका क्लिनिकल प्रमुख डा. नवराज बस्ताकोटीले बताए । उनका अनुसार बर्खाको समयमा च्याउ खाएर विरामी हुनेको संख्या अत्याधिक हुने भएकाले पनि पहिचान गरेर मात्रै सेवन गर्नुपर्ने बताए । उनले ब्यवसायीक रुपमा कृषकले खेती गरी उत्पादन गरेका च्याउ खतरामुक्त हुने बताए ।