बेनी पिस सिटीले अपाङ्ग घिमिरेलाई आर्थिक सहयोग

लायन्स क्लव पिस सिटीले शारीरिक अपांगताका कारण पीडामा छटपटाइरहेका कृष्णबहादुर घिमिरेलाई आर्थिक सहयोग गरेको छ । शनिबार पदस्थापना कार्यक्रमको अवसरमा बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट हाल मंगलाघाट बस्ने घिमिरेलाई उपचार तथा घरायसी खर्चका लागि २५ हजार ५५५ रुपैयाँ क्लवका संस्थापक अध्यक्ष राजेश शाक्य, जोन चियरपर्सन एवम् निवर्तमान अध्यक्ष लोकेश पुन र अध्यक्ष नरेश श्रेष्ठले हस्तान्तरण गरेका थिए ।

विगत १५ बर्षदेखि ह्विलचियरमा आवतजावत गर्ने गरेका घिमिरेको शरीरमा घाउ भएपछि उपचारमा आर्थिक समस्यालाई मध्यनजर गरी क्लवले मानवीय सहायता अन्तरगत उक्त सहयोग गरेको जनाएको छ ।बि.श २०६१ साल फागुन १९ गते घरको नजिकै बाँसको घाँस काट्ने क्रममा लडेर मेरुदण्ड भाँचिनुका साथै शरीरका विभिन्न विभिन्न भागमा ठूलो चोट लागेपछि थलिएका घिमिरेको बस्नेठाउँ र अगाडी पछाडी, पेट, मेरुदण्ड लगाएतका अङ्गहरुमा घाउ बल्झिएपछि उपचारमा सहयोग गरिएको क्लवका निर्वतमान अध्यक्ष पुनले बताए ।

‘उहाँको समस्यामा केही राहत हुनेछ,‘थप सहयोगका लागि अपिल गर्दछौ’ पुनले भने । जीवन मरणको दोसाँधमा रहेको अवस्थामा स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले केही राहत महसुस भएको घिमिरेले बताए । दुई छोरा, श्रीमति र आफ्नो लागि आर्थिक अभावले उपचार, शिक्षादिक्षा, लत्ताकपडा लगाएतको सहयोग जुटाउन समस्या भएको घिमिरेको भनाई छ । क्लवको पदस्थापना तथा सहयोग हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष शाक्यले क्लवमार्फत समुदायको आयआर्जन तथा सामाजिक तथा मानवीय सेवामा गरिएको सहयोगलाई निरन्तरता दिन अनुरोध गरे ।

क्लवले स्थापनाकालको छोटो समयमा बेनपा १ र ६ मा बहुमुल्य बोधिचित्तको विरुवा रोपण, म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययरत सोमप्रसाद सापकोटालाई बार्षिक ६६ हजार ५ सय सहयोग, २ वटा ह्विलचियर वितरण, एक विद्यार्थी एक शैक्षिक अभिभावक अन्तरगत १ लाख ५० हजार सहयोग, विद्युतीय पुस्तकालयमा ९२ हजार ५ सय सहयोग, कान नसुन्नेलाई उपकरण सहयोग, गलेश्वर बृद्धआश्रममा भोजन सहित दर्जनौ सामाजिक कार्य गरेको छ । यसैबीच क्लवका नवनिर्वाचत अध्यक्ष नरेश श्रेष्ठले विगतका लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिदैं थप नयाँ कार्यक्रम मार्फत म्याग्दी जिल्लाको सदरमुकाम बेनीदेखि दुर्गम क्षेत्रसम्म पुग्ने बताए ।