धौलागिरी सहकारीले दियो पवित्रालाई स्नातक पढ्ने खर्च

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले बेनी नगरपालिका–९ तिनमानेकी पबित्रा खत्रीलाई छात्रबृत्ती प्रदान गरेको छ । चरम गरिबीका कारण पठनपाठनमा समस्याभ भएपछि सहकारीले वार्षिक रुपमा म्याग्दी क्याम्पसमा लाग्ने सम्पूर्ण खर्च पुग्ने गरी छात्रबृत्ती स्वरुप रकम उपलब्ध गराएको हो । शुक्रबार एक कार्यक्रमका बीच पवित्रालाई यस वर्ष १५ हजार ८ सय रुपैंया उपलब्ध गराएको सहकारीका अध्यक्ष लिला बानियाँले बताए। पबित्राले भर्ना शुल्क तिरि सकेकोले बाँकी खर्च उपलब्ध गराएको अध्यक्ष बानियाँले बताए ।

म्याग्दी बहुमुखी क्याम्पसको स्नातक मानविकि संकाय पहिलो वर्ष अध्ययनरत छात्रा खत्रीलाई स्नातक तह उत्तीर्ण हुने समय सम्म छात्रवृत्तिवापत क्याम्पसमा तिर्नु पर्ने सबै खर्च सहकारीले ब्यहोर्ने निर्णय गरीएको सहकारीका सचिव रामजी प्रसाद सुवेदीले बताए ।गलेश्वर माध्यमिक विद्यालयबाट कक्षा १२ सम्मको अध्ययन सकेकी खत्री स्नातकतह अध्ययनका लागि म्याग्दी क्याम्पसमा भर्ना भएकी छिन् ।

विगतका बर्षमा समेत प्लस टु तथा क्याम्पस तहमा अध्ययनका लागि सहयोग गदैं आएको सहकारीले विपन्नतका कारण जानकारी पाएपछि सहयोग गरेको सहकारीका प्रवन्धक बसन्त श्रेष्ठले बताए । यसअगाडी क्याम्पसमा दृष्टिविहिन गोपाल खत्रीलाई समेत चारबर्षसम्म सहकारीले नै सम्पूर्ण खर्च ब्यवस्थापन गरेको थियो । त्यस्तै सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याउने गरीब तथा जेहन्दार तीन जना विद्यार्थीहरुलाई सहयोग गर्दै आएको छ ।सहकारीकै खर्चमा दुईजना विद्यार्थीले ईन्जिनियरसम्म निशुल्क अध्ययन समेत गरेका छन । बार्षिक शिक्षा कोषमार्फत सहकारीले करिव ५० हजारको हाराहारीमा जेहेन्दार विद्यार्थीको शिक्षामा खर्च गर्ने गरेको छ ।

ग्रामिण क्षेत्रमा सहकारी मार्फत कृषि, पर्यटन, पशुपालन, साना ब्यापार लगाएत विभिन्न क्षेत्रमा लगानी विस्तारलाई तिब्रता दिएको सहकारीले म्याग्दीको पश्चिम म्याग्दीका साथै छिमेकी पर्वतको जलजला गाउँपालिका कार्यक्षेत्र विस्तार गरेको छ । ‘सहकारीको ६ करोड २२ लाख १४ हजार १ सय शेयर पुँजी रहेको सहकारीले ३९ करोड बचत संकलन गरेको छ भने ३७ करोड ऋण लगानी गरेको छ ।जिल्लामा सबैभन्दा बढि रेमिट्यान्स भुक्तानी गर्ने सहकारीले सामाजिक कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएको छ ।