कालीगण्डकी नदीले सडक बेनी-जोमसोम–कोरला सडक बगायो : पुल समेत भत्कने अवस्थामा

अविरल वर्षाका कारण कालीगण्डकी नदीमा पानीको सतह बढेर सडक बगाएपछि कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरला सडक शुक्रवार दिउँसो ४ बजेदेखि अवरुद्ध भएको छ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ मा पर्ने सडकखण्डको बाँदरजुङेगेभीरमा कालीगण्डकी नदीले सडक कटान गरेर बगाएपछि सडक अवरुद्ध भएको हो ।

नदीले करिब ५ मिटर सडक बगाएको छ । बेनी–जोमसोम–कोरला सडक खण्डका सुपरभाइजर इन्द्रसिं शेरचनले दिएको जानकारी अनुसार अचानक कालीगण्डकीमा पानीको सतह बढेपछि नदीको धार सडकतिर फैलिदा कटान गरेको हो ।नदीले सडक बगाएपछि मुस्ताङबाट बेनीतर्फ आउँदै गरेका र बेनीबाट मुस्ताङतर्फ जाँदै फर्कदै सवारीसाधन र यात्रुहरु विचैमा अलपत्र परेका शेरचनले जानकारी दिए । सडकको भित्तापट्टि ठूलो पहरो रहेकाले तत्काल सडक खुलाउन सक्ने कुनै सम्भावना नरहेको उनले बताए ।

त्यसैगरी बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका १ र अन्नपूर्ण गाउँपालिका ७ को सिमाना स्थित कालीगण्डकी नदीमाथि रहेको बेलिब्रिज पनि जोखिममा परेको छ ।कालीगण्डकीको कटानका कारण अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जोड्ने सडक अन्तरगत पर्ने तिप्ल्याङको बेलिब्रिज जोखिममा परेको हो । कालीगण्डकीले महभिर तर्फको पुलको बिम कटान गरेर भत्काउन थालेको छ ।

कालीगण्डकीको कटानका कारण मेसिनरी पर्खालको बिमको छेउमा सडक भासिएको छ । केही माथि पक्कि मोटरेबल पुल निर्माणका क्रममा गराइएको कालीगण्डकी डाइभर्सनका कारण बेलिब्रिज कटानको चपेटामा परहेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर शेरचनले कटानका कारण पुलको बिम जुनसुकै बेला भत्कीने खतरा भएको र पुलमा जाने सडक साघुरिएकाले दुर्घटनाको जोखिम बढेको बताए ।

नदी कटानका कारण पुल भत्कने अवस्थामा पुगेपछि रोकथामका लागि ठूला ढुंगा राखेर काम गर्दै गरेको अवस्थामा नदीमा पानीको सतह बढेपछि समस्या भएको शेरचनले जानकारी दिए । नदीले सडकनै बगाएपछि सडक कहिले खुल्छ भन्ने वारे कुनै टुङ्गो नभएको उनले बताए ।