फेरियो रोपाइँको रौनक : हलगोरुको ठाउँमा ट्याक्टर र मिनिटिलर थन्किए अब हलो,जुवा र हल्लुडो

प्रविधिको बढ्दो प्रयोगसंगै हिमाली जिल्ला म्याग्दीमा रोपाइँको रौनक पनि फेरिएको छ । नेपालीहरुको मुख्य बाली धान रोप्न खेत जोत्नका लागि परम्परागतरुमा प्रयोग हुँदै आएका हलगोरुको ठाउँमा अव खेतका गह्रा र फोहोटामा पनि ट्याक्टर र मिनिटिलर प्रयोग हुन थालेका छन् । गाउँमा हलगोरु पाल्ने चलन हराउँदै गएको छ भने हलो,जुवा लगाएतका परम्परागत कृषि सामाग्री निर्माण गर्ने रैथाने सीप पनि विस्थापित भएको छ ।

कृषिमा प्रविधिको प्रयोग बढ्दै जाँदा कृषकलाई सुविधा पुगेको छ । कृषकहरु निर्वाहामुखी कृषि प्रणालीबाट विस्तारै व्यावसायिक कृषितर्फ आकर्षित हुँदै गएका छन् भने परम्परागत तरिकाले खेति लगाउँदा व्यहोर्नु पर्ने धेरै किसिमका झन्झटहरुबाट पनि मुक्ति मिलेको कृषकहरुले बताएका छन्।

‘पहिला पहिला खेत जोत्नका लागि हलि र गोरु खोज्नु पर्ने, गोरुलाई घाँसको व्यवस्था गर्नु पर्ने,दिनभरी गोरुको पछिपछि हिलोमा ओहोरदोहोर गर्नुपर्ने लगाएतका धेरै झन्झट हुने गर्थे’ मिनिटिलरबाट खेत जोतेर रोपाइँ गर्दै गरेका बेनी नगरपालिका ४ सिंगाका कृषक नारायण पौडेलले भन्नुभयो ‘अहिले पानीको मात्रै जोहो गर्न सक्यो भने हाइसन्चो हुन्छ । मिनिटिलर वा ट्याक्टर लगायो एकै छिनमा मेलो सकिन्छ ।’

कृषकहरुका अनुसार गोरुले जोत्दा ६÷७ दिन लाग्ने मेलो (खेत) मिनिटिलर वा ट्याक्टरबाट एकै दिनमा सकिने,लागत र झन्झट पनि कम लाग्ने हुँदा परम्परागत हलगोरुको साटो यान्त्रिक पद्यतितर्फ आकर्षण बढेको हो । ‘रोपाहार र बाउँसेको व्यवस्था हुने हो भने हलोले ६÷७ दिन लाग्ने खेत मिनिटिलरबाट एक दिनमा नै रोपेर सकिन्छ’ बेनी नगरपालिका वडा नं २ का कृषक भीमवहादुर रिजालले भन्नुभयो ।

वैदेशिक रोजगारीका कारण गाउँमा कृषि मजदुर र जनशक्तिको अभाव हुन थालेको बेला मिनिटिलर र ट्याक्टर उपयोगी माध्यम भएका स्थानीय कृषकहरुले बताएका छन् । अहिले म्याग्दीका सवै गाउँहरुमा मिनिटिरले प्रयोग व्यापकरुपमा हुन थालेको छ । हलगोरु नारेर खेती गर्ने चलन हराउँदै गएको छ । कृषिमा आएको यान्त्रिक प्रयोगका कारण गोरु पाल्ने, वाह्रै महिना घाँसपात गर्ने र हेरालु राख्नु पर्ने झन्झट पनि हटेको कृषकहरुको भनाइ रहेको छ ।

प्रविधिको प्रयोग गरेर खेती गर्न थालिएपछि म्याग्दीमा वर्षैदेखि बाँझो रहेको जमिनमा पनि पछिल्लो समय खनजोत गरी खेती गर्न थालिएको छ । आग्र्यानिक कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको मंगला गाउँपालिकाले कृषिमा यान्त्रीकरण र व्यावसायीकरण गर्दै वाँझो जमिनलाई पनि हराभरा बनाउने अभियान थालेको छ । ‘अव कृषि क्षेत्रमा पहिलाको जस्तो झन्झट छैन,प्रविधिको प्रयोग गरेर गाउँमा बाँझो रहेको जग्गाको सदुपयोग गरी आग्र्यानिक खेतीमा जोड दिएका छौं’मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।म्याग्दीका ६ वटै स्थानीय तहले कृषिमा प्रविधिको प्रयोगलाई विशेष महत्व दिँदै मिनिटिलर देखि लिएर विभिन्न किसिमका कृषि उपकरणहरु कृषकलाई निशुल्क वा अनुदानमा वितरण गरेका छन् ।

म्याग्दीको ३ हजार ८ सय ९२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोइरालाले गत साल म्याग्दीमा १३ हजार ९ सय ७८ मेट्रिक टन धान उत्पादन भएको जानकारी दिनुभयो ।म्याग्दीमा गौरी,जर्नेली,गुडुरा,जेठोबूढो,मार्सि,ताकमारे,भट्टे पहेंले,लगाएतका रैथाने र छमरुङ,माछापुच्छ«े,अन्नपूर्ण ३, खुमल १०,लुम्ले २ लगाएतका उन्नत जातका धान खेती हुने गरेको छ ।