म्याग्दीमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी 

म्याग्दीमा प्रधानमन्त्री स्वरोगार कार्यक्रम प्रभावकारी भएको छ । जिल्लाका ६ मध्ये ५ वटा स्थानीयतहमा शुरु गरिएको यस कार्यक्रममार्फत तटवन्ध निर्माण,सडक मर्मत,पदमार्ग निर्माण,सिंचाइ कुलो निर्माण लगाएतका दीर्घकालिन महत्वका कामहरु समेत भएका छन् । म्याग्दीको बेनी नगरपालिका बाहेक अन्य पाँचवटा गाउँपालिकामा यो कार्यक्रम शुरु भएको हो। कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना मार्फत छोटो समयमा पनि विकासका राम्रा कामहरु भएका स्थानीयले बताएका छन् ।

देशका कतिपय स्थानीय तहहरुमा कार्यक्रमको प्रभावकारितामा आशंका र विभिन्न किसिमका आलोचना भैरहेको बेला म्याग्दीमा भने यो कार्यक्रमको परिणाम राम्रो देखिएपछि स्थानीय र सरोकारवाला संघसंस्था र निकायले पनि प्रशंसा गरेका छन् । जिल्लाको सबैभन्दा दुर्गम धौलागिरि गाउँपालिकामा यस कार्यक्रममार्फत सडक मर्मतदेखि लिएर तटबन्ध निर्माणसम्मका कामहरु भएका छन् । यस आयोजनाबाट गाउँपालिकाका १२० जनाले रोजगारी पाएका धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो ।

त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २८ लाख रुपैयाँ बजेट पाएको मंगला गाउँपालिकामा पनि यस कार्यक्रममार्फत निकै राम्रा कामहरु भएका स्थानीय श्रीराम पौडेलले बताउनुभयो । यस कार्यक्रममार्फत मंगलामा १२२ जनाले रोजगार पाएका छन् । उनीहरुले सडका सोलिङ गर्नेदेखि लिएर बाटो मर्मत,सरसफाई,नहर मर्मत लगाएतका कामहरु गरेका छन् । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु ३० लाख बजेट प्राप्त गरेको मालिका गाउँपालिकाले सानो बजेटमा पनि राम्रा कामहरु गरेको पाइएको छ ।

मालिकामा गाउँपालिकाको बजेटले सम्वोधन गर्न नसकेका विकास निर्माणका कामहरु पनि यस कार्यक्रममार्फत सम्पन्न भएको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया विटालुले बताउनुभयो । मालिका गापाका विभिन्न वडामा यस कार्यक्रममार्फत पदमार्ग निर्माण भएको छ । सडक मर्मत गरिएको छ भने समुदायको लागि आवश्यक पर्ने ससाना विकास निर्माणका कामहरु भएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वुद्धिराम शर्माले बताउनुभयो ।

उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाले त प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आएको बजेटमा गाउँपालिकाको समपुरक कोषबाट २५ प्रतिशत लगानी थप गरी कार्यक्रम संचालन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा समुदाय र गाउँपालिकाको अपनत्व समेत बृद्धि गर्न सह लगानी गरेको गाउँपालिकाका अध्यक्ष भबवहादुर भण्डारीले बताउनुभयो । रघुगंगा गाउँपालिकाले पनि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पदमार्ग निर्माण,बाढी पहिरोबाट वस्ती संरक्षण गर्न तटबन्ध निर्माण,सडक मर्मत,खेलमैदान निर्माण लगाएतका कामहरु गरेको छ ।

त्यस्तै ८ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिकामा पनि प्रत्येक वडामा २ लाख ३६ हजार रुपैयाँ बजेट छुट्याएर धमाधम काम भैरहेको छ । अन्नपूर्णमा १ सय ४० जनाले रोजगारी पाएका अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता एवम् वडा नं ६ घारका वडाअध्यक्ष कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो । बेनी नगरपालिकामा कार्यक्रमका लागि रु ४७ लाख बजेट आएपनि काम हुन सकेको छैन । मेयर–कार्यपालिका सदस्यहरु विचको विवादका कारण विगत दुई महिनादेखि नगर कार्यपालिकाको वैठक वस्न नसक्दा यो कार्यक्रम नै अन्योलमा परेको हो ।