म्याग्दीका गाउँमा पुगेन,सरकारको ‘खाता खोलौँ’ अभियान 

नेपाल सरकारले ‘खोलौं बैंक खाता’ अभियान सञ्चालन गरेको तीन महीना पूरा भैसक्दा पनि म्याग्दीका ग्रामीण क्षेत्रका जनतासम्म यो अभियान पुग्न सकेको छैन । ‘समृद्धिसँग जोडौं नाता, हरेक नेपालीको बैंक खाता’ भन्ने नाराका साथ सरकारले बैशाख एक गतेदेखि सुरु गरेको यो अभियानलाई जनप्रतिनिधिहरु र सरोकारवालाहरुले वेवास्ता गर्दा ग्रामिण भेगका जनता सरकारको अभियानबाट लाभान्वित हुन नसकेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १ गते शुरु गरेको यो कार्यक्रम तीन महिना बिते पनि यहाँका नागरिकलाई खासै जानकारी नभएको बताउँछन् । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा हरेक नेपालीको बैंक खाता र्पुयाउने कार्यक्रम समावेश गरेको थियो । सोही नीतिबमोजिम सरकारले नयाँ वर्षको अवसर पारेर २०७६ साललाई खोलौं बैक खाता अभियान २०७६ को रुपमा अगाडि बढाएको हो ।

सरकारले प्रमाणित गरेको कुनै एउटा मात्रै प्रमाणपत्र भए खाता खोल्न सकिने राष्ट्रिय बाणिज्य बैंक बेनीले जनाएको छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणहरूलाई प्रेरित गर्न बैंकको सामाजिक उत्तदायित्वअन्तर्गत जम्मा भएको रकमबाट हरेक खातामा एक सय रुपैयाँ जम्मा गर्ने जनाएको छ । यो रकम कुनै पनि बैंक तथा वित्तीय संस्थामा यस अघि खाता नखोल्नेहरूलाई मात्रै जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । मालिका गाउँपालिका वडा नं २ रुमकी विष्णु पुनलाई आजसम्म ‘खौलौ बैंक खाता’ सम्बन्धी केही पनि जानकारी छैन ।

त्यसैगरी मंगला गाउँपालिका ५ अर्मनका कृष्ण कडेल,धौलागिरि गाउँपालिका ३ मुनाका विजय पुन,अन्नपूर्ण गाउँपालिका ४ नारच्याङकी तिलु फगामी, रघुगंगा गाउँपालिका १ बेगका धनवहादुर फगामी र बेनी नगरपालिका ३ भकिम्लीकी शोभा विकलगाएत ग्रामिण भेगका अधिकांश कुनै वैंकमा पनि बैंकखाता नभएका व्यक्तिहरुले यो अभियानको वारेमा जानकारी नपाएको बताएका छन् । यो कार्यक्रम जनतासम्म पु¥याउन नसक्दा प्रभावकारी नदेखिएको रघुगंगा गाउँपालिका १ दोवाका वडाअध्यक्ष विलवहादुर फगामीले भने । उनले भने ‘यो कार्यक्रम आफैमा राम्रो छ, तर व्यापक रुपमा प्रचारप्रसार हुन जरुरी छ, त्यसका लागि गाउँमा क्याम्पेन राख्नुपर्छ।’