बेनी–जोमसोम–कोराला सडक निर्माणको काममा ढिलाई, स्थानीय असन्तुष्ट

बेनी–जोमसोम–कोराला सडक निर्माणको काममा ढिलाई भएपछि स्थानीय असन्तुष्ट बनेका छन् । समग्रमा ५५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको दाबी छ । नेपाली सेनाले ट्रयाक खोलेर सडक विभागलाई हस्तान्तरण गरेपनि कालोपत्रेको काम हुन सकेको छैन । ठेकेदार कम्पनी भने म्याद थप गर्ने दाउमा रहेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना जोड्ने यो सडक निर्माणमा भने ढिलाई भइरहेको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना कोरला नाकासम्म पुग्ने सडकको निर्माण तिब्र पारिएको छ । अहिले म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम र कोरलातर्फको १ सय ८६ किलोमटिर सडक निर्माणको काम एकसाथ भइरहेको हो । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको समग्रमा ५५ प्रतिशत भौतिक प्रगति छ । यसै आर्थिक बर्षमा बेनी–जोमसोम सडक कालोपत्रे गर्ने लक्ष्य राखेपनि पुल निर्माण ढिलो भएकोले यसबर्षको कालोपत्रे नहुने भएको छ ।

अहिले बेनीको गलेश्वरदेखि कोरलासम्म ८ खण्डमा काम भइरहेको छ । सडक निर्माणको काम ३ बर्षमा काम सक्ने गरी सडक विभागसँग सम्झौता भएको थियो । तर काम गर्ने समय ६ महिनामात्रै बाँकी रहँदा निर्माण कम्पनी भने म्याद थप गर्ने तयारीमा छ ।

अहिले बेनीदेखि मुस्ताङको लेतेसम्म सडक स्तरोन्नतीको काम भइरहेको छ भने लेतेदेखि जोमसोमसम्म ग्राभेलभइरहेको छ । जोमसोमदेखि कोरलासम्मको सडक कालोपत्रे गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल कांग्रेसले दबाब दिएको छ । तातोपानी र केरुङ नाकासम्मको सडक साँघूरो र कमजोर भइरहेका बेला जोमसोमदेखि कोरलातर्फ ११ मिटर फराकिलो सडक निर्माण भइरहेको छ । २०६४ मा नेपाली सेनाले ट्रयाक खोलेर २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको बेनी–जोमसोम सडक कच्ची अवस्थामा छ ।

जोमसोम–कोरलाखण्डको विसं २०७३ देखि सडक स्तरोन्नतिको काम शुरु भएको हो । दुई अर्ब ५० करोडमा ठेक्का पाएका निर्माण कम्पनीले समयमा पुल निर्माणको काम नसक्दा मुस्ताङबासी आक्रोशित भएका छन् ।