ओढारको तलपट्टी बर्खे भेलले उर्लेको खोला, विचमा खेत र खेतको माथिल्लो पट्टी एउटा सानो ओढार । त्यही ओढारमा अत्यन्त टीठ लाग्दो अवस्थामा भेटिन्छन् ६५ वर्षिय हिरावहादुर पुर्जा । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं १ तिप्ल्याङका हिरावहादुर पुर्जा विगत १ महिनादेखि ओढारमा वस्दै आउनुभएको छ ।

घरजग्गा केही नभएका (सुकुम्वासी) पुर्जा यस अघि आफ्ना दाजु लोदे पुर्जासंगै तिप्ल्याङमा अर्कैको घरको एउटा कोठामा वस्नु हुन्थ्यो । ८० वर्षिय दाजु लोदेसंग झगडा भएपछि उहाँ गत जेठको अन्तिम सातादेखि ओढारमा वस्न थाल्नु भएको रघुगंगा गाउँपालिका वडा नं १ का वडा सदस्य बलमान गौचनले जानकारी दिनुभयो ।

वडा सदस्य गौचनका अनुसार गाउँमा उनीहरुको सम्पत्तिको नाममा एक टुक्रा जग्गा र एउटा छाप्रो समेत छैन । न त उनीहरुको नाता सम्वन्धीहरु नै छन् गाउँमा । कहाँबाट आएर कहिलेदेखि यी दुईभाइ गाउँमा वस्न थालेका हुन् भन्ने कुराको जानकारी समेत गाउँलेलाई छैन । गाउँका बृद्धवृद्धाहरुबाट उनीहरु गाउँमा देखिएको ५० वर्ष भन्दा बढि भएको आफूले जानकारी पाएको वडासदस्य गौचनले जानकारी दिनुभयो । ‘गाउँमा न उनीहरुका कोही आफन्ती छन्, न त सम्पत्ति छ’ गौचनले भन्नुभयो ‘उनीहरुको आफन्तको वारेमा पत्ता लगाउन हामीले धेरै कोशिस ग¥यौं तर पत्ता लगाउन सकिएन ।’

गौचनका अनुसार पहिला पहिला दुई भाइले गाउँमा ज्याला मजदुरी गरेर खाने गर्थे । दाजु लोदे( वास्तविक नाम थाहा हुन नसकेको) ले काम गर्न नसक्ने भएपछि उनीहरुको विजोग भएको हो । जेठसम्म दुई भाइ एउटै कोठामा वस्थे । तर,उनीहरुको विचमा झगडा भएपछि भाइ हिरावहादुर त्यहाँबाट निस्केर खेतको कुनापट्टी रहेको ओढारमा वस्न थालेका र यो कुरा आफूले केही दिन अघिमात्र थाहा पाएको गौचनले जानकारी दिनुभयो ।

गौचनका अनुसार भाइ हिरावहादुरले २०४६ सालमा गाउँमा आएको घुम्तीटोली मार्फत नागरिकता बनाएका छन् । तर उनको नागरिकतामा फोटो छैन । दाजु लोदेको भने अहिलेसम्म नागरिकता बनेको छैन । दुई भाइ नै अविवाहित हुन् । हिराबहादुरको नागरिकतामा बुबाको नाम पदमबहादुर पुर्जा उल्लेख भएको छ । हिरावहादुर ओढारमा वस्न थालेको कुरा जानकारीमा आएपछि वडाअध्यक्ष विलवहादुर फगामीको ध्यानाकर्षण भएको छ ।

गाउँपालिकामा यी दुई भाइको व्यवस्थापन गर्ने विषयमा छलफल भएको र उनीहरुलाई वासस्थानका लागि सार्वजनिक जग्गामा भए पनि घर बनाइदिने विषयमा सवै सहमत भएको वडाअध्यक्ष फगामीले बताउनुभयो । उनीहरुलाई अहिले तत्कालै १ लाख रुपैयाँ खर्च गरेर वस्ने वास र खाने चिजहरुको व्यवस्था गर्नुका साथै भाइ हिरावहादुर पुर्जाको नागरिकताको आधारमा दाजु लोदे पुर्जाको पनि नागरिकता बनाइदिने निर्णय भएको वडाअध्यक्ष फगामीले जानकारी दिनुभयो ।