बेनीमा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

म्याग्दीको सदरमुकाम बेनीमा जिल्लास्तरीय पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा यही असार महिनाको २४ र २५ गते ६ स्थानीय तहमा भएको राष्ट्रपति कपमा स्वर्ण र काँस्य पदक विजेता खेलाडीको सहभागीता रहने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णबहादुर विश्वकर्माले बताए। उनले रनिङशिल्ड प्रतियोगितामा सहभागि भएर प्रथम हुने खेलाडीहरुलाई २६ र २७ गते हुने गण्डकी प्रदेश पोखरामा हुने प्रतियोगितामा सहभागि गराइने बताए ।

प्रतियोेगितामा छात्र÷छात्रा भलिबल, कवड्डी, एथलेटिक्स र मार्शल आर्टतर्फ उसु, तेक्वान्दो र कराते बिधाका खेल सञ्चालन गरिने भएको छ। स्थानीय तहका विद्यालयले प्रतियोगितामा सहभागिता हुने प्रतियोगितामा बिजेतालाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी समेत प्रदान गरिने छ । स्थानीय तहस्तरीय प्रतियोगितामा नीजि तथा सामुदायिक विद्यालयको तिब्र प्रतिस्पर्धा रहेको थियो । बेनी नगरपालिका सहित जिल्लाका पाँचवटै गाउँपालिकाका विद्यार्थीको उपस्थितीमा हुने प्रतियोगिताले विभिन्न विधाका खेलमा जिल्लास्तरीय खेलाडीको पहिचान गरी थप तालिमलाई सहज हुने खेलकुद विकास समितिले जनाएको छ ।

गण्डकी प्रदेश पोखरामा हुने प्रतियोगितामा म्याग्दीबाट अफिसियलसहित ७८ जना खेलाडी सहभागिता हुने छन्। प्रदेशमा सहभागि भएर उतकृष्ट खेल प्रदर्शन गर्ने खेलाडी २९, ३० र ३१ गते काठमाण्डौमा हुने राष्ट्रपति कप प्रतियोगितामा सहभागि हुन पाउने छन् । यसैबीच प्रतियोगिता संचालनका लागि १० उपसमितिका साथै ६ वटा खेल विधाका संयोजक तोकिएको कार्यालय प्रमुख दानबहादुर राइले जानकारी दिए ।