म्याग्दी समाज न्यूर्योकले खेलकुद प्रतियोगिता गर्ने

म्याग्दी समाज न्यूर्योक अमेरिकाले स्थानीय तहस्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । न्यूर्योकमा रहेका म्याग्देलीको एकता र सहकार्यसँगै विभिन्न कार्यक्रममार्फत संस्थामा आवद्ध गराउने अभियान अन्तरगत आगामी जुलाई १५ मा पुरुष भलिबल र महिला मैत्रीपूर्ण खेल सञ्चालन गरिने समाजका सचिव याम पुनले बताए । ‘भब्य रुपमा सम्पन्न गर्ने तयारीमा छौ,‘केहीदिनमै पुरस्कार सहितको विवरण समेत सार्वजनिक गर्नेछौ’ पुनले भने ।

उनका अनुसार उक्त दिन लठो तान्ने, छेलो हान्ने लगाएत बालबालिका केन्द्रित खेल समेत सञ्चालन गरिने छ । न्यूर्योकमा रहेका म्याग्देलीको साझा संस्था समाजले विगतमा समेत खेलकुद सहित विभिन्न सामाजिक कार्यबाट संकलन भएको आर्थिकलाई विपद्मा परेका म्याग्देलीलाई सहयोग गर्ने गरेको थियो । समाजका अध्यक्ष भविन्द्र शेरपुञ्जाले समाजमा आवद्ध भएर समाजिक तथा विभिन्न रचानात्मक गतिविधिमा सहभागी हुन सम्पूर्ण म्याग्देलीलाई अनुरोध गरेका छन् ।