जन्मदिनको खर्च गोठमा बस्ने भण्डारी दाजुबहिनीलाई

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा म्याग्दीका एक ब्यक्तिले जन्मदिनको खर्च जिल्लाको धवलागिरी गाउँपालिका–७ धारापानी चाउनेको गोठमा विगत पाँचबर्षदेखि बस्दै आएका दाजुबहिनीलाई सहयोग गरेका छन् ।

मंगला गाउँपालिका ३ बरंजा स्थायी घरभई हाल नेदरल्याण्डमा रहेका मिम पूर्जाले लत्ताकपडा र खाद्यान्न साम्रागीका लागी १० हजार सहयोग गरेका छन् । चरम गरिबीकै कारण छिमेकी मुनाबाट विस्थापित भएका ७० बर्षीया घमिष्टा र ८२ बर्षका चन्द्रबहादुर भण्डारीको समस्यका बारेमा समाचार सुन्दा भाबुक भएकाले जन्मदिन उहाँहरुसँगै मनाउने गरी सहयोग गरेको बताए ।

मोना अन्र्तराष्ट्रियका महासचिव समेत रहेका पूर्जाले आफ्नो जन्मदिनको अवसरमा सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरेका छन् । ‘मैले हरेक जन्मदिनमा सानोसानो सहयोग गर्छु,‘यसपटक पाँचबर्षसम्म गोठमा बसेका परिवारलाई सहयोग गरे’ पूर्जाले भने । गतबर्ष बैदेशिक रोजगारमा एकै परिवारबाट ३ जनाले ज्यान गुमाएपछि विचल्लीमा परेको मालिका गाउँपालिका २ रुम बेलीका परिवारलाई सहयोग गरेका थिए । जीर्ण अवस्थामा रहेको गोठमा बस्ने घमिष्टाले गाउँमा मागेर छाक टार्ने गरेका भण्डारी दाजुबहिनीको नाममा बैंकमा खाता सञ्चालन गरी सहयोग जम्मा गरिने छ ।

मुनाबाट बि.श २०७२ बैशाखमा गएको भूकम्पबाट विस्थापित भएर ताकमको हिलापोखरी हुदै धारापानी आएका उनीहरूलाई स्थानीय धनवती गिरीले पशुचौपाया राख्ने गोठमा आश्रय दिएपनि विहानबेलुकी हातमुख जोड्न मुस्किल भएको खवरलाई प्राथमिकता साथ प्रकाशित गरेपछि उनलाई नयाँ घर खोज्ने कार्य समेत सुरु भएको छ भने आर्थिक सहयोग अभियानले समेत तिब्रता पाएको छ ।