चन्द्रकुमारी भन्छिन्,‘छोरालाई मृगौला दिएर दोस्रो जन्म दिन्छु’ (भिडियो)

भनिन्छ नी ! आमा जगत जननी हुन् । जसरी धर्तीले मानव जातिका लागि बोझ थामेकी हुन्छिन् । सन्तानका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् । नौ महिनासम्म अनेक दुखः कष्टलाई थिचोल्दै आफ्नो कोखमा राखेर सन्तानलाई जन्म दिन्छिन् । धर्यवान् र सहनशील भएर गर्भावस्थानको अप्ठ्यारोमा आफ्नो सन्तानलाई यो धर्तीमा पाईला टेकाउँछिन् । दुई अक्षरले निर्मित प्रिय शब्द आमाको सन्तानप्रतिको जिम्मेबारी अनगिन्ती छ ।

संसारभरी भएका आमाको एउटा उदारहण पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ रुमकी चन्द्रकुमारी पटेल हुन् । आफ्नो कोखबाट १ छोरी र दुई छोरा लाईलाई जन्मदिएकी पटेलले एउटा छोराको दुवै मृगौलाले काम नगरेपछि नयाँ जन्मदिने कामपनि उनकै काँधमा आइपरेको छ । छोरा मानबहादुर पटेलको दुवै मृगौलाले काम गर्न छोडेपछि आफ्नो एउटा मृगौला दिएर छोरालाई नयाँ जीवन दिने तयारीमा पटेल छिन् ।

‘९ महिना कोखमा राखेर जन्माए, ३८ बर्षको उमेरसम्म पुगेको छोरालाई एउटा होईन आवश्यक परे दुईवटै मृगौला पनि दिन्छु’ पटेलले भनिन् ।उनले शरीरका अंगभन्दा पनि आफ्ना सन्तान महत्वपूर्ण भएको बताउँदै छोराछोरीको खुसीका लागी आफ्नो सानो प्रयास भएको बताईन् ।‘बाचुँजेल छोराछोरीको दुख देख्न सकिदैन्,‘मरेपछि पनि छोराछोरीको खुसीका लागि आत्म घरआसपासमै हुन्छ भन्छन्’ पटेलले भनिन् ।

गरिबीकै कारण छोराको उपचारमा आर्थिक अभाव भएकाले सहयोग जुटाउँदै बेनीमा आएकी पटेलले आफ्नो मृगौलालाई दान नभई छोरा, बुहारी, नातीनातिनाको सुखका लागी दिएको बताउँदै प्रत्यारोपणका लागि आवश्यक पर्ने सहयोग गर्न अपिल गरिन् । ‘छोराछोरीलाई पीडा पर्दा आमाबुबाको मुटु नै छियाछिया हुन्छ,‘मैले डाक्टरलाई दुईवटै मृगौला निकालेर भएपनि छोरालाई बचाउनु भनेको छु’ पटेलले भनिन् । शुक्रबार सदरमुकाम बेनीमा छोरासँगै सहयोग जुटाउँदै आएकी पटेलले मानबहादुरलाई मृगौला प्रत्यारोपण गरेको दिन दोस्रो जन्म हुने र आफुँ बाँचुन्जेल काखमै राखेर हुर्काउने भन्दै भावुक भईन् ।

छोराको उपचारले बुहारी, नातीनातिनाको खुसीलाई जोगाउने भन्दै मृगौला दिने बारेमा खासै समस्या नभएपछि दिएपछि नियमित औषधी अभावको चिन्ताले सताएको बताईन् । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला म्याच भएपछि घर फर्किएकी पटेललाई प्रत्यारोपणका लागि आवश्यक पर्ने करिव ४ लाख जुटाउने चिन्ताले रातमा निन्द्रा समेत हराउने गरेको बताईन् । यता पीडित पटेलले समेत आमाले मृगौला दिएपछि कम खर्चमै प्रत्यारोपण हुने भएकाले पनि थप सहयोग गर्न अनुरोध गरेका छन् ।

सहयोगको याचना

छोरालाई मृगौला म्याच भएपनि आवश्यक पर्ने खर्च र नियमित उपचारका लागि चन्द्रकुमारीले गाउँदेखि विदेशसम्म सहयोगको अपिल गरेकी छन् । गरिबीकै कारण मजदुरी र सामान्य खेतीपातिमा सक्रिय पटेल परिवारले घरको आर्थिक रित्तिएपछि मात्रै सहयोगको याचना गरेकी छन् । ‘मेरो मृगौलाभन्दा तपाईहरुको सानो सहयोग ठूलो लाग्छ,‘सहयोग गरेर छोरालाई बचाइदिनुहोला’ उनले भनिन् ।

रुम, फुलबारी, दरबाङ क्षेत्रमा सहयोग जुटाउँदै हिड्ने योजनामा रहेकी चन्द्रकुमारीलाई म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले समेत सहयोगको प्रतिबद्धता जनाएको छ । आर्थिक अभावकै कारण उपचारबाट बन्चित हुनुपर्ने अवस्था नभएको भन्दै कोषका पदाधिकारी र सदस्यले चन्द्रकुमारीकै अगाडी ब्यक्तिगत रुपमा ३५ हजार सहयोग गदैं कोषबाट समेत सहयोग अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएपछि उत्साहित भएर फर्किइन् । उनलाई आर्थिक सहयोगको अभियानमा कोषका सदस्य एवम् मृगौला उपचार गरेका डक रोकालाई जिम्मा दिइएको छ ।